अन्तिम ओभरमा लखनउको रोमाञ्चक जित, राजस्थान २ रनले पराजित


काठमाडौं । इन्डियन प्रिमियर लिगमा शनिबार भएको खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराउँदै एक रोमाञ्चक जित हात पारेको छ ।
लखनउले दिएको १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको राजस्थान २० ओभरमा ५ विकेटको क्षतिमा १७८ रनमै सीमित भयो । अन्तिम ओभरमा ९ रन आवश्यक परेको अवस्थामा लखनउका बलर आवेश खानले जबरजस्त दबाब बनाए- सिर्फ ६ रन दिएर शिम्रोन हेटमायरको महत्वपूर्ण विकेट पनि टिपे ।
राजस्थानका लागि यशस्वी जैसवालले आक्रामक सुरुवात दिलाउँदै ४४ बलमा ७४ रनको उत्कृष्ट पारी खेले । कप्तान रियान परागले ३९ रन र वैभव सुर्यवंशीले ३४ रन बनाए । तर, जीतको नजिक पुगेको अवस्थामा पनि राजस्थानले दबाब थेग्न सकेन र लगातार विकेट गुमाउँदै हार्न पुग्यो ।
लखनउका लागि आवेश खान स्टार बलर बने- ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट हात पारे । शार्दुल ठाकुर र एइडेन मार्क्रमले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले ५ विकेट गुमाएर १८० रन बनायो । एइडेन मार्क्रमले ६६ रनको ठोस इनिङ खेले भने आयुष बदोनीले अर्धशतक प्रहार गरे । अब्दुल समदले अन्तिम ओभरमा सन्दीप शर्मालाई ४ छक्का हिर्काउँदै ३० रन जोडेर टोलीलाई बलियो स्कोरमा पुर्याए ।
राजस्थानका बलरहरूमध्ये वानिन्दु हसरङ्गाले २ विकेट लिए भने जोफ्रा आर्चर, सन्दीप शर्मा र तुषार देशपाण्डेले १-१ विकेट लिए । यो जितसँगै लखनउले ८ खेलमा १० अंक बनाउँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। यता, राजस्थान भने ८ खेलमा केवल ४ अंकसहित आठौं स्थानमा झरेको छ ।
