यू-१९ विश्वकपको ढोका सामु नेपाल : आज अफगानिस्तानसँग निर्णायक भिडन्त

काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोली आज इतिहासको अर्को पाना कोर्न नजिक पुगेको छ । सन् २०२६ मा हुने आइसिसी यू-१९ विश्वकपको लागि स्थान पक्का गर्न नेपाललाई अब केवल एक जितको खाँचो छ । त्यो जित आज मुलपानीको तल्लो मैदानमा अफगानिस्तानविरुद्धको निर्णायक खेलमा आउनुपर्छ ।

नेपाल र अफगानिस्तान दुवै टोलीले छनोट प्रतियोगितामा तीन-तीन खेल जित्दै समान ६ अंक हासिल गरेका छन् । अब यी दुई शीर्ष टोलीबीचको भिडन्तले तय गर्नेछ- जिम्बावे र नामिबियामा आयोजना हुने आगामी विश्वकपमा कुन देशको झण्डा फर्फराउनेछ ।

छनोट प्रतियोगितामा सहभागी अन्य तीन टोली हङकङ, ओमान र युएई अंकविहीन रहँदै पछाडि परेका छन् । नेपाल र अफगानिस्तान भने लगातार जितको लयमा छन् र आज उच्च आत्मबलका साथ मैदान उत्रनेछन् ।

नेपालले ओमानमाथि ८ विकेट, यूएईमाथि डिएल पद्धतिमा ५ रन र हङकङविरुद्ध ९ विकेटको सानदार जित निकाल्दै प्रभावशाली प्रदर्शन गरेको छ । त्यस्तै, अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेटले पराजित गर्दा यूएईमाथि डिएल पद्धतिमा १८० रनको एकतर्फी जित हात पारेको छ ।

यद्यपि नेट रनरेटका आधारमा अफगानिस्तान अगाडि रहेकोले आजको खेलमा वर्षा बाधक बने नेपाललाई नोक्सान हुने सम्भावना छ । खेल बिहान ९ बजे सुरु हुनेछ ।

दुई टोलीले छनोट सुरु हुनुअघि तीन खेलको शृंखलामा पनि आमनेसामने भएका थिए, जहाँ अफगानिस्तानले २-१ को जित निकालेको थियो । नेपालले यू-१९ विश्वकपमा सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक, त्यसपछि २०१२ र २०१६ मा सहभागी हुने मौका पाएको थियो । अब, नवौं पटक विश्वकपमा पुग्ने सपनालाई साकार पार्न युवा टोली एक कदम मात्र टाढा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *