छोरालाई आमाको पत्र– ‘सहर नबोलाऊ है, बोझ बनुँला !’


अनेक बाचा बन्धनका साथ हिँडेको यो जीवनमा एक विवश र बाध्यताले बाँधिएको जीवनको वृत्तान्त सुन्दा कस्तो लाग्छ होला है ? सायद कल्पना गर्न पनि गाह्रो हुन्छ होला तर यस्तै विवशताको काल्पनिक पत्र मात्रै हो यो । लेख्ने कोसिस मात्रै हो, यथार्थता होइन । काल्पनिक र समसामयिक परिवेशमा केन्द्रित छ यो पत्र । कसैको जीवनसँग मेल खाए संयोग मात्र ठानी दिनुहुन अनुरोध छ ।
‘प्यारो छोरा तिम्रो जस्तो कठोर मन यो आमाको हुन सकेन । किनकि म आमा न परे, सन्चै छौ होला नि ? भगवानको कृपाले आमाको आशिष सदा लागि रहोस् । कहिले तिम्रा पाइला अगाडी बढ्न नरोकिउन् । यो आमाको कामना छ ।
अँ एउटा कुरा सहरको रमझम र विदेशी सभ्यतामा रमाएका तिमी आजका दिन आमालाई सम्झिए भनेर फोन नगर्नु नि है छोरा । किनकि अब तिम्री आमाको आँखा कमजोर भईसके, कतै फुन आए पछि कसको नम्बर रहेछ भनी नचिनलीन् आमाले । अनि अलि कान पनि कम सुन्ने भएकीले नठम्याउलिन् तिम्रो आवाज । त्यसैले फुन गरे है छोरा ।
हाम्रा पालामा त सधैँ आमाको अगाडी रमाइन्थ्यो । आमाका खुसीका लागि सधैँ एकै दिन जस्तो मान्नेथियौँ तर आजभोलि आमाका लागि वृद्धाश्रम रोज्ने छोराले आमाको मुख हेर्ने दिन झोला भरी कोशेलीपात लिएर आए पनि फोनैबाट सम्झे पनि के अर्थ राख्छ र छोरा ।
नौ महिना कोखमा राखी प्रशवपिडा सहेर तिमिलाई यस धर्तीमा टेकाउने आमालाई एक दिनको विशेषले के फरक पार्छ र ? तिमी सानो छदा बाबा पनि परलोक हुन भयो । मेरो सहाराको एउटा डोरी चुँडिदा पनि मैले आफनो जीवनको प्रवाह नगरी केवल तिम्रो लालन पालनमा केन्द्रित रहे । छोरा तिमीलाई आफनो बर्कोले पिठ्युमा बोकी अरूको ढिकी जाँतो मेलापात गर्दै हुर्काए तिमीलाई । ता कि एक दिन तिमि मेरो बुढेसकालको सहारा बनलाउ ।
तर तिमीलाई त ती दिनका सम्झना पनि के आउला र ?, तिमि त एक अबोध बालक न थियौँ, तिमीलाई क क ह रा पढाउन जानी नजानी मैले कति मेहनत गरे । त्यसको के आँकलन गर्न सक्छौ र छोरा ?, तर आज तिमीले पाएको शिक्षा यति धेरै भए छ कि जहाँको माटोबाट तिमीले शिक्षा सुरु गर्यौँ त्यो घर टेक्दा पनि अब तिम्रा खुट्टामा माटो लाग्ने भएछ।
अनि तिमी हुर्कँदै गर्दा गोठमा बाँधिएका डिगा र बाच्छा नजिक पर्दा पनि फोहर लाग्छ भन्ने सोच भएछ, कसरी सम्झना आउला र छोरा , तिम्रा बाबु र आमाले पसिन चुहाउँदै बनाएको सानो घर र त्यो पीढी, किनकि तिमी त सहरको आलिसान महलमा रमाएको छोरा होइन र ?
अझै मेरा लागि खुसीको कुरा त, पल्लाघरे सानोबा सहर आउँदा तिमीसँग पनि भेट भाको अरे । अनि तिमीसँग गफगाफ हुँदा आमालाई गाउँमा दुख भयो भनेर सहर ल्याएर वृद्ध आमा बा का स्याहारका लागि खुलेको घरमा राख्ने कुरा गरेछौ रे
साँचै, तिम्रो त्यो सहरको घरमा तिम्री बुढीआमा अटाउन नसक्नी भएर मेरा लागि छुट्टै घरको व्यवस्था गर्न लागेको हो र छोरा ?
दुख नगर छोरा, मलाई मेरै श्रीमानले बनाएको झुपडी नै प्यारो छ किनकि यहाँ तिम्रो बा का यादहरू छन । गाउँमा अघाद माया छ । अनि तिमी भन्दा प्यारो मेरा लागि त्यही घर छ । अझै तिम्रो बाल्यकालमा तिमीलाई चिसो सँग ओढाउँदै हिँडेको तिम्रो बा ले किनेको वर्को छ, अनि तिमी सानो छँदाका तिम्रा नाना छन ।
छोरा तिमी पो सहरिया भयौ । सहरिया पत्नीको साथ पायौ । म कुनैदिन केहिपलका लागि त्यहाँ आएछु भने पनि बोझ नबनुँला भन्ने पनि त छैन । त्यसैले छोरा बिन्ती छ, मेरो लागि तिमीले कष्ट उठाउने चेष्टा नगर ।
अन्तमा एउटै कुरा मान है छोरा, यदि मेरा आँखा सदाका लागि चिम्म भएछ भने र तिमीले थाहा पाएछौ भने गाउँको घर आएर धुलो मैलोको प्रवाह नगरी हाम्रो संस्कारको धर्म निभाउनु है छोरा । किनकि दुखको भारीले तिमीलाई नपिरलोस ।
तिम्री आमा कम पढेकीले जानी नजानी यो पत्र कोरेकी छु । कहीँ कतै विराम गरेकी रहेछु भने माफ दिनु है छोरा ।’
आमाले आफ्नो सहरिया छोरालाई पत्र पठाउँछिन् । सजोग पनि कस्तो छोराको हातमा पत्र पर्छ । केही समय पश्चात् गाउँबाट खबर आउँछ कि आमा सदाका लागि अस्ताइन ।
आमा नहुनेहरूलाई थाहा हुन्छ आमाको महत्त्व तसर्थ आमाको लागि जति गरे पनि कमै हुन्छ । सबै आमाहरूमा आउन लागेको आमा औँसीको हार्दिक मङ्गलमय शुभकामना
-नवु सत्याल
