सवारी दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुई घाइते

उदयपुर । सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटनी चोकमा भएको सवारी दुर्घटनामा परी एक प्रहरी अधिकृतको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। उदयपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विरोध खतिवडाको घटनास्थलमै ज्यान गएको हो।

आज बिहान गाईघाटबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश २–०१–००च २१५ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किँदा सो दुर्घटना भएको हो। गाडीको अगाडिपट्टि सवार ३० वर्षीय असई खतिवडा गम्भीर घाइते भएलगत्तै घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

त्रियुगा नगरपालिका–८, गैरुन स्थायी ठेगाना भएका असई खतिवडा ड्युटीबाहेकको कामका लागि विराटनगर जाँदै गरेको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले दिएका छन्।

दुर्घटनामा गाडी चालक चौदण्डीगढी नगरपालिका–६, उदयपुरका ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी घाइते भएका छन्। दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। प्रारम्भिक अनुमानअनुसार गाडीको गति तीव्र रहेको र चालकको लापरवाहीका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eleven =