अफगानिस्तानविरुद्ध जित निकाल्छौँ भन्ने आत्मविश्वास थियो- प्रशिक्षक शक्ति गौचन


काठमाडौँ । नेपाली यु–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले विश्वकपमा छनोटबाट वञ्चित भएपछि अफगानिस्तानविरुद्ध जित निकाल्नसक्छौं भन्ने आत्मविश्वास रहेको बताएका छन् ।
घरेलु मैदानमा भएको यु–१९ विश्वकप एसिया छनोटमा अफगानिस्तानविरुद्धको निर्णायक खेलमा शनिवार वर्षा बाधक हुँदा नेपाल नवौँपल्ट विश्वकप खेल्नबाट वञ्चित भएको हो । यससँगै नेपाली टोलीका प्रशिक्षक शक्तिले अफगानिस्तानविरुद्ध जित निकाल्न खेलाडीहरूमा बलियो आत्मबल रहे पनि वर्षा बाधक भएको बताएका हुन् ।
प्रशिक्षक गौचनले तीन महिना छनोटको तयारी गर्दा विश्वकप खेल्ने सपना बनाए पनि वर्षाले गर्दा सम्भव नभएको बताए । खेल सम्भव नभएपछि पत्रकार सम्मेलनमा प्रशिक्षक गौचनले भाग्यले पनि साथ नदिँदा धेरै दुःख लागे पनि यो अवस्थामा स्विकार्न तयार रहेको प्रतिक्रिया दिए ।
यद्यपि, शनिवार खेलमा नतिजा जे सुकै आउने भएपनि अफगानिस्तानसँगको श्रृंखलामा जसरी पुनरागमन गरेको थियो, त्यो हेर्दा हराउनसक्छौं भन्ने आत्मविश्वास टोलीमा रहेको पनि उनको भनाइ छ । श्रृंखलाका तीन खेलमध्ये दुई खेलको नतिजामा आफूहरूले गरेको प्रदर्शनका आधारमा खेलाडीहरूमा पनि आत्मविश्वास बढेको अवस्था रहेको उनले उल्लेख गरेका छन् ।
यो ब्याचको यु–१९ टोलीका खेलाडी अधिकांश नयाँ रहे पनि क्षमतावान् खेलाडी रहेको उनको भनाइ छ । उनीहरूले आफूलाई पनि हरेक दिन सुधार गर्दै लगेको प्रशिक्षक गौचनले बताए । अहिले विश्वकपमा छनोट हुन असफल भए पनि यो पुस्ताका खेलाडीले राष्ट्रिय टोलीबाट खेल्ने उनको विश्वास छ ।
उनले विश्वकपमा छनोट हुन नसकेपछि खेलाडीहरू धेरै रोएको र आफूलाई पनि चित्त दुखेको बताएका छन् । यद्यपि, आफ्नो करियरमा यो भन्दा ठूलो दुःख र सुख आएको भन्दै खेलाडीलाई सम्झाएको प्रशिक्षक गौचनले उल्लेख गरेका छन् । यो दुःख बाट अगाडि बढेर सुधार गर्नसके अझ राम्रो नतिजा आउने भन्दै खेलाडीलाई सम्झाएको उनले स्मरण गरेका छन् ।
पाँच राष्ट्र सहभागी यु–१९ विश्वकप एसिया छनोटमा लिगको विजेताले विश्वकपमा स्थान बनाउने प्रावधान थियो । लिगमा समान सात अंक भएपनि नेट रनरेटमा नेपाललाई पछि पार्दै अफगानिस्तानले सन् २०२६ मा नामिबिया र जिम्बाब्वेमा हुने विश्वकपमा स्थान बनायो । मूलपानी क्रिकेट मैदान ९तल्लो० मा शनिवार प्रतिस्पर्धा गर्नुअघि नेपाल र अफगानिस्तान दुवै टोली अपराजित थिए ।
नेट रनरेटमा अफगानिस्तान अगाडि रहेकाले विश्वकपमा छनोट हुन नेपालका लागि खेल हुनु आवश्यक थियो । बिहान केही समय वर्षा हुँदा मैदानमा भिजेको थियो । करिब पाँच घण्टाको पर्खाइपछि सम्भव नदेखेपछि म्याच अफिसियलले खेल रद्द गरेका हुन् ।
अफगानिस्तानको ४.८१७० र नेपाल ३.५७६४ नेट रनरेटमा थियो । नेपाल सन् २०२२ पछि फेरि विश्वकपमा छनोट हुन असफल भएको हो । नेपाली यु–१९ टोलीका कप्तान नरेन भट्टले पनि खेल नै खेल्न नपाइ छनोट हुन असफल हुँदा धेरै दुःख लागेको बताए । टोलीमा धेरै राम्रो रहेको र प्रदर्शन पनि त्यहीअनुरूप भएकाले अफगानिस्तानविरुद्ध जित निकाल्न सक्छौँ भन्ने आत्मविश्वास रहेको उनले उल्लेख गरेका छन् । तर वर्षाका कारणले सम्भव नभएको उनले उल्लेख गरे । वर्षा आफूहरूको नियन्त्रणमा नरहेको भन्दै उनले आफूलाई सम्झाएका थिए ।
अफगानिस्तानका प्रशिक्षक रेइस अहमदजाईले नेपाली टोली पनि बलियो रहेको र उनीहरूले धेरै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै विश्वकपमा छनोट हुन नसक्नु अभाव रहेको बताए । आफ्नो टोलीविरुद्ध नेपालका खेलाडीले राम्रो प्रदर्शन गरेको भन्दै उनले प्रशंसा पनि गरेका छन् । नेपाली टोली विश्वकप खेल्नयोग्य रहेको पनि उनले प्रतिक्रिया दिए । आफू युद्धकै अवस्थाबाट हुर्किएको उल्लेख गर्दै यो सफलता आफ्नो देशका लागि मुस्कान हुने उनको विश्वास छ ।
