एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो कम्पनी

काठमाडौँ । एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो नेपाली कम्पनी बनेको छ ।

सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानुनी व्यवस्था बमोजिम एनसेल सूचीकृत भएको कम्पनीले जानकारी दिएको छ ।

एनसेलका अनुसार विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेस भएको निवेदन तथा कागजातको गहन अध्ययन गर्दा कम्पनीले तोकेको सञ्चालन मापदण्ड तथा सुरक्षा अनुसरण गरेको देखिएकोले कम्पनीलाई सूचीकृत गरिएको हो ।

निर्देशिका अनुसार सञ्चालनमा रहेका डाटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो । एनसेलले सो अवधि भन्दा पहिला नै आफूलाई सूचीकृत गराएको जानकारी दिएको छ ।

यो निर्देशिका २०८१ माघ १५ गतेको सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङको मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो ।

निर्देशिकाले सेवा प्रदायकहरूको लागि सुरक्षा, गोपनीयता र पूर्वाधार लगायतका महत्वपूर्ण क्षेत्रहरूमा नियमहरू निर्धारण गरेको छ । डाटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्था बमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सूचीकरण गराएको छ । सो सूचीकरणसँगै एनसेलले अब नयाँ कानुनी व्यवस्था अनुसार पनि डाटा सेन्टर र क्लाउड सेवा सहजै प्रदान गर्न सक्ने एक मात्र कम्पनी बनेको जनाएको छ ।

हाल एनसेलको ललितपुर, नख्खुमा बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डाटा सेन्टर सञ्चालनमा रहेको छ । त्यसैगरी एनसेलले पोखरा र हेटौडामा गरी दुई डिजास्टर रिकभरी डाटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।

‘हामीले साइबर सुरक्षा, डेटा गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डहरू अनुसार काम गर्दै आएकोले सूचीकरणको प्रक्रिया सहज भएको हो । सूचीकृत भई सरकारबाट मान्यता प्राप्त गर्ने एनसेल पहिलो र एक मात्र कम्पनी बनेकोमा हामी खुसी छौं । डाटा सेन्टर र क्लाउड सेवाहरूको बढ्दो बजारलाई ध्यानमा राख्दा, यो सूचीकरण अत्यन्त महत्वपूर्ण छ । यसले डिजिटल नेपाल भिजन अनुरूप एनसेल सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहेको प्रतिबिम्बित गर्दछ । यो सूचीकरणका लागि हामी सूचना प्रविधि विभाग प्रति धेरै आभारी छौं,’ एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *