जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण : नेता भट्टराई

काठमाडौँ । नेकपा एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यले छलफल सुरु गरेको छ ।

बुधवार काठमाडौंमा सगरमाथा संवादको स्थानीयकरणःजलवायु शक्तिकरण र विपद् न्यूनीकरणको लागि राजनीतिक प्रतिबद्धता कार्यक्रमको आयोजना गर्दै विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यबाट छलफल सुरु गरेको बताएको हो ।

छलफलका क्रममा बोल्दै एमाले नेता खिमलाल भट्टराईले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि पनि सगरमाथा संवाद महत्वपूर्ण हुने बताए । विभागले गरेको छलफलबाट आएका निष्कर्षहरू सरकार सुझाव स्वरूप दिने पनि जानकारी गराए । उनले जलवायु परिवर्तनका कारणले उत्पन्न भएका नकारात्मक प्रभाव, समाधानका उपायका बारेमा छलफल हुने बताए ।

उनले भने ‘सगरमाथा संवादबाट अन्तर्राष्ट्रिय जगतमा जुन एउटा गम्भीर विषयको रुपमा आइरहेको जलवायु परिवर्तनको विषय छ । यो जलवायु परिवर्तनका कारणले उत्पन्न भएका नकारात्मक प्रभाव, समाधानका उपायका बारेमा संवादमा छलफल हुनेछ । आज संसारभर नै जलवायु परिवर्तनका विषयमा छलफल भइरहेको छ । यसका समाधानका उपायहरूबारे छलफल भइरहेको छ, खोजी भइरहेको छ ।’

कार्यक्रममा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विपद् भन्दा अगाडिको पूर्वतयारी, विपद् जोखिम न्यूनीकरणको काममा आवश्यक काम हुन नसकेको बताए । उनले आपत्कालीन उद्धार र राहतमा नेपालले उत्कृष्ट काम गरेको पनि बताए । उनले यसमा तीन तहकै सरकारले आवश्यक समन्वय गरेर अघि बढ्न जरुरी रहेको बताए ।

उनले विकासको काम गर्दा जलवायुको असरबारे पनि सोच्न जरुरी रहेको बताए ।

उनले भने ‘दुई, तीन वटा कुरालाई इन्प्रुभ गर्नुपर्छ भनेर पुनः निर्माण प्राधिकरण रहँदै गर्दा अर्को पुनः निर्माण प्राधिकरण जस्तै अर्को संस्था चाहिन्छ भनेर हामीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना गयौँ । तर गृह मन्त्रालयको फ्रेमवर्कभित्र रहँदा यसमा समस्या आयो । मलाई लाग्छ यसमा राजनीतिक तहमा छलफल गर्न जरुरी छ । गृह मन्त्रालयको फ्रेमवर्कभित्र यो इन्टिटी रहँदा सानो सानो निर्णय गर्ने कुराका लागि त्यो लेभलको निर्णय गर्न सकेन । इमजेन्सी रेस्पोन्समा हाम्रो राम्रो खालको राहत उद्धारको काममा धेरै राम्रो क्षमता छ । उत्कृष्ट लेभलमा नेपालले काम गर्न सकेको छ । तर विपद् भन्दा अगाडिको पूर्वतयारी, विपद् जोखिम न्यूनीकरणको कामका कुराहरूमा, विपद् पछिको पुनः निर्माण र पुनः स्थापनामा जुन किसिमको अण्डरस्ट्याण्डिङ हुनुपर्दथ्यो त्यो हुन सकेन ।’

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जलवायु परिवर्तनको कारण कृषि उत्पादनमा प्रभाव परिरहेको बताए । त्यसबाट कसरी बच्ने भन्ने योजना बनाउन जरुरी रहेको उल्लेख गरे । तिन तहकै सरकारले स्पष्ट खाका र योजना बनाएर अघि जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 2 =