हैदरावादलाई ७ विकेटले हराउँदै मुम्बईको लगातार चौथो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले शानदार प्रदर्शन जारी राख्दै लगातार चौथो जित दर्ता गरेको छ । बुधबार सनराइजर्स हैदरावादमाथि ७ विकेटको जित हात पार्दै मुम्बई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

हैदरावादले प्रस्तुत गरेको १४४ रनको लक्ष्य मुम्बईले २६ बल बाँकी छँदै मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो । ओपनर रोहित शर्माले शानदार ७० रन बनाए, जसका लागि उनले ४६ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । सूर्यकुमार यादवले पनि तिव्र गतिमा खेल्दै १९ बलमा पाँच चौका र दुई छक्कासहित अविजित ४० रनको योगदान दिए ।

खेलको सुरुआतमा टस हारेर पहिले ब्याटिङ गर्न आएको हैदरावादको सुरुवात कमजोर रह्यो । टोलीले १३ रनमै चौथो विकेट गुमायो भने पाँचौँ विकेट ३५ रनमै पतन भयो । तर त्यसपछि हेन्रिक क्लासेन र अभिनव मनोहरले छैटौँ विकेटका लागि ९९ रनको सशक्त साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे । क्लासेनले आक्रामक शैलीमा ४४ बलमा ७१ रन बनाएका थिए, भने मनोहरले ३७ बलमा ४३ रन बनाए। अन्य ब्याट्सम्यान भने प्रभाव जमाउन असफल रहे ।

मुम्बईका लागि बलिङतर्फ ट्रेन्ट बोल्ट सबैभन्दा प्रभावशाली रहे। उनले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिएर ‘प्लेयर अफ द म्याच’ घोषित भए। त्यस्तै, दीपक चाहरले चार ओभरमा मात्र १२ रन दिँदै दुई विकेट झारे ।

यो जितसँगै मुम्बईले ९ खेलमा १० अंक जोडेको छ । उता, हैदरावादको अवस्था भने कठिन बनेको छ । ९ खेलमा केवल ४ अंक जोडेको टोली नवौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *