इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलकी नेता भगवती न्यौपानेले इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा गम्भीर ध्यान दिन सरकारलाई आग्रह गरेकी छन् ।
बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै नेतृ न्यौपानेले इजरायल र इरानबीच जारी द्वन्द्वका कारण ती देशहरूमा रहेका नेपाली कामदारहरूको सुरक्षामा चिन्ता व्यक्त गरिन् ।
उनले उपलब्ध तथ्याङ्क अनुसार इजरायलमा करिब ७ हजार र इरानमा एक दर्जन नेपालीहरू रहेको जानकारी दिँदै सरकारले उनीहरूको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याइन् ।
‘इजरायल र इरानको द्वन्द्वमा हाम्रा नेपाली मजदुरहरू जोखिममा छन्,’ उनले भनिन्, ‘सरकारले केही चासो देखाएको छ भन्ने समाचार मैले सुनेकी छु। श्रम मन्त्रालयको पहलमा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूसहित बैठक बसेको छ, जुन सकारात्मक हो ।’
नेतृ न्यौपानेले इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूको विवरण सङ्कलन गरिरहेको र फर्कन चाहने नेपालीहरूको स्वदेश फर्काइको व्यवस्था मिलाउने प्रक्रिया अगाडि बढिरहेको जानकारी दिइन् । उनले त्यहाँ बसिरहन चाहने नेपालीहरूको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारलाई जोडदार आग्रह गरिन् ।
‘आउन चाहने नेपालीहरूलाई ल्याउने व्यवस्था गरियोस् र त्यहाँ बस्नेहरूको सुरक्षाको ग्यारेन्टी होस्,’ उनले भनिन् ।
त्यसैगरी उनले सरकारलाई नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिनसमेत आग्रह गरिन् । उनले मानव स्वास्थ्य उपेक्षा गरेर मानव पूँजीको विकास सम्भव नभएको उल्लेख गर्दै स्वास्थ्यलाई प्रमुख राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन् ।








