आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले सरकारले ल्याएको बजेटलाई ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले बजेटले आम नेपाली जनताको अपेक्षा सम्बोधन गर्न नसकेको बताएका हुन् । उनले बजेट आम जनताका लागि होइन, मुठीभरका थैली शाह वर्गका लागि आएको दाबी गरे ।
उनका अनुसार हरेक वर्ष करिब पाँच लाख युवाहरू श्रम बजारमा प्रवेश गर्छन्, तर बजेटमा तिनलाई रोजगारी दिने योजना समावेश गरिएको छैन । कृषि र उद्योग जस्ता रोजगारी सिर्जना गर्न सक्ने क्षेत्रमा राज्यले प्राथमिकता नदिएको आरोप उनले लगाए ।
‘कृषिमा अझै सामन्ती भूस्वामित्व कायम छ, किसान होइन, भूमाफिया पोस्ने गरी बजेट बनाइएको छ,’ केसीले भने, ‘नेपाल दूध र मासुमा आत्मनिर्भर बन्दै गर्दा विदेशी वस्तु आयातलाई सस्तो बनाउने नीति लिइँदैछ, जसले स्वदेशी उत्पादनलाई ध्वस्त पार्छ ।’
उनले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना र उदयपुर सिमेन्ट जस्ता राज्य स्वामित्वका उद्योगहरू बेच्ने तयारी बजेटमै गरिएको उल्लेख गर्दै, नयाँ उद्योग खोल्ने होइन, बेच्ने रणनीति अपनाइएको आरोप पनि लगाए ।
‘राज्यका उद्योग निजीकरण गर्दै गर्दा रोजगारी सिर्जना सम्भव छैन,’ उनले भने, ‘त्यसैले अहिलेको एक मात्र उपाय बनेको छ— युवालाई वैदेशिक रोजगारीमा पठाउने र उनीहरूले पठाएको रेमिट्यान्सबाट सरकार चलाउने ।’
अध्यक्ष केसीले बजेट संसदमा छलफल हुँदैमा संशोधन हुने सम्भावना कम भए पनि जनताबीच यसको यथार्थ पुगोस् भन्ने उद्देश्यले आपूmले सहभागिता जनाएको बताए ।








