‘राजालाई देश निकाला गरौँ, नभए स्पेश दिऔँ’
क्यान्सरका रुपमा रहेको राजतन्त्रको बेलैमा अप्रेशन गरिनुपर्नेमा जोड

काठमाडौं । नेपालमा दुई सय ४० वर्षे राजतन्त्र अन्त्य भएको डेढ दशक बितिसकेको छ । राजसंस्था पुन:स्थापनाको माग गर्दै गत फागुन २५ (आइतबार) संघीय राजधानी काठमाडौंमा राजावादीहरूले प्रदर्शन समेत गरे । राजतन्त्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उक्त प्रदर्शनलाई ‘ट्रेलर’ मात्रै भएको बताएको छ ।
यता गणतन्त्रवादीहरू भने राजतन्त्रको पक्षमा प्रदर्शन भएपछि झस्किएका छन् । अहिले गणतन्त्रवादी दलहरू एक ठाउँमा उभिनुपर्ने अवस्थाको सिर्जना भएको छ । गणतन्त्रवादी दलहरू चिहानमा पुगिसकेको राजतन्त्र फेरी फर्किन नसक्ने बताउँछन् । यसैबीच राजतन्त्रको विषयमा केन्द्रित रहेर मकालुखबरले राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाईँसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश:-
पछिल्लो पटक गणतन्त्र खारेजी र राजसंस्था पुन:स्थापना अझ भनौँ पूर्वराजाको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ । यसलाई कसरी लिनुभएको छ ?
राजतन्त्र भन्ने विषय चाहिँ देशको राजनीतिमा एउटा ठूलो क्यान्सरको रुपमा रहन्छ जस्तो मलाई लाग्छ । राजाको व्यवस्थापन गर्नुपर्छ की त राजालाई निकालानै गरिदिनुपर्यो । त्यो शक्ति चाहिँ सरकारले राख्नुपर्यो । गणतन्त्र स्थापना भएको डेढ दशक बितिसक्दा पनि राजा सलबलाउनुपर्ने आफैँमा अनौठो कुरा हो । किनभने राजतन्त्रले देशलाई अघि बढाउन नसकेको भन्दै फ्याँकिएको हो ।
हिजोको निरङ्कुश राजतन्त्र थियो,जुन ४६ भन्दा अगाडि पञ्चायती व्यवस्थामा । पञ्चायती व्यवस्थामा राजतन्त्र जहानियाँ भयो राजतन्त्र चाहिँ निरङ्कुश भयो र यसले देशको उन्नति गर्न सकेन,देशलाई प्रगतिमा लान सकेन भनेर त्यो निरङ्कुश राजतन्त्रको विरुद्धमा चाहिँ ४५/४६ को आन्दोलन गरियो । त्यसपछि राजाको शक्तिहरु काटियो र राजालाई संवैधानिक बनाएर राखियो । संवैधानिक राजा बनाएर राखेपनि देशले कोल्टो फेर्न सकेन । फेरी ६ महिनामा,९ महिनामा,८ महिनामा,११ महिनामा वर्षदिन टिकेको सरकार छैन ४७ देखी ६३ सम्म । त्यसपछि पञ्चायतको विरुद्धमा आन्दोलन गरेर प्रजातन्त्र आइसकेपछि देशको राजनीति बिग्रियो । पञ्चायती व्यवस्थाकै मसियाहरु सूर्य बहादुर थापा,लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाएको इतिहास छ नि ! कमल थापाहरू पटकपटक मन्त्री बनाएको पनि इतिहास छ नि !
पञ्चायतीहरूकै सेरोफेरोमा राजनीति पुग्यो त्यतिबेला । त्यसपछि गएर माओवादी आन्दोलन भयो । माओवादीको उठान र बैठान भारतले गर्यो । फेरी माओवादीलाई शान्ति प्रक्रियामा ल्याइयो । त्यसपछि ६२र६३ को आन्दोलनमा ज्ञानेन्द्रको जुन ‘कु’ भएको थियो । ज्ञानेन्द्रको ‘कु’ गलत थियो । ज्ञानेन्द्रले महेन्द्र शैलीमा जाने प्रयास गरे । ज्ञानेन्द्रले पुरानैतिर फर्कने प्रयास गरे । जसले गर्दा ज्ञानेन्द्रको विरुद्धमा जनता सडकमा आए । २०६२र०६३ को आन्दोलन भयो । त्यो पनि भारतबाटै संयोजित थियो । किनकि माओवादीहरूलाई पनि पठाइएको थियो । उनीहरु भूमिगत थिए,तर आन्दोलनमा सहभागी थिए । १२ बुँदे सम्झौता दिल्लीमा गरियो । अनि माओवादीहरू शान्ति प्रक्रियामा आए । त्यसपछि २०६५ मा राजतन्त्रलाई फालेर गणतन्त्रको स्थापना गरियो । त्यसपछि यो डेढ दशकको बिचमा गणतन्त्रले देश र जनता,मुलुक र माटोको लागि स्मरणीय काम गर्न सकेन ।
बहुदल आएपछि नवउदारीकरणको नाममा पञ्चायतले स्थापना गरिदिएका उद्योग धन्धाहरू कौडीको भाउमा बेचियो । पञ्चायतकै पालमा शिक्षा देशमुखी माटोमुखी थियो । बहुदलभन्दा अगाडि नेपालीहरू खाडी मुलुक तिर गएको हामी पाउँदैनौँ । हो, केही नेपाली भारतमा जाने गर्दथे । नत्र भने खाडी मुलुक र विदेश जाने चलन थिएन । र त्यो पनि पछि ह्वात्तै बढ्यो । माओवादी पनि एउटा कारण हो युवाहरूलाई विदेश पठाउनेमा । यसर्थमा की देशमै केही गर्ने हो भने त माओवादीमा लाग्नुपर्ने अवस्था थियो । युवाजति बाहिर गए,गणतन्त्रले पनि रोजगारीको अवस्था सिर्जना गर्न सकेन । युवाहरुलाई आकर्षण गर्न गणतन्त्रले सकेन र कुनै पनि मेगा प्रोजेक्ट सञ्चालन पनि गर्न सकेन ।
राजनीतिक अस्थिरताको भार मात्रै बोकेर हिँडिरह्यो । जनताले त केही पनि पाएनन् । नपाएपछि हिजो राजतन्त्र भोग्दै नभोगेको पीढी पनि अहिले राजतन्त्रको पक्षमा गएको छ । यसको अर्थ राजालाई समर्थन गर्ने भन्ने किसिमले बुझिनु हुँदैन । अस्ति राजाको स्वागतमा खटिएकाहरू सबै राजावादीहरू हुन् भनेर बुझ्नु हुँदैन । ती सबै राजावादी होइनन् । ती राजावादी होलान् नहोलान् एउटा पाटो हो तर,वर्तमान मूल धारका पार्टीसँगका असन्तुष्ट चाहिँ पक्का हुन् । राजनीतिक दलबाट असन्तुष्टहरू पक्का हुन् । त्यसको आवाज मुखरित भएको जस्तो मलाई लाग्छ ।
पूर्वराजाको पक्ष लिँदै हजारौँको संख्यामा नागरिक नै सडकमा ओर्लिए । यो अवस्था कसरी आयो ?
यसले सरकारलाई चाहिँ अलिकति भएपनि ‘शक’ चाहिँ भएको छ । शक हुनुपर्छ । सरकार र मूलधारका पार्टीहरू विशेषतः नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस र नेकपा एमालेलाई सोच्न बाध्य बनाएको छ । किन त्यत्रो जनलहर ज्ञानेन्द्रलाई चिहानमा गाडी सकेको भनिएको राजतन्त्रको पक्षमा किन गयो ? भन्ने कुरामा शक चाहिँ राजनीतिक दललाई दिएको जस्तो मलाई लाग्छ । पूर्वराजाको पक्षमा भएको प्रदर्शनले तिमिहरू (राजनीतिक दल) संग हामी सन्तुष्ट छैनौँ भन्ने संकेत नै हो ।
गणतन्त्रको सूत्रधार हौँ भन्ने माओवादीहरू त्यहाँ गएका छैनन् । त्यहाँ गएका भनेका कांग्रेस,एमाले र जनता हुन् । तिम्रो कार्यशैलीबाट सन्तुष्ट छैनौँ र गणतन्त्रको नाम धारणा गरेर डेढ दशक भन्दा बढी समय देशमा बिताउँदा पनि देशलाई प्रगतिको बाटोमा लान सकेनौँ,देशमा उद्योग धन्धा सञ्चालन गर्न सकेनौँ । भएका उद्योग धन्धाहरू बेचेरै खायौँ, युवाहरूको मसल बेचेरै खायौँ । आज गाउँ रित्तो बनाइदिएका छौँ । युथलेस र टुथलेस बनेको छ आज गाउँ । मलामी जाने मान्छे छैन,रोजगारीको अवसर छैन । तिमीहरू व्यक्तिगत स्वार्थमा रम्यौँ । जनताको हालत दिनानुदिन बिग्रिँदै गयो । तिमिहरूले परिवर्तन ल्याउन सकेनौँ । त्यसकारण तिमि भन्दा राजतन्त्र नै ठिक छ भन्ने चेतावनीका रुपमा एउटा मास गएको भन्ने मलाई लाग्छ । राजतन्त्रको पक्षमा भन्दा पनि सरकार र मूलधारका पार्टीहरूलाई चेतावनी दिनका लागि जनलहर त्यहाँ गएको होलाजस्तो मलाई लाग्छ ।
राजा आऊ देश बचाउ भन्दै प्रदर्शन भइरहेको समयमा पूर्वराजाले देश बचाउन सक्लान् ?
पूर्वराजाले देश बचाउन सक्ने र नसक्ने अर्को पाटो छ । यी राजाको अघिल्लो इतिहास त्यति धेरै शुद्ध र राष्ट्र, जनताप्रति समर्पित इतिहास बोकेर आएका यी होइनन् फेरी । राजतन्त्रका विरुद्ध राजा संविधानभन्दा माथि हुँदाखेरी,राजपरिवार संविधानभन्दा माथि रहने व्यवस्था हुँदा खेरी राजाका विरुद्ध बाहिर बोल्न नसकिँदा नसकिँदै पनि मूर्ति काण्डदेखि धेरै काण्डसँग जोडिएका हुन् । तर,राष्ट्र र राष्ट्रियताको सवालमा अहिले भइरहेका बहुदलका पार्टीहरू भन्दा राजतन्त्र अलि बलियो हो की भन्ने चाहिँ देखिन्छ । यसर्थमा की राजाहरूले यो मुलुकलाई आफ्नो निजी सम्पत्ति जस्तो सोच्ने गर्दछन् । आफ्नो परिवारको मुलुक हो यो भन्ने सोच्ने हुँदा उनीहरूलाई राष्ट्रपतिको प्रेम अलि बढी हुने गर्दछ । त्यसो भन्दैमा राजा आए पछि पनि देश बचाउँछन् भन्ने छैन । ज्ञानेन्द्रसँग त्यत्रो के सुपर पावर छ र उनले चाहे देश बचाउने नचाहे नबचाउने । फेरी पनि भने राजनीतिक दलहरूप्रतिको असन्तुष्टिको आवाज राजतन्त्रमा ओर्लिएको हो ।
राजनीतिक दलहरूले गरेको कमजोरीको फाइदा उठाउँदै राजतन्त्रको पक्षमा प्रदर्शन भएको हो भन्ने पनि छ । यसमा तपाईँको धारणा के छ ?
सही कुरा भन्नुभयो । राजनीतिक पार्टीहरूले सत्तामा गएर पटकपटक शासनसत्ता हाँके । कांग्रेस,एमाले सहित सबैभन्दा बढी पटक सत्ता गएको पार्टी भनेको माओवादी हो । अहिले प्रचण्डले नै वर्तमान सरकारकै कारण राजावादीहरू सक्रिय भएका हुन् भनिरहँदा प्रचण्ड सत्ताबाट हटेको ६ महिनामै असन्तुष्टि बढेको हो त ? के ६ महिनाकै प्रोडक्सन हो यो ? त्यस्तो त होइन नि । यसमा बढी जिम्मेवारी त माओवादी पार्टी छ । यो देशको राजनीति २०५२ सालदेखि अहिले सम्मको राजनीति प्रचण्डलाई केन्द्रमा राखेर चलेको छ । माओवादी सशस्त्र जनयुद्धको समयमा पनि प्रचण्डले के निर्णय गर्छन् भनेर त्यो बेलाको उथलपुथल,सरकारका नीति, नियम, योजनाहरु बन्ने गर्दथे ।
०६३ पछि उनी ठूलो पार्टीको प्रधानमन्त्री नै बने । त्यसपछि निर्माण भएका हरेक सरकारमा माओवादीको सहभागिता रह्यो । यसरी हेर्दा माओवादी यसको जबाफदेहिता दिनुपर्नेमा पछिल्लो पटक सरकारबाट हटेपछि यो अवस्था आयो भन्नु भनेको राजनीतिक दृष्टिकोण कति छोटो छ भन्ने संकेत हो यो । राजनीतिक दलहरू राम्रा काम गर्न सकेनन् । मुलुक र माटोको लागि,जनताका लागि कुनै पनि किसिमको कार्यक्रम ल्याउन सकेनन् । र देशलाई हिजो भन्दा आज यो अवस्थामा राम्रो छ । यस सूचकमा देश राम्रो छ भनेर त्यसरी अगाडि बढाउन नसकेको हुँदा दलहरूसँगको असन्तुष्टिका कारण बरु राजतन्त्र केही गथ्र्योकी भनेर मानिसहरु राजतन्त्रको पछि लागेका हुन् ।
युवाहरू पनि राजतन्त्रको पक्षमा किन ?
यो बडो गम्भीर प्रश्न हो । हो, हिजो हिन्दु धर्ममा विश्वास गर्नेहरू, किनकि राजा हिन्द धर्मसँग गाँसिएको छ । राजालाई पहिला भात चढाएपछि मात्रै खाना खाने जुन हिन्दु धर्म अन्तर्गत राजालाई विष्णुको अवतार मान्ने तिनीहरू राजाको पछाडि लाग्नु स्वाभाविकै मानिएला । तर, अहिले २१ औँ शताब्दीका युवाहरू किन राजाको पक्षमा गए भन्ने यो गम्भीर प्रश्न हो । एउटा कुरा त देशमा युवा नै छैनन् । युवाहरू सबै विदेशमा छन् । यहाँ भएका थोरै युवाहरू स्वदेशमा भएपनि ती युवालाई राजतन्त्र कस्तो थियो थाहा नै छैन ।
हिजो राजाको पालमा हामीले गणतन्त्र भनेर बोल्ने बित्तिकै गोली खानु पर्थ्यो की पर्दैनथ्यो ? तर आज गणतन्त्रको समयमा राजावादीहरूले बोल्दा छुट पाएका छन् नि । यो एउटा स्वतन्त्रको कुरा त हो नि । अहिलेको युवाहरूलाई राजतन्त्रको समयमा कस्तो थियो थाहा नै पाएनन् । राजतन्त्रको समय कस्तो थियो भनेर बुझ्दै नबुझेका व्यक्तिहरू अहिले युवा बनेका छन् । दमन र स्वतन्त्रको हिसाबमा हिजो कस्तो थियो भनेर अहिलेका युवाहरूले बुझेकै छैनन् । ज्ञानेन्द्रले ‘कु’ गर्दाखेरी देशमा के भयो लगायतका कुराहरू अहिलेका युवाहरूलाई थाहा छैन ।
ती अघिल्ला कुराहरू थाहा नपाएका युवाहरूले वर्तमान हेरे । र सन्तुष्ट भएनन् । गणतन्त्र आइसकेपछि राजनीतिक अस्थिरता भयो । विभिन्न काण्डहरू देखे । ४६ साल पछि बहुदलबादीहरुले शासन गरे । र ०६३ पछि गणतन्त्रवादीहरूले शासन गरे । यो शासन कालमा काण्डैकाण्डमा देश फस्यो । राजतन्त्रको झुन्ड त अहिले छदैछ । उद्योग खोलिएको रैछ नि,पूर्वपश्चिम राजमार्ग बनाएको रहेछ नि । ओहो राजतन्त्रले ठिक गरेको रहेछ भनेर राजाले ठिक गरेको रहेछ भनेर त्यसको प्रभावमा परेर राजाको पक्षमा बोल्नु पुगेका हुन्,युवाहरू ।
यसरी राजावादीहरूले प्रदर्शन गरिरहेको बेला सरकारले पूर्वराजासँग संवाद गर्नुपर्छ की पर्दैन ?
राजा पनि एउटा शक्ति हो भन्ने कुरा करिब करिब स्थापित भएको अहिलेको अवस्थाले देखाउँछ । कित यो राजतन्त्रलाई टुङ्गो लगाउनुपर्यो । कित देशबाट निकाला नै गर्नुपर्यो । राजतन्त्रको बारेमा बोल्नै नपाइने हुनुपर्यो । राजालाई कि त देश निकाला गरेर कि स्पेस दिएर राजाको व्यवस्थापन गर्नुपर्छ । होइन भने नेपालको राजनीतिमा यो राजा भन्ने शब्द क्यान्सर भएर रहिरहन्छ । कुनै पनि बेला विस्फोट भएर आउन पनि सक्छ । नेपालको राजनीतिको अस्थिरताको एउटा कारक भनेको यो राजा पनि हो । आवश्यक पर्दा राजालाई उचाल्ने देशी र विदेशी शक्तिहरु छन् ।
देशी विदेशी शक्तिहरूले कुनै पनि बेला राजालाई उचालेर देशमा दुर्घटना गराइदिनसक्छन् । त्यसकारण राजालाई कित देश निकाला गर्नुपर्छ कित राजालाई स्पेस दिनुपर्छ । राजतन्त्रको बारेमा जनमत संग्रह आवश्यक छ । राजतन्त्रको अप्रेसन भनेको जनमत संग्रह नै हो । राप्रपा, दुर्गा प्रसाईँका कारण राजा सलबलाएको र बलियो बनेको होइन । यो कुरा बुझ्नुपर्दछ । राजा बलियो बन्नुमा बाह्य प्रभाव छ । बाह्य प्रभावमा भारत र भारतको पनि भारतीय जनता पार्टी भाजपा) त्यसमा पनि उत्तर प्रदेश र विहारको प्रभाव छ । नेपालका राप्रपा,दुर्गा प्रसाई भनेका बाहिर देखाउने खेताला मात्रै हुन् र राजाको मुख्य शक्ति भनेको भारत हो ।
भनेपछि भारतले नेपालमा राजतन्त्र ल्याउन चाहेको छ ?
पक्कै पनि भारतले नेपालमा राजतन्त्र ल्याउन चाहेको छ । गणतन्त्र स्थापना गर्ने बेलामा पनि करण सिंह नेपालमा आएर राजतन्त्र नफ्याँक भनेर भनेका थिए । तत्कालीन बेला माओवादीको रजगज हुँदा खेरी त्यो बेला नसुनेका हुन् । भारतको भारतीय जनता पार्टी (भाजपा) जो सत्ताधारी पार्टी हो,त्यो चाहिँ नेपालमा राजतन्त्र पुन:स्थापित गराउन चाहन्छ । यही विषयलाई भारतले बेलाबेलामा उचाल्ने काम गरेको छ । गणतन्त्रवादीहरू सबै एक ठाउँमा आउनुपर्नाको कारण त त्यो हो नि । कहाँ गणतन्त्रवादीहरू राप्रपा र दुर्गा प्रसाईंलाई देखेर एकै ठाउँमा आएका हुन् त । होइन नि यसमा त भारत खेलेको छ नि । पूरै भारतबाट सञ्चालित छ ।
भारतको प्रभाव नेपालको आन्तरिक राजनीतिमा २००७ साल बाट नै पर्दै आयो । राणाहरूले १०३ वर्ष सम्म ब्रिटिसइन्डियाको आडमा नेपालमा शासन गरे, जब ब्रिटिसले इन्डिया छाड्यो राणा शासन टिक्न सकेन। ब्रिटिस हिँडेपछि नेहरु को आड लिन खोजे राणाले र आफ्नो सत्ता टिकाउन १९५० को असमान सन्धिमा ल्याप्चे लगाए । ल्याप्चे लगाउना साथ नेहरुले राणा लाई छोडिदिए। २००७ को परिवर्तनको मस्यौदा नै दिल्लीमा तयार भयो । राणा शासनको अन्त्य पछि श्री गोविन्दनारायण लाई भारतीय दूतावासको अतिरिक्त नेपालको राजदरबार मा समेत नियुक्ति गरियो भने अर्का राजदूत सिपिएन सिङले त मन्त्री मण्डल हेरफेर गर्न समेत दिल्लीलाई सिफारिस गर्थे । भारतीय सैनिक मिसन समेत काठमाडौंमा राखिएको थियो, तिब्बत-नेपाल सिमानामा समेत १७ वटा भारतीय सैनिक चेक पोस्टहरू थिए पछि कालापानी बाहेकका चेकपोस्ट महेन्द्रले हटाए ।
२०१७ मा प्रजातन्त्रमाथि महेन्द्रले ‘कु’ गर्दा वा बिपी थुन्दा होस, वा ०४५/४६ आन्दोलनलाई सघाएर बहुदल ल्याउन होस्, बहुदलकाल भरी सरकार परिवर्तन गराउन होस् वा माओवादीलाई शरण दिँदा, शान्तिवार्तामा ल्याउँदा, १२ बुँदे सम्झौता गराउँदा, ज्ञानेन्द्र फाल्दा, माओवादीको बहुमतको सरकार ढाल्दा, मधेसी आन्दोलन उचाल्न लगायतका काम भारतले गरेको छ र अहिलेको राजा उचाल्ने काममा पनि भारतको आडमा नेपालका सरकार विरोधी विशेषतः राप्रपा र दुर्गा प्रसाईं समूह उचालिएको हुन सक्छ । गणतन्त्रको सूत्रधार भनेर दाबी गर्ने माओवादी पार्टी नै यस विषयलाई टुङ्गोमा पुर्याउन अग्रसर हुनुपर्छ । माओवादी आफैँ मोदी प्रभावमा छ, बेबि किङका प्रस्ताव ल्याउने काङ्ग्रेसका कोइराला समूह त राजाप्रति नरम रहेको कुरा सार्वजनिक नै छ ।
भारतले नेपालमा राजतन्त्र चाहिरहँदा चीनको पनि राजतन्त्र पुन:स्थापनामा समर्थन रहला ?
चीन भनेको व्यापारिक देश हो । चीनको कुरा गर्दा खेरी राजतन्त्रसँग चीनको राम्रो सम्बन्ध रह्यो । वीरेन्द्रको पालामा राजतन्त्र र चीनको सम्बन्धलाई स्वर्णीमकालको रुपमा लिन सकिन्छ । चीनले कहिल्यै पनि राजतन्त्रको विरोध गरेन क्या । चीनले कहिल्यै पनि राजाको विरोध गरेन । चीनले एउटा शक्ति खोज्छ जोसँग डिल गर्न पाइयोस् । चीनको चिन्ता भनेको तिब्बतको सुरक्षा हो । चीनले एउटा स्थिर शक्ति खोज्छ । त्यो शक्ति भनेको जो भएपनि हुन्छ । चीन राजतन्त्र विरोधी होइन । इतिहास देखी नै २०६२/०६३ सम्म चीनको राजतन्त्र बलियो मित्र थियो । तर जब राजा कमजोर भए त्यसपछि चीनले चट्ट छोडेको हो, राजतन्त्रलाई हो । तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई चिनियाँ राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएर गणतन्त्रवादी देखिएको हो । त्यसकारण चीन चाहिँ अवसरवादी हो । तर, चीन राजतन्त्रको विरोधी चाहिँ होइन । यदि भारत र चीन कुनै पनि पक्षमा एकमत भए भनेदेखि नेपालको प्रणाली,सत्ता हरेक कुरा छोटो समयमै परिवर्तन हुन्छ ।
यसरी हेर्दा हामी कतै विदेशी चक्रव्युमा परेका त होइनौँ भन्ने पनि प्रश्न आउँछ । यस विषयमा के भन्नुहुन्छ ?
हामी भारत र चीनको मात्रै होइन पश्चिमा देशको पनि चक्रव्युमा परेका छौँ । बाह्य राजनीतिको चक्रव्युहमा फस्दै गएका छौँ । राजतन्त्र एउटा विषय हो । राजतन्त्र जस्ता अन्य धेरै विषयहरू नेपालमा पड्किनसक्छन् । किनभने हामी आज अन्तर्राष्ट्रिय राजनीतिको चक्रव्युमा फसेका छौँ । सबैभन्दा महँगो संघीय शासन प्रणाली हामी गरिब देशले अवलम्बन गरिरहेका छौँ ।
अन्तिममा केही भन्न चाहनुहुन्छ ?
राजा भन्ने विषयलाई लिएर बाह्य शक्तिहरु फेरी पनि चलखेल गर्न सक्छन् । र देशमा ठूलो दुर्घटना पनि निम्त्याउन सक्छन् । त्यसकारण यो राजा भन्ने विषयलाई बेलैमा सम्बोधन गरेर यसको व्यवस्थापनबारे गणतन्त्रवादी नेताहरूले टुङ्गोमा पुर्याउन अनिवार्य आवश्यक छ । होइन भने कुनै पनि बेला राजालाई उचालेर यो देशमा ठूलो दुर्घटना आउन सक्छ । यो विषयलाई गणतन्त्रवादी दलहरूले नजरअन्दाज नगरुन् । किनकि राजासँग राजा मात्रै नभएर विदेशी शक्तिहरु पनि चलखेल गरिरहेका प्रष्ट देखिन्छ । जबकि, आदित्यनाथको फोटो समेत लिएर राजासँग हिँडिन्छ भनेदेखि दिल्लीका हिन्दुवादीहरू राजासँग खेलेका छन् भन्ने प्रष्ट देखिएको हुँदा यो ठूलो खतराको संकेत हो । त्यसकारण यो राजतन्त्रको शीघ्र टुङ्गो लगाइयोस् ।
Great moment to talk to journalist !!!