गुजरातको प्रभावशाली जितपछि शीर्ष स्थानका लागि प्रतिस्पर्धा अझै रोमाञ्चक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सिजनमा शीर्ष स्थानका लागि प्रतिस्पर्धा अझै रोमाञ्चक बनेको छ। शुक्रबार राति भएको रोमाञ्चक खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३८ रनले पराजित गर्दै प्लेअफ समीकरणलाई थप पेचिलो बनाएको छ।
अहमदाबादमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२४ रनको विशाल योगफल तयार पार्यो। कप्तान शुभमन गिलले आक्रामक रूपमा ३८ बलमा ७ छक्का र ४ चौकाको मद्दतमा ७६ रन बनाए भने जोस बटलरले ३७ बलमा ६४ रनको योगदान दिए। साई सुदर्शनले पनि २३ बलमा ४८ रन जोड्दै टोलीलाई बलियो स्थितिमा पुर्याए।
जवाफमा लक्ष्य पछ्याएको हैदरावाद २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रनमै सीमित भयो। ओपनर अभिषेक शर्माले ४१ बलमा ७४ रन बनाए पनि अन्य ब्याट्सम्यानले अपेक्षानुसार प्रदर्शन गर्न सकेनन्। नितिस कुमार रेड्डीले १० बलमा अविजित २१ रन तथा कप्तान प्याट कुमिन्सले १९ रन बनाए। तर सुरुवातमै गति गुमाएको हैदरावादका लागि विजय लक्ष्य लगभग असम्भव बन्यो।
गुजरातका प्रसिद्ध कृष्णले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १९ रनमात्र खर्चेर दुई विकेट लिए। उनी प्लेयर अफ द म्याच घोषित भए।
यस जितसँगै गुजरातले १० खेलबाट १४ अंक जोड्दै शीर्ष दुईको दौडमा बलियो स्थान कायम गरेको छ। उता हैदरावाद १० खेलबाट ६ अंकसहित पुछार नजिकै छ। शीर्ष स्थानको प्रतिस्पर्धा भने निकै रोचक बन्दै गएको छ। समान १४ अंकसहित मुम्बई इन्डियन्स, गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) शीर्ष तीन स्थानमा छन्। रनरेटका आधारमा मुम्बई पहिलो, गुजरात दोस्रो र आरसिबी तेस्रो स्थानमा छन्।








