मनसुन भित्रिनासाथ पूर्वी नेपालमा बाढीको आतंक, २४ घण्टामा कहाँ के भयो ?

काठमाडौँ । नेपालमा मनसुनले पाइला टेक्नासाथ पूर्वी क्षेत्रमा वर्षा र त्यसपछिको बाढीपहिरोको वितण्डा सुरु भएको छ । निर्धारित समयभन्दा करिब १५ दिनअघि नै, यही बिहीबार राति पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन कोशी प्रदेशमा फैलिएलगत्तै यसको असर देखिन थालेको हो ।
मनसुन प्रवेशको २४ घण्टा नबित्दै पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा बाढीले जनजीवन अस्तव्यस्त पारेको छ भने भौतिक क्षतिसमेत पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, आज बिहान परेको अविरल र मुसलधारे वर्षाका कारण धनकुटा जिल्लास्थित धरान-धनकुटा सडकखण्ड अन्तर्गत पर्ने साँगुरीगढी गाउँपालिका-६, फेदीमा लेउती खोलामा आएको भीषण बाढीले करिब १०० मिटर पक्की सडक बगाएको छ ।
प्राधिकरणका प्रवक्ताले दिएको जानकारीअनुसार, यो घटनाले कोशी राजमार्गको महत्वपूर्ण धरान-धनकुटा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यसले गर्दा धनकुटा हुँदै पूर्वी पहाडी जिल्लाहरू भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जाने तथा त्यहाँबाट तराई झर्ने हजारौं यात्रु र सयौं सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन् ।
झापामा २२ घर डुबानमा, उद्धार कार्य जारी
यसैगरी, झापा जिल्लामा पनि माईखोलामा आएको बाढीले २२ वटा घर डुबानमा परेका छन् । प्राधिकरणका प्रवक्ताका अनुसार, हाल पानीको सतह घट्दो क्रममा रहे पनि प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा सारिएको छ र मानवीय जोखिम नरहेको बताइएको छ । नेपाल प्रहरीका प्रवक्ताले पनि पूर्वी नेपालको झापा तथा धरान-धनकुटा सडक क्षेत्रमा बाढीपहिरोका घटना भएको पुष्टि गर्दै ती क्षेत्रहरूमा उद्धार कार्य तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोलीहरू परिचालन गरी विपद् व्यवस्थापनको कार्य तीव्र रूपमा भइरहेको जानकारी दिएका छन् ।
मौसम विभागको चेतावनी, थप वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानहरूमा धेरै भारीदेखि अति भारी वर्षा भएको विभागले जनाएको छ । पानी पार्ने प्रणाली हाल उत्तरतिर सर्दै गएको र थप वर्षा हुन सक्ने सम्भावना प्रबल रहेकाले विभागले विशेष बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
नदी तटीय क्षेत्रमा उच्च सतर्कता
बाढी पूर्वानुमान महाशाखाले पनि पछिल्लो १२ घण्टामा कोशी प्रदेशका झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको र ती क्षेत्रहरू भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोला लगायतका नदीहरूमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगेकोले नदी तटीय क्षेत्रहरूमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका धेरै स्थानहरूमा थप भारी वर्षा हुन सक्ने आँकलन गर्दै मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलाहरूमा पनि सतर्कता तह आसपासको बाढी आउन सक्ने भएकाले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ ।
वर्षा गराउने बादल पूर्वी नेपालबाट उत्तरतर्फ सरिरहेको मौसम विज्ञान विभागले जनाएको छ । आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका प्रमुख सहायक नदीहरूका साथै कमला, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो क्रममा रहने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिए पनि नदी तटीय क्षेत्रमा गरिने क्रियाकलापहरूमा विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।








