यू-१९ विश्वकपको ढोका सामु नेपाल : निर्णायक खेल वर्षाका कारण सुरु हुन सकेन

काठमाडौं ।  यू-१९ विश्वकप एसिया छनोटको सबैभन्दा निर्णायक नेपाल र अफगानिस्तानबीचकाे खेल सुरु हुन सकेको छैन । मूलपानीमा बिहान ९:३० बजे सुरु हुने तालिका तय गरिएको खेल वर्षाका कारण निर्धारित समयमा सुरु हुन नसकेको हो ।

खेल सुरु हुनुअघि नै मैदान चिस्रिएपछि दुवै टोलीको तयारीमा पनि असर परेको छ । यस खेलको नतिजाले २०२६ मा जिम्बावे र नामिबियामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा एसिया क्षेत्रबाट सहभागी हुने एक मात्र टोलीलाई निर्धारण गर्नेछ । छनोट प्रतियोगितामा अन्य सबै टोलीहरू प्रतियोगिताबाट बाहिरिसकेका छन्, जसका कारण अब नेपालको युवा टोली र अफगानिस्तानबीचको अन्तिम भिडन्त नै निर्णायक बनेको हो ।

नेपाल अहिलेसम्म आठ पटक यू-१९ विश्वकपमा सहभागिता जनाइसकेको छ । २००२ देखि २००८ सम्म लगातार विश्वकप खेलेको नेपालले त्यसपछि २०१२ र २०१६ मा मात्र विश्वकप यात्रा तय गर्न सकेको थियो । अब घरेलु मैदानबाट लगातार दोस्रो वर्ष विश्वकपमा पुग्ने लक्ष्यमा नेपाल एक जित टाढा छ ।

समूह चरणको अघिल्ला खेलहरूमा नेपालले हङकङलाई १२.३ ओभरमै ९ विकेटले पराजित गर्दै बलियो प्रदर्शन गरेको थियो । अर्कोतर्फ, अफगानिस्तानले यूएईलाई १८० रनको विशाल अन्तरले हराएर आफ्नो दाबी थप बलियो बनाएको छ । नेपालले यूएईमाथि कठिन जित निकालेको थियो भने अफगानिस्तानले ओमानलाई सजिलै हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *