सगरमाथा विश्वको गौरव हो : बद्रीप्रसाद पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरव भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा वसन्तपुरमा आयोजित आज बिहान आयोजित एक कार्यक्रममा उनले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा चेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटकलाई नेपालप्रति आकर्षण गर्न सरोकार भएका सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।
पर्यटनमन्त्री पाण्डेले भने, ‘सगरमाथा हाम्रो पहिचान र गौरव हो, यसप्रति विश्वले पनि गौरव गरेको छ । पृथ्वीको सबैभन्दा उच्च शिखर सगरमाथामार्फत देशको पहिचान स्थापित गर्न सफलतापूर्वक सगरमाथा संवाद आयोजना गरेर विश्व समुदायलाई सगरमाथाको देशले जलवायु परिवर्तनका कारण झेलेका समस्याबारे अवगत गरायौँ । सगरमाथाको हिउँ पग्लिँदा नेपाल र हिमवत् खण्डलाई मात्र होइन समग्र पृथ्वीलाई नै असर गर्छ । यो नेपालको मात्र समस्या होइन भन्ने संवाद उपयोगी रह्यो ।’
सगरमाथा दिवसका अवसरमा पर्यटकको अधिक चहलपहल हुने ठमेलमा प्रभातफेरी आयोजना गरिएको थियो । त्यसमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे,पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित सङ्गठनका प्रतिनिधि, सरकारकी कर्मचारी, सुरक्षा निकायलगायत सर्वसाधारण सहभागी थिए ।
त्यसअघि नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्णकदको सालिकमा माल्यार्पण गरिएको थियो ।
सन् १९५३ मे २९ मा नेपाली शेर्पा र हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको स्मरणमा हरेक वर्ष यो दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइन्छ ।








