व्यवसायीहरूलाई उद्योगीमन्त्रीको आग्रह- उत्पादन र उत्पादकत्व वृद्धि गरि निर्यात प्रवर्द्धनमा लाग्नू


काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दसौँ संस्करण आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट सुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।
मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरूलाई उत्पादन र उत्पादकत्व वृद्धि गरि निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे ।
उनले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उनले सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवर्द्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणको प्रयासहरू गरिरहेको बताए ।
‘हामीले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौं । यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ ।’ मन्त्री भण्डारीले भने ।
उनले हालै संसदमा पेस भएको नीति तथा कार्यक्रममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवर्द्धनलाई प्राथमिकता राखिएको बताउँदै देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताए ।
मन्त्री भण्डारीले मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्रान्डिङ गर्न मेलाले सहयोग पुर्याउने बताउँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउन आग्रह गरे ।
सोही अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुरयाउने बताए ।
मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफूहरूले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खोजेका उनको धारणा थियो ।
‘मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरूबिच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न, र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ ।’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।
नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेला स्थलको अभाव एउटा प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उनले व्यवस्थित मेला तथा प्रदर्शनी स्थल निर्माण गर्नु पर्नेमा जोड दिए । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनु पर्ने बताए ।
नेपाल, चीन र बंगदादेशका गरि १२० बढी स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।
महासंघले यो मेलालाई वार्षिक क्यालेन्डरको हिस्साको रूपमा लिएर १० औं संस्करणसम्म आइपुगेको छ । अबका दिनमा यसलाई थप परिस्कृत र परिमार्जन गरि अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्रान्डिङ गर्नु पर्ने बताए ।
मेलामा डिजिटल पेमेन्ट पाटनर आइएमइपे, अफिसियल इन्स्योरेन्स,आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, इन्टरनेट पाटनर भायनेट र सपाटर्सका रुपमा रहेका हेरिटज कार्पेट, साल्ट ट्रेडिङ कर्पोरेशन लि. ,चाइना एक्जिविशन एण्ड फोरम कम्पनी लि., गार्मेन्ट एशोसिएयन नेपाल एक्जिविशन लाइट हाउस, इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रा.लि. रहेको र मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका उपसभापति सविन श्रेष्ठले जानकारी दिए ।
मेलामा नेपाल स्थिति थाइल्याण्ड र इजरायल,युएइका राजदूत अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का देशीय निर्देशक तथा अमेरिका,रुस, पाकिस्तान, बङ्गलादेशका राजदूतावासका आर्थिक मामिला प्रमुखहरूको समेत सहभागिता रहको थियो ।
