सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी सरोकार मञ्चलाई खाद्यान्न सहयोग

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल नेपालको कर्णाली प्रदेश स्थित बादी समुदायका करिब १३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘बादी सरोकार मञ्च नेपाल’लाई खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले महिना दिन भन्दा बढी समयसम्म पर्याप्त हुने खाद्यान्न सामग्री वितरण गरेको हो ।
यस सहयोग कार्यक्रम अन्तर्गत कम्पनीले चामल, दाल, तेल लगायत अत्यावश्यक उपभोग्य वस्तुहरू उपलब्ध गराएको छ, जसले संस्थामा आश्रित बालबालिकाहरूको पोषणमा प्रत्यक्ष सहयोग पुर्याउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
बादी समुदाय नेपालको सबैभन्दा सीमान्तकृत र ऐतिहासिक रूपमा उत्पीडित तथा अहिले पनि सामाजिक–आर्थिक रूपले कमजोर समुदायहरू मध्ये एक हो । हिक्मत बादीद्वारा सञ्चालनमा ल्याइएको बादी सरोकार मञ्च नेपालले उक्त समुदायका महिला, बालबालिका तथा परिवारहरूलाई शिक्षा, आश्रय, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको छ ।









