आईपीएलमा मुम्बईको फर्ममा फर्किने संकेत, चेन्नईलाई ठूलो हार


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले धमाकेदार लय कायम राख्दै चेन्नई सुपर किङ्समाथि ९ विकेटको सहज जित हात पारेको छ । आइतबार मुम्बईको बाखडे रङ्गशालामा सम्पन्न खेलमा मुम्बईले चेन्नईद्वारा प्रस्तुत १७७ रनको लक्ष्य २६ बल अगावै पूरा गर्दै सानदार जित दर्ता गर्यो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले संयमित तर प्रभावशाली प्रदर्शन गर्दै अविजित ७६ रन बनाए । उनले ४५ बलमा ४ चौका र ६ छक्का प्रहार गरे र ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनको साथमा सूर्यकुमार यादवले पनि उत्कृष्ट प्रदर्शन गरे । ३० बल खेलेका सूर्यकुमारले ६ चौका र ५ छक्का सहित ६८ रनको तुफानी इनिङ्स खेले ।
बलिङतर्फ चेन्नईका महेश पाथिराना र जेमी ओभरटन खासै प्रभावशाली देखिएनन् । पाथिरानाले १० बलमै ३४ रन खर्चिए भने ओभरटनले २ ओभरमा २९ रन दिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । टोलीका लागि रवीन्द्र जडेजाले ३५ बलमा ५३ रन बनाउँदै इनिङ्स सम्हाले भने शिवं दुवेले पनि ५० रनको योगदान दिए ।
मुम्बईको बलिङमा जसप्रित बुमराह चम्किए । उनले चार ओभरमा २५ रन खर्चिएर दुई महत्वपूर्ण विकेट लिए । अर्का बलर अश्विनी कुमारले एक विकेट त लिए तर दुई ओभरमै ४२ रन खर्चिए ।
लगातार तेस्रो जितसहित मुम्बई ८ अङ्कका साथ अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । शीर्ष पाँच स्थानमा रहेका गुजरात टाइटान्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बंगलोर, पञ्जाब किङ्स र लखनउ सुपर जाइन्ट्स सबैको १० अङ्क छ ।
