हाम्रो लडाईं सरकारसँग हो, राजावादीहरुसँग होइन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी माओवादी र जनताको र समाजवादी गणतन्त्रसम्म लैजान चाहनेको बीचमा ठूलो वैचारिक संघर्ष रहेको जिकिर गर्दै यसको फाइदा प्रतिगामीहरुले उठाइरहेको जिकिर गरेका छन् ।

उनले वैचारिक संघर्षको फाइदा उठाएर राजावादीहरुले राजतन्त्र फर्काउन सकिन्छ की भनेर प्रयास गरिरहेको बताए ।

राजावादीहरुसँग भन्दा पनि आफूहरुको मुख्य लडाईं अहिलेको यथास्थितिवादी, दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग र विचौलियाहरुको गठबन्धनसँग रहेको बताए ।

वर्तमान गठबन्धन जनताको हक हितका बिरुद्ध, सुशासनका बिरुद्ध, सामाजिक न्यायका बिरुद्धको भएको आरोप लगाए ।

उनले भने– ‘यो गणतन्त्रलाई हामी क्रान्तिकारी माओवादी र अरु सबै सच्चा कम्युनिष्टहरु पनि यसलाई जनताको गणतन्त्र, समाजवादी गणतन्त्रसम्म लैजान चाहनेको बीचमा निकै ठूलो वैचारिक संघर्ष छ । यही वैचारिक संघर्षबाट फाइदा उठाएर राजावादी तत्वहरुले पनि यही बेला राजतन्त्र फर्काउन सकिन्छ की भनेर धमिलो पानीमा माछा मार्ने भनेको जस्तो उनीहरुले प्रयास गरेका छन् । तर मुख्य लडाईं हाम्रो यथास्थितिवादी, दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग र विचौलियाहरुको गठबन्धन अहिले काँग्रेस र एमालेको गठबन्धन भनेको गहिरिएर वर्गीय रुपले हेर्दा सैद्धान्तिक र वर्गीय रुपले तपाईंहरुले राम्रोसँग हेर्नुभयो भने, दलाल, नोकरशाही पुँजीपति र विचौलियाहरुको गठबन्धन हो । यो जनताको हक हितका बिरुद्ध, सुशासनका बिरुद्ध, सामाजिक न्यायका बिरुद्धको गठबन्धन हो । मुख्य लडाईं यहाँ परेको छ । यसबाट फाइदा उठाएर प्रतिगामी, प्रतिक्रियावादीहरुले केही फाइदा लिन सकिन्छ की भनेर आएका छन् ।’

अध्यक्ष दाहालले अब माओवादी आफ्नै एजेण्डा, वर्ग, समुदायमा केन्द्रित हुने दाबी गरे । उनले आगामी दिनमा माओवादीले एमाले र काँग्रेससँग समीकरण नगरी निर्वाचन लड्ने घोषणा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =