गरिखानेका कथा

सफल हुन सपना त्यागेका प्रकाश: आफ्नै माटोमा रमे, आफ्नै पौरखमा बाँचे ! (भिडिओ)

काठमाडौं । नेपालमा पछिल्लो समय रोजगारीका लागि विदेशीनेको संख्या बढिरहेको छ । रोजगारीका लागि खाडी लगायतका देशमा जाने युवाहरूको संख्या नगन्य छ । उनीहरू नेपालमा सम्भावना नदेखेर वा रहरले विदेश गइरहेका छन् ।

तर, तनहुँको भानु नगरपालिकाका ३८ वर्षीय प्रकाश अधिकारी भने विदेश जाने सपना त्यागेर आफ्नै माटोमा रमाइरहेका छन् । टिनेज अवस्थामा पढाइसँगै विभिन्न काम गरेका अधिकारी अहिले उद्यमी बनेका छन् ।

पढाइमा स्नातक तह उत्तीर्ण अधिकारी सरकारी जागिर र विदेश जाने सपना त्यागेर आफ्नै माटोमा पसिना बगाइरहेका छन् । उनले अकबरे खुर्सानी, मौरी पालन, बाख्रा पालन लगायत सिजिन अनुसारका अनाज उत्पादन गर्दै आएका छन् । उनले आफैले उत्पादन गरेको तरकारी र देशमा मात्रै होइन, विदेशमा पनि जान थालेको छ ।

जोसिला प्रकाश–विद्यार्थी जीवनमा सवथोक गरे

पढाइमा अब्बल प्रकाश सानैदेखि नयाँ नयाँ कुरामा रुचि राख्थे । उनले पढाइसँगै आम्दानीको बाटो पनि स्कुल जीवनमै रोजिसकेका थिए । प्रकाशले ९ कक्षा पढ्दै गर्दा इलेक्ट्रिसियनको काम गर्न थाले ।

जसबाट उनले कमाइसँगै जिवन उपयोगी सिप सिके । कामसँगै पढाइलाई निरन्तरता दिँदै आएका उनले ११–१२ पढ्दा भने फोटोग्राफी र भिडियो ग्राफरको काम सिके ।

फोटो भिडिओ ग्राफरको कामलाई प्रकाशले १० वर्षसम्म निरन्तरता दिए । तर, पनि उनको चित्त बुझेन । फोटो र भिडिओको काम मात्रै प्रकाश रोकिएनन् उनले किराना पसल र फ्रेस हाउस पनि सञ्चालन गर्न थाले । किराना पसल र फ्रेस हाउसबाट पनि उनले राम्रो आम्दानी गरेका थिए । दिनमा उनको फ्रेस हाउसबाट ५० केजी मासु बिक्री हुन्थ्यो । यति मात्र होइन उनले कुखुराको लागि दानापानी र चल्लाहरू उत्पादन गरेर बेच्ने गर्थे । उनले यस व्यवसायबाट राम्रै आम्दानी गरिसकेका थिए ।

तर, प्रकाशलाई एकाएक विदेश जाने भूत चढ्यो । युवाहरू सबै विदेश गइरहेको देखेर उनको मनमा पनि विदेश गएर पैसा कमाउने रहर जाग्यो । आफन्तहरू पनि विदेशमै भएकाले आफूलाई पनि विदेश जाने रहर जागेको उनले सुनाए ।

उनले लाखौँ रुपैयाँ लगानी गरेर टन्न पैसा कमाउन जापान जाने सोच बोकेर तनहुँबाट काठमाडौं आए । उनले काठमाडौंमा जापानको भाषा पनि सिके । भाषा मात्रै सिकेनन् उनले त जापान जानको लागि सम्पूर्ण कागजात पनि तयार पारि सकेका थिए । तर, जापानमा सोचे जस्तो सहज र कमाई राम्रो नहुने थाहा भए पछि उनले बिचमै जापान जाने सपना त्यागे । त्यसपछि नै प्रकाश विदेश जाने सपना त्यागेर आफ्नै गाउँ फर्की आए ।

‘आफन्तको जोड बलमा विदेश जाने सोच बनाएँ, भाषा पनि उर्तिण गरेको थिएँ,’ उनले भने, ‘तर, सोचे जस्तो राम्रो कमाइ हुन्न भन्ने थाहा पाएपछि भने विदेश जाने सपना त्यागेर आफ्नै गाउँ फर्की आएको हुँ ।’

गाउँ फर्किएसँगै फर्किए प्रकाशका दिन …

खाने मुखलाई जुँगाले छेक्दैन भन्ने नेपाली उखान जस्तै प्रकाशको योजना र भिजनलाई कसैले पनि रोक्न र छेक्न सकेनन् । उनले गाउँ फर्किए लगत्तै फर्निचर उद्योग दर्ता गरेर फर्निचरको कामलाई अगाडी बढाएका उनले फर्निचरबाट पनि मनग्य आम्दानी गरेको बताउँछन् ।

उनले विभिन्न चुनौतीका बावजुत पनि फर्निचरबाट राम्रो पैसा कमाएको सुनाए । ‘फर्निचर व्यवसाय दर्ता गर्न पनि धेरै चुनौती भएको थियो । चुनौतीहरूलाई पार गर्दै राम्रो आम्दानी गरेका थिएँ,’उनले भने ।

उनले फर्निचरको कामसँगै मौरी पालनको कामलाई पनि अगाडी बढाएका छन् । उनले मौरीका घार पनि बनाउँछन् र मौरीका गोलालाई बेच्दै आइरहेका छन् । उनको गोदाममा अहिले पनि २ सय भन्दा धेरै मौरीको घारहरू रहेका छन् ।

मौली पालनको तालिम नै लिएर व्यवसाय सुरु गरेका उनले मौरीबाट पनि लाखौँ आम्दानी गरिरहेका छन् । ‘मौली पालनको तालिम दिएरै यो काम थालिएको हो,’उनले भने, ‘मौरी पालनसँगै मौरीको घारहरू पनि बनाएर बेच्छौँ । आम्दानी राम्रो भइरहेको छ ।’

मौरी पालनसँगै प्रकाशले बाख्रा पालन पनि गर्दै आइरहेका छन् । उनले आफूले उत्पादन गर्ने तरकारी पनि प्राङगारिक मल नै प्रयोग गर्ने गर्दछन् । उनले बाख्राबाट पनि राम्रो आम्दानी गर्दै आएका छन् ।

यति मात्रै होइन, उनको बारीमा अहिले थरी थरिका तरकारीहरू फलेका छन् । उनको बारीमा ७ सय बोट त करेला नै छन् । करेलाले बजार नपाएको उनी बताउँछन् । ‘मसँगै सबै उत्पादन छ, तर, बजार पाउन सकेको छैन,’ उनले गुनासो गर्दै भने ।

१ सय रोपनीमा अकबरे खुर्सानी : ब्राण्डिङ गर्ने धोको

सृजनशील र मेहनती प्रकाशले १ सय रोपनीमा अकबरे खुर्सानी रोपेका छन् । उनले आफ्नो उत्पादनलाई विदेशमा निर्यात गरेर ब्राण्डिङ गर्न चाहेका छन् ।

जसका लागि उनी रातदिन नभनेर खटिएका छन् । पुर्खाले आर्जन गरेको जग्गालाई बाँझो नखारेर अकबरे खुर्सानी रोपेको उनले बताए । पानी र मलको अभावमा पनि उनले अकबरे खुसार्नीलाई उत्पादन गरेर छाड्ने संकल्प गरेका छन् ।

उनले विश्व बजारमा आफ्नो उत्पादन पुर्‍याउने लक्ष्य रहेको बताए । स्थानीय सरकारबाट प्रोत्साहन नपाएको उनले आफ्नै बलबुताले आफ्नो उत्पादनलाई ब्राण्डिङ गर्ने बताए ।

गाउँमा भएको पुर्खौँ सम्पत्ति बाँझो १ सय रोपनीमा उनले अकबरे खुर्सानी लगाएका छन् । खुर्सानी बारीमा पानी हाल्नको लागि कठिन भएको कारण उनले ट्याक्टरको पछाडिको भागमा पानी सङ्कलन गरेका छन् ।

स्थानीय सरकारबाट कृषिको लागि त्यति साथ सर्पोट सहयोग नपाएको कृषक प्रकाश अधिकारी बताउँछन् । ‘अहिले कृषि काम उत्पादनसँगै जिउने आधार पनि बनेको छ । यसैबाट मलाई आफ्नो परिवार र बालबच्चाहरूलाई पाल्न कुनै समस्या छैन,’ उनले भने, ‘अब आफ्नो उत्पादनलाई विश्व बजारमा पुर्‍याउने लक्ष्य छ ।’

गाउँमै उदाहरणीय युवा उद्यमीको परिचय बनाएका उनले आफ्नो व्यवसायबाटै ७ जना युवाहरूलाई रोजगारी दिएका छन् । उनले सरकारले अनुदान भन्दा पनि प्रोत्साहन दिनुपर्ने बताए । उनले गरिखाने युवाहरूलाई स्थानीय सरकारले साथ र सहयोग नदिएको गुनासो गरे ।

‘सरकारले पाउने किसानलाई अनुदान दिएको छैन, मलाई त झनै विभेद गरेको छ,’उनले भने, ‘मलाई अनुदान चाहिएको होइन, प्रोत्साहन र हौसला चाहिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =