अन्तिम दुई ओभरको चूक, राजस्थानको हातबाट फुस्कियो जित

काठमाडौं । आईपीएलको बिहीबारको खेलमा राजस्थान रोयल्सले जित नजिक पुगेर पनि खेल गुमाएको छ । रोयल च्यालेन्जर्स बंगलोरसँग ११ रनले पराजित हुँदै राजस्थानले अर्को महत्त्वपूर्ण मौका गुमायो ।
बंगलोरले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा २०५ रन बनाएको खेलमा, राजस्थानले शानदार सुरुवात गरे पनि अन्तिम दुई ओभरमा चुक्यो । लक्ष्य भेट्न १८ रन बाँकी रहँदा पाँच विकेट सुरक्षित रहेको अवस्थामा, जोस हजेलउड र यस दयालको उत्कृष्ट बलिङले बंगलोरलाई जित दिलायो ।
हजेलउडले १९औं ओभरमा जम्मा १ रन दिएर ध्रुव जुरेल र जोफ्रा आर्चरको विकेट लिँदा खेलको गति नै बदलियो । अन्तिम ओभरमा थप दुई विकेट गुमाउँदै राजस्थान ९ विकेटको क्षतिमा १९४ रनमै रोकियो ।
राजस्थानका लागि यशस्वी जयसवालले मात्र १९ बलमा ४९ रन र ध्रुव जुरेलले ३४ बलमा ४७ रन बनाए । तर बाँकी ब्याट्सम्यान टिक्न सकेनन् । बलिङतर्फ हजेलउड ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच बने । क्रुनाल पाण्डेले पनि प्रभावशाली बलिङ गर्दै २ विकेट लिए ।
यसअघि, विराट कोहलीले ४२ बलमा ७० रन र देवीदत्त पाणीकलले २७ बलमा ५० रन जोड्दै बंगलोरको पारीलाई मजबुत बनाए । जितेस शर्माले अन्त्यतिर १० बलमा अविजित २० रन थपे ।
यो जितसँगै बंगलोर ९ खेलबाट १२ अंक बटुल्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ भने राजस्थान ४ अंकमा सीमित रहँदै आठौँ स्थानमा झरेको छ ।








