कविता : म सडक हुँ

म सडक हुँ,
चुपचाप लम्किरहेछु,
कहिले बुलेटको छायाँमा,
कहिले नारा घन्काउँछु ।
मेरो छातीमा पाइला चालिन्छन्
जा, राणा, गणतन्त्र, क्रान्तिकारी बर्को ओढेका
सबैका जुलुस, सबैका ब्यानर !
मैले हेरेको छु
राणाको जुत्तामा जनताको निधार टुसाएको,
राजाको हातमा संविधान लेखिएको नाटक,
गणतन्त्रको नाममा सत्ताको लुछाचुँडी।
म त केवल साक्षी हुँ,
तर मेरो छालामा हरेक परिवर्तनको चिह्न छ
अश्रु, रगत, र चिहानका खाल्डा !
गास छैन,बास छैन,
कपास त टाढाको कुरा भयो,
संविधान छ भन्छन्,
तर मेरो पेटभरि त्यो कागजले भोक मेटिँदैन ।
नागरिक आवाज बोक्नेहरू पनि आजकल मौन छन्
अनि मलाई पुच्छरमा बाँधेर लोकतन्त्रको झण्डा फहराइन्छ ।
म सडक हुँ
कहिले बालुवाटारतिर फर्किन्छु,
कहिले माइतीघर मण्डलामा थचक्क बस्छु,
कहिले शहीदको रगतमा भिज्छु,
अनि हाँस्न खोज्छु
तर हाँसो भित्र आँशु मिसिन्छ !
कविता लेख्नेहरू मलाई कवितामा कोर्छन्,
राजनीति गर्नेहरू मलाई भाषणमा बोच्छन्,
तर मलाई कुनैले नसोध्ने
है सडक, तैंले के भोगिस् ?’
म सडक हुँ
साक्षी हुँ म देशको यात्रा,
तर स्वयं म कहिल्यै नपुग्ने कुनै गन्तव्यमा !