'अपरेसन बानयन मर्सस'पछि पाकिस्तानमा आणविक सतर्कता

प्रधानमन्त्री शरीफले बोलाए राष्ट्रिय कमान्ड प्राधिकरणको आकस्मिक बैठक

काठमाडौँ । भारतविरुद्ध ‘अपरेसन बानयन मर्सस’ नामक प्रतिआक्रमण सुरु गरेलगत्तै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले देशको सर्वोच्च सुरक्षा संयन्त्र राष्ट्रिय कमान्ड प्राधिकरणको आकस्मिक बैठक बोलाएका छन् ।

सैन्य तथा कूटनीतिक दृष्टिकोणले अतिसंवेदनशील मानिने यो बैठक आणविक हतियारको नियन्त्रण, सुरक्षा, प्रयोग र नीति निर्माणसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । पाकिस्तानको राष्ट्रिय कमान्ड प्राधिकरण सन् २००० मा स्थापना गरिएको हो, जसको मुख्य उद्देश्य देशको आणविक क्षमतालाई सुरक्षित, व्यवस्थित र उत्तरदायी बनाइराख्नु हो ।

प्रधानमन्त्री शरीफको यो निर्णयले क्षेत्रीय तनाव झनै चुलिएको सङ्केत दिएको छ । विश्लेषकहरूका अनुसार, यस्तो संवेदनशील निकायको आकस्मिक सक्रियता पाकिस्तानले हालको परिस्थितिलाई अत्यन्त गम्भीररूपमा लिएको पुष्टि हो ।

सूत्रहरूका अनुसार बैठकमा पाकिस्तानका सेनापति, रक्षा मन्त्री, विदेश मन्त्रालयका उच्च अधिकारीहरू, तथा वैज्ञानिक समुदायका शीर्ष व्यक्तित्वहरूको सहभागिता रहनेछ । बैठकमा रणनीतिक हतियारहरूको वर्तमान स्थिति, सुरक्षा संयन्त्र, र आगामी सम्भावित कदमहरूको समीक्षा गरिने अपेक्षा गरिएको छ ।

यो पनि : भारतको ‘सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्‍यो ‘अपरेशन बानयन मर्सस’

हालै पाकिस्तानले भारतमाथि तीन वटा एयरबेसमा आक्रमणको आरोप लगाउँदै प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । त्यसको केही घण्टापछि प्रधानमन्त्री शरीफको यो निर्णय आणविक मुद्दामा गम्भीर बहस र चिन्ताको विषय बनेको छ ।

अहिलेसम्म भारतले पाकिस्तानको सैन्य कदम र यससँग सम्बन्धित आणविक छलफलबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर, दक्षिण एसियाली क्षेत्रीय स्थायित्वको दृष्टिले यो विकासक्रम अन्तर्राष्ट्रिय समुदायका लागि गम्भीर चासोको विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =