लगातार छैटौं जितसहित मुम्बई शीर्ष स्थानमा, राजस्थान बाहिरियो

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले उत्कृष्ट लय कायम राख्दै लगातार छैटौं जित हात पारेको छ । बिहीबार जयपुरमा सम्पन्न खेलमा मुम्बईले राजस्थान रोयल्सलाई १०० रनको फराकिलो अन्तरले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मुम्बईका लागि यो जयपुरमा सन् २०१२ यताकै पहिलो जित हो । उता, लगातार खराब प्रदर्शनसँगै राजस्थान प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २१७ रनको विशाल योगफल खडा गर्‍यो । प्लेयर अफ द म्याच घोषित रेन रिकेल्टनले ३८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए। उनले कप्तान रोहित शर्मासँग पहिलो विकेटका लागि ११६ रनको शान्दार साझेदारी गरे । रोहितले ३६ बलमा ५ चौका र २ छक्कासहित ५३ रन जोडे ।

मध्यक्रममा सूर्यकुमार यादव र हार्दिक पाण्ड्यले पनि उत्कृष्ट योगदान दिए । दुवैले समान रूपमा २३ बलमा ४८-४८ रन बनाए । २१८ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रिएको राजस्थानको इनिङ्स कमजोर प्रदर्शनमा सीमित रह्यो । सम्पूर्ण टोली १६.१ ओभरमै ११७ रनमा समेटियो । जोफ्रा आर्चरले सर्वाधिक ३० रन बनाए ।

मुम्बईका बलरहरूले दबाबपूर्ण बलिङ गर्दै राजस्थानको ब्याटिङ धराशायी बनाए । करण शर्माले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए भने ट्रेन्ट बोल्टले २.१ ओभरमा २८ रन खर्चेर ३ विकेट झारे । जसप्रित बुमराहले पनि प्रभावशाली प्रदर्शन गर्दै ४ ओभरमा मात्र १५ रन दिँदै २ विकेट लिए । यो जितसँगै मुम्बई ११ खेलबाट १४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । उता, राजस्थानले ११ खेलमा ३ जित र ८ हारसहित ६ अंकमा सीमित हुँदै प्लेअफ दौडबाट बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =