बुटवल–नारायणघाट सडक खण्ड स्तरोन्नतिमा ढिलाइ हुँदा सौराहाको पर्यटन व्यवसाय प्रभावित

चितवन । पश्चिम नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडक खण्ड स्तरोन्नतिको काम ढिलो हुँदा चितवनका होटल व्यवसाय धरासायी बनेको छ ।

तोकिएको समय सीमाभित्र स्तरोन्नतिको काम पूरा नहुँदा बुटवल–नारायणघाट सडक खण्ड आसपासका होटलसहित देशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा परिचित सौराहाका होटल व्यवसायी समेत प्रभावित भएका हुन् ।

प्रभावित होटल व्यवसायीहरूले सो सडक खण्ड प्रयोग गरी यात्रा गर्ने आमसर्वसाधारणसहित नेपालको पर्यटन उद्योगमा प्रमुख हिस्सा ओगट्ने भारतीय पर्यटकसमेत चितवनका पर्यटकीय स्थलहरूको भ्रमण गर्नबाट वञ्चित हुन पुगेपछि त्यसको प्रत्यक्ष असर सौराहाका होटल व्यवसायीमा परेकाले जारी सडक स्तरोन्नतिको काम यथासक्य छिटो सम्पन्न गर्न नेपाल सरकारसहित सम्बद्ध निर्माण व्यवसायीसँग अनुरोध गरेका छन् ।

क्षेत्रीय होटल सङ्घ चितवन (हान)ले पटकपटक म्याद थप्दा पनि सो बाटोको स्तरोन्नतिका काम पूरा गर्न सम्बद्ध निर्माण व्यवसायीले तदारुकता नदेखाएको भनी गुनासो व्यक्त गर्दै प्राथमिकताका साथ निर्माण कार्य पूरा गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गरेको स्पष्ट गरेको छ ।

यसै सन्दर्भमा नेपाल सरकारको तर्फबाट सो सडक खण्ड प्रयोग गर्ने हजारौँ जनताले व्यहोर्नुपरेको पीडा, दुःख, कष्टलाई आत्मसात् गरी स्तरोन्नतिको काम जतिसक्दो छिटो पूरा गर्न पटकपटक ताकेता गर्दै आएको छ तर अपेक्षा गरिएअनुसार काम नभएको अवस्था छ ।

उक्त सडक खण्ड स्तरोन्नतिका कारण घन्टौँ समय सडकमा लाइनमा बस्नुपर्ने भएपछि अधिकांश सवारीसाधन असजिलै भए पनि सिद्धार्थ राजमार्ग प्रयोग गरी पोखरा जानेक्रम बढेसँगै पछिल्ला दिनमा चितवनको होटल व्यवसायसहित समग्र आर्थिक गतिविधि प्रभावित भएको यथार्थलाई दृष्टिगत गरी बुटवल–नारायणघाट सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने सुझाव पर्यटन विज्ञ डा विश्व सुवेदीको छ ।

क्षेत्रीय होटल सङ्घ चितवनका अनुसार निश्चित ‘प्याकेज’सहित सुनौली, रुपेडियालगायतका पश्चिम नाका हुँदै नेपाल भ्रमणमा आउने अधिकांश भारतीय पर्यटक सबैभन्दा पहिला भगवान् गौतम बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्दछन् ।

भरतपुर महानगरपालिकाका सल्लाहकारको भूमिकामा रहेका डा सुवेदी भ्रमणका क्रममा खर्च गर्न सक्ने आर्थिक हैसियत भएका भारतीय पर्यटकहरू यसरी बुटवल–पाल्पा–स्याङ्जा हुँदै पोखरा जानथालेपछि अप्ठ्यारोमा परेका चितवनसहित आसपासका होटल व्यवसायीको न्यायोचित गुनासोसहितको माग सम्बोधन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्छन् ।

पोखराबाट पर्यटन व्यवसाय सुरु गरी हाल ‘हान’का अध्यक्ष रहेका ओम पाण्डेले पर्यटकीय नगरी पोखराको घुमघाम पूरा गरी मुक्तिनाथको दर्शन गरेपछि पुनः पोखरा आई पृथ्वी राजमार्ग हुँदै काठमाडौँ जान थालेपछि चितवनको पर्यटन व्यवसाय हाल सङ्कटमा परेको स्पष्ट गर्दै बुटवल–नारायणघाट सडक खण्ड स्तरोन्नतिलाई यथासक्य छिटो पूर्णता दिन अनुरोध गरे ।

उनका अनुसार ‘टुर प्याकेज’अन्तर्गत काठमाडौँ आउनेक्रममा भारतीय पर्यटकहरू केवलकार चढी गोरखास्थित प्रसिद्ध मनकामना माईको पनि दर्शन गर्दछन् ।

काठमाडौँबाट भरतपुर आउने–जाने जहाज भाडा तुलनात्मक रुपमा महङ्गो भएको, गत साल आएको अत्यधिक वर्षका कारण पृथ्वी राजमार्गसहित चितवन जोड्ने अधिकांश सडक मार्ग बिग्रे–भत्केको, कर्जा भुक्तानी, नवीकरण तथा थप कर्जा लिनका लागि तोकिएबमोजिमको व्यावसायिक कारोबार गरेको हुनुपर्ने बैंकिङ नीतिका कारण अपेक्षा गरेभन्दा धेरै सस्तोमा केही होटलले पर्यटक राख्ने गरेको, बन्द–हड्ताल र आन्दोलनजस्ता व्यवसाय विरोधी गतिविधिका कारण निश्चित दिनको ‘प्याकेज’अन्तर्गत नेपाल भ्रमणमा आएका पर्यटकको रोजाइमा परेपनि अक्सर चितवनस्थित पर्यटकीय क्षेत्र घुम्नबाट उनीहरू वञ्चित हुनुपर्दाको असर सौराहाको व्यवसायमा परेको युवा होटल तथा पर्यटन व्यवसायी रमेश सिलवाल बत्ताउँछन् ।

पर्यटन व्यवसायी सिलवालका अनुसार पश्चिम नेपालको विभिन्न सिमानाबाट नेपाल प्रवेश गर्ने अधिकांश भारतीय पर्यटक नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको घुमघाम र दर्शन गरी काठमाडौँको यात्रा तय गर्दछन् ।

काठमाडौँको पशुपतिनाथ, गुह्यश्वरी, बौद्ध, बूढानीलकण्ठ, साँगास्थित महादेवको मन्दिर दर्शन गरी ‘साइट सिन’मा रमाउँदै उनीहरू वसन्तपुर क्षेत्रसहित ‘चाइना टाउन’मा किनमेल गर्न रुचाउँछन् । यसरी काठमाडौँको घुमघामपछि अपवादबाहेक अधिकांश भारतीय पर्यटक स्तरोन्नतिका क्रममा रहेको नारायणघाट–बुटवल सडक खण्ड भएर फर्कनुको सट्टा यसअघि जस्तै पोखरा–बुटवलकै सडकबाटो प्रयोग गरी जान थालेपछि यस क्षेत्रमा ठूलो लगानी गरेका विशेष गरी सौराहाका होटल व्यवसायी बैंकको ब्याज तिर्न नसकेर व्यवसायबाट पलायन हुनुपर्ने अवस्थामा पुगेको पर्यटन युवा व्यवसायी सिलवालको भनाइ छ ।

सौराहाको होटल व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका रेष्टुराँ एण्ड बार एसोसिएसन सौराहाका पूर्व अध्यक्ष दीपेन्द्र खतिवडाले बुटवल–नारायणघाट सडक खण्डको बाटो स्तरोन्नतिले पूर्णता नपाउने, भारतीय पर्यटक बोक्ने सवारी साधनबाट अनधिकृत रुपमा रकम असुल्ने प्रवृत्ति न्यूनीकरण तथा नियन्त्रण नहुने, विभिन्न बहानामा गरिने विरोध, आन्दोलन, जुलुस, धर्नाजस्ता व्यवसाय विरोधी गतिविधिले प्रश्रय पाइराख्ने, होटलमा ‘एसी’ र पङ्खा चल्ने क्षमतासहितको विद्युत् आपूर्ति व्यवस्था सुनिश्चित नहुने तथा जङ्गल सफारीका क्रममा चितवनको पहिचानको रुपमा स्थापित हात्तीको पालनपोषण तथा व्यवस्थापनमा उचित ध्यान नदिने हो भने सौराहासहित चितवनको पर्यटन व्यवसाय धरासायी हुने टिप्पणी गरे ।

हाल बागमारा, चित्रसेन, कुचकुचे, जनकौली र कुमरोज सामुदायिक बनमा निजी क्षेत्रका ४४ वटा हात्तीसहित जीप सफारीको व्यवस्था रहेको जानकारी दिँदै युनाइटेड हात्ती सहकारी संस्था सौराहाका अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी खतिवडाले भने, ‘मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा परिचित सौराहा घुम्न आउने पर्यटकको रुचि हात्तीमा चढी जङ्गल सफारी गर्नु नै हो, यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान रहेको ‘हात्ती’को खरिद–बिक्री, पालनपोषण र व्यवस्थापनमा अझैसम्म स्पष्ट नीति नहुनु दुःखको विषय हो । एकातिर लगानी गरेअनुसार पछिल्ला दिनमा होटल व्यवसाय नचल्दा बैंकको ब्याजदर तिर्ने अवस्था छैन भने अर्कोतर्फ पर्यटन व्यवसाय विरोधी समूहको इसारामा ‘एनिमल राइट’ का नाममा अनेकथरी अफवाह फैलाइँदै छ । यस किसिमको असहज परिस्थिति र चुनौतीका बाबजुद हात्ती पालनपोषण गरी पर्यटन क्षेत्रलाई योगदान पुर्‍याइरहेका व्यवसायीको पक्षमा सरकारको ध्यान जान आवश्यक छ ।’

सौराहास्थित पर्यटन व्यवसायीका अनुसार सडकमा खटिएका प्रहरीले सवारीसाधन इजाजत पत्र, लाइट, वाइफर र ब्रेकको अवस्था तथा यात्रु सङ्ख्यालगायत अनेकौँ झिनामसिना विषय उठाइ पैसा असुल्ने र दुःख दिने प्रवृत्ति अन्त्यका लागि भारतीय चालकहरूले सरकारसँग याचना गर्ने गरेका छन् ।

पछिल्ला दिनमा भारतीय सवारी चालकसँग पैसा मागी दुःख दिने क्रममा कम हुँदै गएको र पूर्ण रुपमा रोकिनुपर्ने माग उनीहरूको छ ।

युवा पर्यटन व्यवसायी सिलवालका अनुसार सौराहामा सबैभन्दा बढी पर्यटक दसैँ–तिहारको बीचमा आउने गरेको, विशेष गरी भारतमा अत्यधिक गर्मी हुने समय जेठदेखि असार महिनामा भारतीय पर्यटकको उल्लेख्य उपस्थिति हुने गरेको, सामान्यतया चिनियाँ नयाँ वर्षको समयमा भरिभराउ हुने सौराहामा कोरोना सङ्क्रमणपछि नगन्य सङ्ख्यामा चिनियाँ पर्यटक देखिने गरेको, खर्च गर्न सक्ने क्षमता भएका पश्चिमा देशका पर्यटक पनि फाट्टफुट्ट आउने गरेको, विभिन्न कार्यक्रमका नाममा सौराहा घुम्न आउने, एजजिओ/आइएनजिओकर्मी देखिन छोडेको, बारम्बार भइरहने सरकारी कार्यक्रममा पनि कमी आएको विषम अवस्थामा राजधानी काठमाडौँसहित देशका विभिन्न सहरका निजी विद्यालयका कार्य तालिकाअनुसार शैक्षिक भ्रमणमा आउने विद्यार्थी, उपभोक्ता तथा सहकारी सम्बद्ध सङ्घसंस्थाका सदस्य र पारिवारिक भ्रमणका क्रममा आउने नेपालीका भरमा जेनतेन सौराहाको पर्यटन व्यवसाय चलेको छ ।

देशको करिबबिच भागमा अवस्थित पर्यटकीय केन्द्र सौराहामा यतिखेर साना ठूला गरी १४५ वटा होटलमा तीन हजार पाँच सय कोठा रहेको, पूर्वाधार र सुविधाका हिसाबले आकर्षक तथा स्थापित २० वटा होटलले ५० करोडका दरले लगानी गरेको, दुई हजारभन्दा बढी नेपालीले रोजगारी पाएको जानकारी दिँदै क्षेत्रीय होटल सङ्घ, सौराहाले विशेष गरी गर्मीको समयमा केही वर्षदेखि विद्युत् आपूर्तिका क्रममा ‘हाफ लाइन’ प्रवाह भई होटलका ‘एसी’ र ‘पङ्खा’समेत नचल्दा पर्यटकबाट सुन्नै नसकिने किसिमको खप्की खानुपरेकाले निर्वाध रुपमा विद्युत् सञ्चालन व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेको छ ।

विशेष गरी मुम्बई, कोलकोतालगायत सहरी क्षेत्रका खर्च गर्ने हैसियत भएका भारतीय पर्यटक सौराहा आउने गरेको जानकारी दिँदै पर्यटन व्यवसायी सिलवालले भने, ‘अहिले पनि सौराहामा रहेको ८–१० वटा भारतीय पर्यटक लक्षित होटल भरिभराउ हुने गरेका छन् तर त्यस्ता होटलले प्रति कोठाको सेवा शुल्क बढीमा दुई हजार ५०० सम्म लिई होटलले लिने दररेट बिगारेका छन् । यसरी सस्तोमा कोठा दिनुपर्ने उनीहरूको केही बाध्यता होला, यसले अस्वस्थ प्रतिस्पर्धाको अवस्था सिर्जना गर्दछ । अन्ततः समग्र होटल व्यवसाय ‘कोल्याप्स’ होला भन्ने डर पैदा भएको छ ।’

पर्यटन व्यवसायीहरूले नारायणघाट–बुटवल सडक खण्डको स्तरोन्नतिको काम लम्बिँदै जाने, पृथ्वी राजमार्गको यात्रा पनि भरपर्दो नहुने, भरतपुरसम्मको हवाई भाडा दर नघट्ने, ऋणमा डुबेका व्यवसायीलाई लक्षित गरी बैंकको व्याजदरमा सहुलियत नदिने, होटल–व्यवसायमैत्री ऐन, कानुन नआउने हो भने सौराहासहित चितवन आसपासका अधिकांश होटल बन्द हुने परिस्थिति सिर्जना भएकाले पर्यटन व्यवसायीको उल्लिखित गुनासोसहितको माग सम्बोधन गरिदिन सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =