सांसदलाई विकाससँग जोड्ने गरी आगामी बजेट आउनुपर्छ : सांसद रोकाया

काठमाडौँ । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायाले आगामी बजेट सांसदलाई विकाससँग जोड्ने गरी आउने बताएका छन् ।
मंगलवार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले सांसदको भूमिकालाई बढाउन विकाससँग सांसदलाई जोड्नुपर्ने बताए । उनले विकाससँग सांसदलाई जोड्दा विकासको भुमिका बलियो हुने, संसद्को भुमिका बढ्ने र प्रणाली बलियो बन्ने जिकिर गरे । उनले नीति तथा कार्यक्रम र सिद्धान्त र प्राथमिकताका आधारमा आउने बजेटलाई कार्यान्वयनमा बढी जोड दिने सरकारलाई आग्रह गरे । यस्तै, रोकायाले मानव सूचकाङ्कमा पछि परेको कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सरकारसँग आग्रह गरे ।
उनले भने ‘सांसदको भूमिकालाई बढाउन, विकाससँग सांसदलाई जोड्नुपर्छ भन्नेमा म आग्रह गर्न चाहन्छु । जसले विकासको भुमिका बलियो हुन्छ र सँगसँगै संसद्को भूमिका बढ्छ, जसले यो सिस्टमलाई पनि अटोमेटिक बलियो बनाउँछ । मलाई विश्वास छ, नीति र कार्यक्रमलाई टेकेर र सिद्धान्त र प्राथमिकताका आधारमा जुन खालको बजेट निर्माण हुन्छ, त्यसलाई कार्यान्वयनमा म बढी जोड दिन चाहन्छु । सँगसँगै, मानव सूचकाङ्कमा पछि परेको, अहिले पनि कर्णाली प्रदेश पछि परेको छ । अहिलेसम्मका बजेटले कर्णाली प्रदेशलाई सम्बोधन गर्न सकेको छैन । त्यस कारण कर्णाली प्रदेशलाई यो पटकको बजेट निर्माणमा विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सरकारलाई आग्रह गर्न चाहन्छु ।’
उनले विकासमा सांसदहरूलाई जोडन गरी सरकारले बजेट ल्याउनुपर्ने दोहोर्याए ।








