लखनउमाथि आठ विकेटको जित निकाल्दै दिल्ली प्ले अफ नजिक

काठमाडौं । दिल्ली क्यापिटल्सले आइपीएल २०२५ को प्लेअफमा स्थान बनाउने आशा थप बलियो बनाउँदै मंगलबार लखनउ सुपर जायन्ट्समाथि प्रभावशाली जित दर्ता गरेको छ । लखनउले दिएको १६० रनको लक्ष्य दिल्लीले १३ बल बाँकी रहँदा मात्र दुई विकेट गुमाएर सहजै पूरा गर्यो ।
दिल्लीका ओपनर अभिषेक पोरेलले विस्फोटक सुरुआत दिलाउँदै ५१ रन बनाए भने, लोकेश राहुलले ५७ रनको संयमित तर उपयोगी पारी खेले । कप्तान अक्षर पटेलले पनि आक्रामक ३४ रन जोडे र राहुलसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको महत्वपूर्ण साझेदारी गरे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो । म्याक्रमले ५२ रन, मिचेल मार्सले ४५ रन र आयुश बडानीले ३६ रनको योगदान दिए ।
तर दिल्लीका बलर मुकेश कुमारले आक्रमणकारी प्रदर्शन गर्दै ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए र लखनउको गति रोकिदिए । लखनउका म्याक्रमले बलिङमा पनि दुई विकेट लिए तापनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
यो जितसँगै दिल्ली ८ खेलबाट १२ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने लखनउ ९ खेलबाट १० अंकसहित पाँचौँ स्थानमा छ । दिल्लीको प्लेअफ यात्रा लयमा देखिएको छ ।








