‘खेल’ फिल्म : मिथ र इन्टरनेटमा भाइरल सुपरन्याचुरल गेमहरूको मिश्रण (भिडिओ)

कलाकार : सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम
निर्देशक : अनुराग प्रधान र आस्था श्रेष्ठ
जनरा : मिथिकल सस्पेन्स थ्रीलर

कथानक
‘खेल’ एक मिथिकल सस्पेन्स थ्रीलर फिल्म हो । मिथ भन्नाले झुटो विश्वास वा कथित सत्य भन्ने बुझिन्छ । जुन वास्तविकता नभए पनि मानिसहरूले लामो समयदेखि विश्वास गर्दै आएका हुन्छन् ।

त्यस्तै ‘खेल’ फिल्ममा काठमाडौँ उपत्यकाका बारे रहेका केही मिथलाई आधार बनाएर निर्माण गरिएको छ । यस कहानीको केन्द्रमा ‘जिना’ (सुरक्षा पन्त), ‘योगना’ (मोनिका थापा), ‘अनिका’ (हेना नगरकोटी) र ‘ईशा’ (समापिका गौतम) नामका पात्रहरू रहेका छन् । जो एउटै कलेजमा पढ्ने मिल्ने साथीहरू हुन् ।

त्यस्तै फिल्ममा भोलाराज सापकोटा कलेजको भाइस प्रिन्सिपलको भूमिकामा देखिएका छन् ।

उता किरण श्रेष्ठ भने तिनै युवतिहरू मध्यको एकको साथीको भूमिकामा रूपमा देखिएका छन् ।

फिल्मका दृश्यहरूलाई भूत–वर्तमान र वर्तमान–भूत हुँदै ननलिनियर शैलीमा प्रस्तुत गरिएको छ । जहाँ किरणको भुमिका वर्तमानका केही दृश्यहरूमा मात्र कैद गरिएका छन् ।

फिल्मलाई मुख्य ४ युवति पात्रहरूले लिड गरेका छन् । जसमध्य ‘जिना’ यस्तो पात्र हो, जो किताब पढ्न र अध्ययन अनुसन्धान गर्नमा रुचि राख्दिछन् ।

एकदिन शिक्षकले उनीहरूलाई काठमाडौँ उपत्यकाको मिथ बारे कक्षाकोठामा पढाउँछन् । त्यसबारे जिना अझै थाहा पाउन लाइब्रेरीमा गएर विभिन्न ऐतिहासिक पुस्तकहरू पढ्न थाल्छिन् ।

त्यसपछि जिनाले आफ्नो जन्मदिनको अवसरमा सबै साथीहरूलाई प्रेत आत्मासँग कुरा गर्ने एक खेल खेलाउँछिन् ।

उक्त खेल खेलेपछि ती पात्रहरूले भोगेको परिणाम नै फिल्मको मुख्य कथावस्तु हो । जुन खेलले उनीहरूको जिन्दगी नै कायापलट गरिदिन्छ ।
त्यसपछि के हुन्छ होला ?, फिल्मले कस्तो मोड लिन्छ ?, यसका थप सस्पेन्सबारे थाहा पाउन यहाँहरूले भरखरै प्रदर्शनमा आइसकेको फिल्म ‘खेल’ थिएटरमा गएर हेर्न सक्नुहुन्छ ।

यस्तो छ, ‘खेल’ फिल्मको रिभ्यू
‘खेल’ फिल्म उपत्यकाको मिथ र सुपरन्याचुरल गेमहरूको मिश्रण हो भन्दा फरक नपर्ला । यो फिल्म काठमाडौँ उपत्यकाको मिथ भनिए पनि विशेषगरी युवा किशोरहरूबिच इन्टरनेटमा भाइरल भएको केही डरलाग्दो र रहस्यमय गेमहरू जस्तै ‘चार्ली–चार्ली च्यालेन्ज’ , ब्लडी म्यारी र द मिड नाइट जस्ता गेमहरूसँग धेर थोर मिल्न गएको छ ।

नेपालमा यस जनरामा कमै फिल्महरू बनेपनि हलिउड र बलिउडमा भने यस्ता थुप्रै ब्लकबस्टर फिल्महरू बनिसकेका छन् ।

त्यसैले यस विधामा फिल्म बनाउनु मेकरहरूका लागि एउटा ठुलो चुनौती साबित हुन्छ ।

त्यसोभए फिल्म बलिउड र हलिउडको तुलनामा कस्तो बनेको छ त ?, यो अहिले आम दर्शकहरूका लागि उत्सुकताको प्रश्न हो ।

तर फिल्म हलिउड र बलिउडसँग प्रतिस्पर्धा गर्ने मुडमा भने देखिदैन् ।

किनभने फिल्मको कथावस्तु ढिलोगरी अगाडि बढेको छ । जसले दर्शकहरूलाई बोरिङ फिल गराउँछ । कुनै दृश्यमा क्यामेरा अनावश्यक रूपमा हल्लाइएको छ त कुनै दृश्य लम्ब्याइएको छ । जसले गर्दा फिल्म हेर्दा उत्पन्न भएका डर र सस्पेन्सहरू पनि आफै मरेर जान्छन् ।

अर्को, फिल्ममा मिस्ट्रीहरू क्रियट गरेपनि केही मिस्त्रीहरू सल्भ नहुँदा दर्शकलाई नमज्जा लाग्न सक्छ । मेकरहरूले दर्शकको मनमा धेरै प्रश्नहरू उठाएर कतिपय प्रश्नहरूलाई त्यत्तिकै छाडिदिएका छन् । यस्ता प्रवृत्तिलाई नै सस्पेन्स थ्रीलर भनिनु चाहिँ नेपाली फिल्मको कमजोरी नै हो ।

यद्धपी फिल्मका डाइलग, सिन, लोकेसन, ड्रेसअप, मेकअप र कलाकारहरूको अभिनयले कहानीमा रंग भरिदिएको छ ।

विशेषतः यस फिल्ममा कलाकार किरण श्रेष्ठ र मोनिका थापाको अभिनय तारिफ योग्य छ । त्यस्तै सुरक्षा पन्त र अन्य कलाकारहरूले पनि फिल्ममा राम्रो प्रस्तुति दिएका छन् ।

यो फिल्म किन हेर्ने ?
शुक्रवारदेखि प्रदर्शनरत फिल्म ‘खेल’ ले नेपाली चलचित्र प्रेमीहरू माझ मिथिकल सस्पेन्सले भरिएको एउटा नयाँ स्वाद पस्किदिएको छ । ‘खेल’ मिथ र विज्ञान बिचको तुलनासँगै केही मिथिकल सस्पेन्सले भरिएको फिल्म हो । यो गम्भीर र दमदार अभिनयले सजिएको छ । हरर जनराका फिल्म मन पर्ने दर्शकहरूलाई यो फिल्म सजिलै मन पर्छ ।

फिल्मलाई राम्रो बनाउने प्रयास गर्दागर्दै पनि सुस्त प्रस्तुतिले गर्दा खल्लो पारिदिएको छ । कतिलाई यो स्वाद मन पर्ला त कतिपयलाई मन नपर्ला ।

भिडिओ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *