खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

कैलाली । कैलालीका विभिन्न नदीबगरमा खरबुजा खेती गरेका किसानको यति बेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ ।

हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा बिक्री गरी रहेका छन् ।

गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका–१७ का गोपाल रानाले बताए ।

उनले दिनमा १० हजारदेखि १२ हजारसम्मको खरबुजा बिक्री भइरहेको जानकारी दिए । ‘धनगढीबाट घर टाढा छ, प्रत्येक दिन गोरुगाडामा यहाँसम्म आएर व्यापार गर्न सकिँदैन, त्यसैले एक/दुई दिन बिराएर बिक्री गर्ने गरेको छु’, उनले भने ।

लामो समयदेखि खुटियाको बगरमा १० कट्ठा जमिनमा खरबुजा खेती गर्दै आएका किसान शिवुराम चौधरीले प्रत्येक दिन धनगढी पुगेर खरबुजा बिक्री गरिरहेको बताए । उनले दिनमा चार हजारदेखि सात हजारसम्म आम्दानी हुने जानकारी दिँदै दैनिक दुई क्विन्टलसम्म बिक्री हुने गरेको उल्लेख गरे ।

‘उत्पादनको सुरुमा ४० देखि ६० मा बिक्री गर्ने गरिएकामा हिजोआज प्रतिकिलो ३० मा बिक्री भइरहेको छ । उत्पादन बढेपछि खरबुजाको मूल्य घटेको छ’, उनले भने ।

किसानले यस वर्ष खुटिया, शिवगङ्गा, पथरीनदीलगायत आसपासका बगरमा व्यावसायिक खरबुजा खेती गरिरहेका छन् ।

त्यस्तै, मोहना नदीबगरको जुगेडा, घुइँयाघाट, बङ्गरा कटान क्षेत्रमा पनि केही किसानले व्यावसायिक खरबुजा खेती गरेका छन् ।

नदीबगरमा थारु समुदायका व्यक्तिसहित भारतीय किसानले व्यावसायिक रूपमा खरबुजा खेती गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =