नीति निर्माण र कार्यान्वयन तथा पुनर्निर्माणमा तिब्रता

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विगतमा रोकिएका विपद् पछिको पुनर्निर्माण कार्यलाई तीव्रता दिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा आएका कार्यकारी प्रमुख भीष्मकुमार भुसालले पद सम्हालेको ९० दिनमा विपद्पछिको पुनर्निर्माण, राहत वितरण तथा अस्थायी आवास गृह निर्माण र क्षति संकलनमा उल्लेख्य प्रगति हासिल गरेका हुन् ।
विगतमा रोकिएका विपद् पछिको पुनर्निर्माण कार्य, राहत वितरण, नीति निर्माणदेखि आपतकालिन सामग्रीहरूको गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण लगायत र क्षति आँकलनका कामले तीव्रता पाएका छन् ।
२०७९ र २०८० सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण र पुनस्र्थापनालाई तीव्रता दिँदै जाजरकोट, अछाम र बझाङ जिल्लामा ‘जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाई’ स्थापना गरि काम गरिएको छ ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका आपत्कालीन सामाग्रीका गोदामहरू पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । भुसालले सिईओ पद सम्हाले यता पश्चिम नेपाल भूकम्प तथा बाढीजन्य विपद् पुनर्निर्माण तथा पुनर्लाभ योजना २०८१/८२–२०८३/८४ स्वीकृत भएको छ ।
सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, निजी आवास पुनर्निर्माण अनुदान कार्यविधि, सञ्चार रणनीति, आपत्कालीन गोदाम सञ्चालन कार्यविधि लगायत नीति निर्माणमा समेत प्राधिकरणले उल्लेखनीय प्रगति गरेको छ ।
न्युज एजेन्सी नेपालका संवाददातासँग संक्षिप्त कुरा गर्दे प्राधिकरणका कार्यकारी प्रमुख भुसालले अधिकार सहितको सिईओको २ महिना र नेतृत्वको ३ महिनाको समयमा लामो समयदेखि अड्किएका थुप्रै काम सम्पन्न गरिएको बताए ।
उनले भने ‘प्राधिकरणमा मेरो नेतृत्वको ९० दिन र अधिकार सहितको सिईओको ६० दिन काम गर्यौ । यसमा विगतदेखि अड्किएका डोटी, बझाङ र जाजरकोट भूकम्पको विस्तृत क्षति आँकलन, दोस्रो र तेस्रो किस्ता वितरण, स्थायी आवास पुर्ननिर्माणका र मनसुनजन्य विपद् पछिको पुनर्निर्माणको खाका तयार गर्नुपर्ने थियो । यसभन्दा धेरै पहिले देखिका मनसुनजन्य विपद् , आगलागीजन्य विपद्मा घर वास गुमाएका व्यक्तिहरूको आवासको पुनःनिर्माणको रकम वितरण पनि बाँकी रहेको अवस्था थियो । हामीले काम सुरु गर्ने बेलामा ७७ सालमा पहिलो किस्ता लिएर अर्को किस्ता लिन बाँकी रहेका विषयहरू पनि थिए । ती सबै कुराहरूलाई सम्पन्न गर्ने प्रक्रिया सुरु गर्यौँ । डोटी भूकम्पको किस्ता वितरण सुरु गर्यौँ, जाजरकोट भूकम्पको करिब १७ हजार घर परिवारका विस्तृत क्षति आँकलन भइसकेको छ । अहिले पनि ९८ जना इन्जिनियरहरू फिल्डमा नै काम गरिरहनुभएको छ । हामीले ढिलोमा वैशाख १५ मा काम सकाउने लक्ष्य राखेका छौ । स्थानीय, प्रदेश सरकारलाई बलियो बनाउनका लागि स्थानीय विपद् तथा जलवायु उत्थानशिल कार्य ढाँचा तयार गरेर पालिकाका लागि गाईडलाईन बनाउनुको साथै विपद् स्वयम् सेवकको तालिमका लागि आधारभूत पाठ्यक्रम पनि बनाएका छौ । यसैबीचमा मनसुनजन्य विपद् र समग्र विपद्को पुर्नलाभ कार्य ढाँचा पास भएको छ । यो ढाँचा पास भएपछि गएको मनसुनजन्य विपद्मा क्षति भएका ठूला ठूला पुल र सडकको पुनर्निर्माणको काम सुरु भइसकेको छ । समग्रमा विगतको विपद्को पुनर्निर्माण र मनसुनजन्य विपद्को पुर्ननिर्माणका अड्किएका कामहरु सबै सुरु भएका छन् । आपतकालिन सामान राख्ने गोदामघरहरु पनि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने काम भएको छ । स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउँदै लैजाने र सबै विपद्मा विगत देखि रोकिएका कामहरूलाई सम्पन्न र सुचारु गर्ने कामहरु यो बिचमा भएका छन् । ’
भुसालको नेतृत्वको समयमा डोटी भूकम्प प्रभावित ९ हजार ६८२ लाभग्राही पहिचान गरी अनुदान सम्झौता गरिएको छ । माघ २ गते डोटीबाट र फागुन २२ र २४ गते क्रमशः डडेल्धुरा र अछामबाट पहिलो किस्ता वितरण गरिएको थियो ।
जाजरकोट भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षति आँकलन तीव्र गतिमा भइरहेको छ । अहिलेसम्म १७ हजार घरहरूको विस्तृत आँकलन पूरा भइसकेको छ ।
सुरक्षा निकाय, सामुदायिक वन उपभोक्ता समिति, नगर प्रहरी लगायतलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी तालिम सञ्चालन र लमजुङको पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन समेत प्राधिकरणले गरेको छ ।
भुसालको नेतृत्वमा प्राधिकरणले पुनर्निर्माण तथा पुनस्र्थापना योजनाअनुसार बजेट निकासा र कार्यान्वयन प्रक्रिया समेत अघि बढाइरहेको जनाएको छ ।
यसैबीच सरकारले सोमवार प्राधिकरणको कार्यकारी प्रमुखमा नेपाली काँग्रेसका महासमिति सदस्य दिनेश भट्टलाई नियुक्त गरेको छ ।
उनले पदभार सम्हाल्न बाँकी छ । यसअघि अनिल पोख्रेलको कार्यकाल सकिएपछि सरकारले सहसचिव भुसाललाई प्राधिकरणको कार्यकारी प्रमुख बनाएको थियो ।








