प्रधानमन्त्री ओलीको निर्देशन- संसदभित्र गलत विषय उठ्नसक्छ प्रतिवाद गर्नूस्

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदभित्र आफ्नो प्रस्तुति प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् ।

शनिवार बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रस्तुति प्रभावकारी बनाउन निर्देशन दिए । उनले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सही भएको बताए । उनले नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको बताए ।

उनले सांसदहरूले संसदमा बोल्दा जिम्मेवार हुनुपर्ने भन्दै राम्रोसँग अध्ययन गरेर मात्रै बोल्न निर्देशन दिए । उनले संसदमा बोल्नु अगाडि बुँदागत रुपमा टिपेर बोल्नुपर्ने बताए । विपक्षीहरूले विरोध गर्ने, गलत नियतले बोल्ने भएकाले तत्काल प्रतिवाद गर्नसक्ने गरी सांसदहरूले तयारी गर्नुपर्ने बताए ।

उनले भने ‘प्वाइन्टहरू साथीहरूले लेखेर ल्याउनुहोला बोल्ने बेलामा, लेखेका प्वाइन्टहरू बोल्नुहोला ताकि कुरा नछुटोस् , नबिर्सियोस् भन्नका लागि । लेखेर ल्याएको बुँदाहरू प्रष्टताका साथ व्याख्या गर्न सक्नेगरी आउनुपर्याे । सिङ्गै वक्तव्य लेखेर ल्याएपनि हुन्छ । लेखेर ल्याएको वक्तव्यमा तत्काल उठेका प्रश्नको जवाफ दिन सकिँदैन, असहज हुन्छ । तत्काल उठेका कुराहरूको प्रतिवाद हामीले गर्नैपर्ने हुन्छ । हरेक सांसदहरूले गलत कुरामा उठेको खण्डनहरूमा पनि बोल्नैपर्ने हुन्छ । त्यस ढंगले आफूलाई प्रस्तुत गरेर आउनु म साथीहरूलाई आग्रह गर्न चाहन्छु ।’

सरकारले शुक्रवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा सांसदहरूलाई संशोधन गर्न ७२ घण्टाको समय पनि उपलब्ध भइसकेको छ । सरकारको नीति तथा कार्यक्रमका बारेमा मिश्रित प्रतिक्रिया आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =