मुलुकमा केही भएन भन्नेहरूले एकपटक मेची–महाकाली भ्रमण गरे हुन्छ : सांसद कार्की

काठमाडौँ । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा केही विकास भएन भाष्य निर्माण भइरहेको उल्लेख गर्दै त्यस्तो भन्नेहरूलाई मेचीदेखि महाकालीसम्म भ्रमण गर्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले यस्तो आग्रह गरेका हुन् ।
उनले पर्याप्त विकास नभए पनि सीमित स्रोत र साधनद्वारा धेरै विकास भएको दाबी गरे । यद्यपि विकासले जनताको चाहना र आवश्यकताहरू पूरा गर्न नसकेको उनको भनाइ छ । उनले विकास विरोधी कुरा गरेर मुलुकको अर्थतन्त्रलाई गतिशील र जनताका आवश्यकता पूरा गर्न नसकिने उल्लेख गर्दै निरर्थक र झुटो कुरा नगर्न समेत आग्रह गरे ।
उनले गाउँ–गाउँमा विकास पुगेको भएपनि जनताको मन गाउँमा अडिन नसकेको उल्लेख गर्दै विकासको विश्लेषण गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । उनले जनचाहानाअनुसार मुलुकको विकास गर्नको लागि सरकार गम्भीर भएर अघि बढ्नुपर्नेमा उनको जोड छ ।
उनले भने ‘अहिले केही भएन भन्नेहरूले एकपटक मेचीदेखि महाकालीसम्म भ्रमण गरे हुन्छ । पर्याप्त विकास भएको छ भनेर म भन्दिन । तर धेरै विकासहरू हामीले सीमित स्रोत र साधनद्वारा गरेका छौँ । अवश्य पनि यो विकासले जनताको चाहना र आकाङ्क्षाहरू पूरा हुन सकेका छैनन् । तर विकास नै भएन भन्ने कुरा निरर्थक र झुट हो । यस्ता झुटा कुरा गरेर हामीले मुलुकको अर्थतन्त्रलाई गतिशील र जनताको आवश्यकताअनुसार अग्रसर गराउन सक्दैनौँ । आज गाउँ–गाउँमा हिजोको भन्दा राम्रो सडकको पहुँच छ, खानेपानीको पहुँच छ, खानेपानीको अवस्था हिजोको भन्दा राम्रो छ । गाउँ–गाउँमा विकास भएको भएपनि जनताको मन त्यो गाउँमा अडेको छैन । गाउँमा विकास पुगेको छ तर जनता सहरतर्फ आउँदै छन् । सहरमा पनि मन नअडेपनि हाम्रा युवाहरू विदेश जाने होडबाजीमा छन् । यसलाई विश्लेषण नगरेर विकासको कुरा गर्यौं भने त्यो केबल भाषणको विषय मात्र हुनसक्दछ ।’
मुलुकमा राजनीतिक र आर्थिक स्थायित्व दिने दायित्व समेत वर्तमान सरकारमाथि रहेको सांसद कार्कीको भनाइ छ । उनले अगामी आर्थिक वर्षको बजेट दस्ताबेजका लागि मात्र नभई मुलुकको आर्थिक–सामाजिक विकास हुनेगरी आउनुपर्नेमा जोड दिए ।








