मुन्दम पदमार्गको प्रवर्धन गर्न राष्ट्रिय चित्रकला

भोजपुर । मुन्दुम पदमार्गको विकास तथा प्रवर्धन गर्न यहाँको पर्यटकीय स्थल चखेवामा क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’ २०८२ सुरु भएको छ ।

मुन्दुम पदमार्गका रहेको विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला संस्कृतिलाई चित्रमा उतार्नका लागि तीन दिने चित्रकला कार्यशाला सञ्चालन गरिएको हो ।

कार्यशालामा २० जना राष्ट्रिय चित्रकारको सहभागिता रहेको छ । कलाकारहरूले मुन्दुम पदमार्गको प्रवद्र्धनका लागि ऐतिहासिक, प्राकृतिक, धार्मिक सांस्कृतिक तथा किरात सस्कृतिसँग जोडिएका विभिन्न मिथक, बिम्बहरूलाई चित्रमा उतार्ने चित्रकला विभागका प्रमुख सञ्जय बान्तावाले जानकारी दिए ।

कलाको माध्यमबाट यहाँको रैथाने संस्कृतिलाई समेत उजागर गर्न टेवा पुग्ने उनको भनाइ छ । चखेवामा पहिलो पटक हुन लागेको चित्रकला कार्यशालाले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ छ । ‘चित्रकलामार्फत यहाँको प्राकृतिकसँगै धार्मिक सांस्कृतिलाई चित्रमा उतारिने छ’, प्रमुख बान्तावाले भने, ‘बीस जना कलाकारहरूले यहाँको यो पदमार्गसँगै यहाँका सबै क्षेत्रलाई चित्रमा समावेश गर्नु हुनेछ ।’

चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै प्रवर्धन गर्ने लक्ष्यले राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

चित्रकला प्रदर्शनीमार्फत यहाँको प्राकृतिक धार्मिक, सांस्कृतिक रहनसहनलाई देश विदेशसम्म चिनाउन सहयोग पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ ।

गाउँपालिकाले मुन्दुम पदमार्गको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेको उनको भनाइ छ । यो पदमार्गको विकासका लागि विभिन्न जिल्लाका सात स्थानीय तह साझा धारणा घोषणा गरेर प्रवर्धन तथा विकासमा जुटेको अध्यक्ष बस्नेतको भनाइ छ ।

‘गाउँपालिकाले पर्यटन र कृषिलाई यहाँको मुख्य आधार बनाएर काम गरिरहेको छ’, अध्यक्ष बस्नेतले भने, ‘पर्यटनलाई कलासँग जोडेर प्रचारप्रसार गर्न चित्रकला कार्यशालाको आयोजना गरिएको हो, यसले पदमार्गको प्रवद्र्धनमा सहयोग पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।’

यस वर्ष पनि नेपाल सरकार, गाउँपालिका र स्विस सरकारको लागत साझेदारीमा एक करोड ९० लाख लागतमा पदमार्गको संरक्षणसँगै विस्तारको काम भइरहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

कार्यशाला गाउँपालिकाको आयोजना, पर्यटन बोर्डको प्रवर्धन तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुरु गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =