१४ वर्षे वैभवको शतकमा राजस्थानले गुजरातलाई सहजै हरायो


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ४७औं खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि आठ विकेटको फराकिलो जित दर्ता गरेको छ । जयपुरस्थित सवाई मानसिंह रंगशालामा सोमबार राति सम्पन्न खेलमा राजस्थानले ११० रनको लक्ष्य १५.५ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्यो ।
राजस्थानका लागि १४ वर्षीय किशोर ओपनर वैभव सूर्यवंशीले अद्भुत प्रदर्शन गरे । उनले ३५ बलमा शतक बनाउँदै आईपीएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बन्ने कीर्तिमान कायम गरे । वैभवले १७ बलमा अर्धशतक प्रहार गर्दै यस सिजनको सबैभन्दा छिटो अर्धशतक रेकर्ड समेत आफ्नो नाममा राखे । समग्रमा उनले आईपीएलमा दोस्रो सबैभन्दा छिटो शतक बनाउने उपलब्धि पनि हासिल गरे । प्रसिद्ध कृष्णाको बलमा बोल्ड आउट हुनुअघि उनले १०१ रन बनाए ।
यसैगरी, ओपनर यशस्वी जायसवालले ७० रनको योगदान दिएका थिए भने नितीश राणाले ३५ रन बना ए। गुजरातका प्रसिद्ध कृष्णा र राशिद खानले एक–एक विकेट लिएका थिए ।
खेलको सुरुमा टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०९ रनको विशाल योगफल तयार पारेको थियो । शुभमन गिलले ८४ रन र जोस बटलरले ५० रन बनाउँदै गुजरातको इनिङ्सलाई सशक्त बनाएका थिए । राजस्थानका लागि महिश तीक्षणाले दुई विकेट लिए भने सन्दीप शर्मा र जोफ्रा आर्चरले एक–एक विकेट हात पारे ।
जितसँगै राजस्थान अंक तालिकामा आठौं स्थानमा यथावत् रहेको छ भने पराजयपछि पनि गुजरात टाइटन्स तेस्रो स्थानमै कायम रहेको छ ।
