राष्ट्रियसभामा शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधिसभाका पूर्व सदस्य ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सभाअध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उनीहरूको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना प्रकट गरेको छ ।

वि.सं २०१३ चैत १० गते मुस्ताङमा जन्मिएका संविधानसभा सदस्य जुहारचनको ६९ वर्षको उमेरमा यही जेठ २९ गते निधन भएको थियो ।

स्व जुहारचन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट संविधानसभा सदस्यमा समानुपातिकतर्फ निर्वाचित भएका थिए ।

यस्तै, वि.सं १९९३ मा अर्घाखाँचीमा जन्मनुभएका प्रतिनिधिसभाका पूर्व सदस्य एवं पूर्वउद्योगमन्त्री शास्त्रीको यही असार २ गते निधन भएको थियो ।

नेपाली कांग्रेसका तर्फबाट २०४८ र २०५१ सालको आमनिर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट उनी निर्वाचित भएका थिए ।

सभाको आजकै बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसअघि, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेस गरेका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक यही असार ९ गते सोमबार अपराह्न १ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =