सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को बुधबार रातिको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि सुपर ओभरमा जित निकालेको छ । नाटकीय जितसँगै दिल्ली १० अङ्कसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ र प्लेअफ यात्राको ढोका धम्क्याउँदै अगाडि बढेको छ ।

१८९ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले नियमित खेलको अन्त्यसम्म ४ विकेट गुमाएर १८८ रन मात्रै बनाउन सक्यो । राजस्थानले पहिला ब्याटिङ गरेको सुपर ओभरमा मिचेल स्टार्कको धारिलो बलिङको सामना गर्नुपर्‍यो ।

पहिलो बल डट, दोस्रोमा चौका, तेस्रोमा सिंगल, तर त्यहीँबाट खेलले यु-टर्न लियो । रियान परागले नोबलमा चौका हाने पनि, त्यसपछि रन आउट भए । अर्को बलमा यशस्वी जयसवाल दोस्रो रन लिने क्रममा आउट हुँदा राजस्थानले १२ रन मात्रको चुनौती प्रस्तुत गर्न सक्यो ।

जवाफमा दिल्लीको इनिङ सन्दीप शर्माको बलिङसँग सुरु भयो । लोकेश राहुलले संयमित खेल प्रस्तुत गर्दै २, ४ र १ रन बटुले । त्यसपछि मैदानमा उत्रिएका ट्रिस्टियन स्टब्सले कुनै ढिलासुस्ती नगरी चौथो बलमै छक्का प्रहार गर्दै खेल दिल्लीको झोलीमा हालिदिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेट गुमाएर १८८ रन बनाएको थियो । दिल्लीका लागि अभिषेक पोरलले ४९ रन बनाए भने कप्तान अक्षर पटेलले अन्तिम क्षणहरूमा १४ बलमा ३४ रनको विस्फोटक इनिङ खेले । अक्षरले बलिङमा पनि प्रभाव जमाउँदै २३ रन खर्चेर एक विकेट लिए ।

राजस्थानका लागि यशस्वी जयसवाल र कप्तान सञ्जु सामसनले ६१ रनको बलियो सुरुवात गरे । सामसनले १९ बलमा ३१ रन बनाएका थिए, तर उनी रिटायर्ड हर्ट भएपछि टोलीको लय केही खस्कियो । जयसवालले ३७ बलमा ५१ रन र नितिश रानाले २८ बलमा ५१ रन जोडे पनि जित दिलाउन पर्याप्त भएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =