भारत-पाक तनावको असर नेपाल-भारत सीमामा

धनुषा । भारत र पाकिस्तानबीच जारी तनावको प्रभाव नेपाल-भारत सीमामा समेत देखिन थालेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार भारतसँग जोडिएका सबै सीमा क्षेत्रहरूमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । सोही निर्देशनका आधारमा धनुषा जिल्लाको सीमा क्षेत्रमा समेत सुरक्षाको कडाइ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार, सीमावर्ती क्षेत्रबाट नेपाल भित्रिने तथा भारत जाने यात्रुहरूको परिचयपत्र प्रमाणीकरण अनिवार्य गरिएको छ । साथै उनीहरूको यात्रा प्रयोजन र सवारीसाधनको समेत रेकर्ड राख्न थालिएको छ ।
‘भारत-पाकिस्तानबीचको पछिल्लो विवादलाई दृष्टिगत गर्दै प्रहरी प्रधान कार्यालय तथा मधेस प्रदेश प्रहरी कार्यालयबाट प्राप्त निर्देशनहरू पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ,’ डीएसपी सिंहले बताए । उनका अनुसार, सीमा क्षेत्रमा आवागमन व्यवस्थित, सुरक्षित र नियन्त्रणमा राख्न विशेष रणनीति अपनाइएको छ ।
यसअघि स्थल मार्ग हुँदै सीमावर्ती भारतीय बजार क्षेत्र वा भारतबाट नेपाल आउजाउ गर्ने नागरिकहरूलाई खासै रोकटोक गरिएको थिए न। तर, पछिल्लो अवस्था संवेदनशील बनेपछि दुवै देशका नागरिकका लागि अब परिचय प्रमाण, यात्रा कारण र अन्य विवरणहरू अनिवार्य गरिएका छन् ।
सुरक्षा निकायले सीमामा हुने गतिविधिलाई सूक्ष्म निगरानीमा राखेको छ भने स्थानीय प्रशासनले पनि जनचेतना अभिवृद्धिमा सहयोग गरिरहेको जनाएको छ । तनावको अवस्था सामान्य नभएसम्म कडाइ यथावत् राखिने बताइएको छ ।








