छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर

गोरखा । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् ।

मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए ।

‘कतिपय हिँडिसके, कतिपय जाने तयारीमा छन्’, उनले भने, ‘मौसम बिग्रिएर दुःख दिइरहेको छ ।’ चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकमा उच्च गुणस्तरको यार्सागुम्बा पाइन्छ । यसलाई उत्तरी गोरखाका बासिन्दाको प्रमुख आम्दानीको स्रोत मानिन्छ । चुमनुब्रीको वडा नं ३ र धार्चे गाउँपालिकाको वडा नं ३ का लेकमा पनि यार्सागुम्बा पाइन्छ ।

छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न वैशाखको पहिलो सातादेखि नै लेकतिर जान थालेका निवर्तमान वडाध्यक्ष पासाङ फुञ्जो लामा बताउछन् । ‘स्थानीय जान त गएका छन्, तर लेकमा अझै हिउँ जमिरहेको छ’, उनले भने, ‘यो वर्ष हिउँ ढिला पर्‍यो, लेक गएका पनि हिउँ पन्छ्याउँदै होलान् ।’ वैशाख लागेपछि लेक गएकाहरू असारतिर मात्र फर्कने गर्छन् । स्थानीय बासिन्दाले करिब दुई–अढाइ महिनालाई पुग्ने गरी याक–चौंरीलाई रासनपानी तथा लत्ताकपडा बोकेर लैजान्छन् ।

यार्साको मोसम सुरु भएपछि अधिकांशले घरमा ढोका लगाएर जहान परिवार, घरपालुवा पशुचौपाया सबै लेकमै लिएर जान्छन् । ‘लेकमा अस्थायी क्याम्प बनाउँछन्, बालबच्चा पनि लेकमै लान्छन्, याक, चौंरी पनि लेकमै लान्छन्’, लामा पासाङ भन्छन्, ‘कसै–कसैका घरमा हिँड्न नसक्ने बुढाबुढी छन् भने रोङ्बा(तल्लो भेगका मान्छे)लाई घर कुरुवा राखेर आफू सबै लेकमै जान्छन् ।’

यहाँका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बाबाट हुने कमाइ हो । उनीहरुले यार्सागुम्बा बेचेर दुई लाखदेखि चार लाखसम्म कमाउने गर्दछन् । ‘अचेल लेकमा किरा पाउनै छोड्यो, दिनभरि खोज्दा एउटा, दुईटा मात्र पाइन्छ’, छिरिङ फुञ्जो भन्छन्, ‘अब केही वर्षपछि त त्यही पनि पाउन छोड्छ होला ।’ यार्सागुम्बा सङ्कलनका लागि प्रत्येक घरले स्थानीय स्तरको समितिलाई ५०० र पालिकाका लागि ५०० तिर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =