रूपन्देहीमा निजी विद्यालयको बसमा आगलागी, विद्यार्थी सकुशल

रूपन्देही । रूपन्देहीको शुद्धोधन गाउँपालिका-४ फर्साटिकरमा अवस्थित लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको विद्यालय बसमा बिहीबार बिहान अचानक आगलागी भएको छ । विद्यालय नजिकै पुगिसकेको बसमा एक्कासि धुँवा निस्किन थालेपछि आगो फैलिएको हो ।
स्थानीयवासीका अनुसार, बिहानको समयमा विद्यार्थी बोकेर स्कुलतर्फ गइरहेको लु १ क १३२६ नम्बरको बस एक्कासी आगोले जलेर पूर्ण रूपमा नष्ट भएको हो । ‘विद्यालयको गेटमै पुग्न लाग्दा बसबाट धुँवा निस्किन थाल्यो, केही क्षणमै आगो सल्कियो,’ स्थानीय मनोज भण्डारीले घटनाको विवरण दिँदै भने, ‘हामी स्थानीय मिलेर तत्कालै विद्यार्थीको उद्धारमा जुट्यौं । त्यसपछि प्रहरी र दमकल टोलीसमेत आएर आगो नियन्त्रणमा लियो ।’
दुर्घटनाको समयमा बसमा विद्यार्थी खचाखच थिए, तर स्थानीयवासी, सुरक्षाकर्मी र दमकलकर्मीको सहयोगमा सबै विद्यार्थी तथा चालक सकुशल उद्दार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । आगोलागीको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








