वन क्षेत्र अब बढाउन सकिँदैन, सघन वनतर्फ अघि बढौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको फडानी हुनु नहुने बताएका छन् ।

शनिवार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विकास र वातावरणमा सन्तुलन जरुरी रहेको बताउँदै वन क्षेत्रमै सालघारी फडानी गर्न नहुने बताए ।

उनले पञ्चायतलाई जिताउन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ०३६ सालमै वैज्ञानिक वन व्यवस्था भनेर सालघारी फडानी गरेको आरोप लगाए ।

उनले वैज्ञानिकताको नाममा गरिएको सालघारी फडानीको विरोध आफूहरूले गरिरहेको बताए । उनले सालघारी फडानीको काम रोकिनुपर्ने भन्दै सालघारी सर्पट फडानीको गल्ती गर्न नहुने बताए । वैज्ञानिक तरिकाले सालघारीको सदुपयोग गरिनुपर्ने र वन क्षेत्र अब धेरै बिस्तार गर्न नसकिने पनि बताए ।

सघन वनतर्फ अघि बढ्ने नीति अपनाउन जरुरी रहेको बताए । वन क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रका छेउका खाली जमिनहरूमा कृषकका समूह बनाएर कृषि वन लगाउनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने ‘विकास र वातावरणमा सन्तुलन जरुरी छ । तर वन क्षेत्रमै सालघारी फाँड्ने काम फडानी यस्तो वैज्ञानिक वन व्यवस्था त पञ्चायतलाई जिताउन सूर्यबहादुर थापाले ०३६ सालमै एक पटक गरिसकेका हुन् । गज्जबले गरेका हुन् । सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेर गरेका हुन् । त्यसकारण वैज्ञानिक नामले झुकिनु हुँदैन । प्रश्न विज्ञानको विरोध हो र ? विज्ञानको विरोध होइन, वैज्ञानिकताको विरोध होइन, त्यस नाममा गरिएको सालघारी फडानीको विरोध हो । सालघारीको फडानी हुनु हुँदैन, रोकिनुपर्छ । सालघारी सर्पट फडानीको गल्ती गर्नु हुँदैन । वैज्ञानिक तरिकाले सालघारीको सदुपयोग गरिनुपर्छ । फडानी होइन । वन नीति यही हो, यही नीतिअन्तर्गत अघि बढ्नुपर्छ । वन क्षेत्र अब धेरै बिस्तार गर्न सकिँदैन, त्यसैले सघन वनतर्फ जाऔँ । ग्रामीण क्षेत्रका छेउका खाली जमिनहरू जुन वन क्षेत्रमा पर्छ, कृषकहरूका समूह बनाएर कृषि वन बनाऔँ । आँपघारी लगाइदियो, फलफूलका बगैँचा लगाऔँ ।’

प्रधानमन्त्री ओलीले राणाकालीन समयमा सिंहदरबारमा रोपिएका आँप अहिले पनि फलिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =