जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा छैनौँ, हामी आफैँसँग विचार छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरू नरहेको टिप्पणी गरेका छन् ।

सोमवार गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा स्वागतका लागि जम्मा भएका राजावादी समर्थकहरूले आफ्नो प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेका थिए । उनले असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धति विरोधी र प्रणाली विरोधी कुरामा लाग्न आफूहरूलाई फुर्सद नभएको समेत बताए ।

उनले दरबार हत्याकाण्ड अझै सम्झिरहेको उल्लेख गर्दै बीभत्सतामा आएका संस्थाका सर्मथकहरुका क्रियाकलाप यस्तै हुने बताए ।

प्रधानमन्त्री ओलीले भने ‘हामी एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नुपर्ने दयनीय हालतमा छैनौँ । हामी आफैँसँग विचार छ, आफैँसँग नेता छन् । हामी यसको दृष्टान्त दिनसक्छौं । हामी आफैँले गरेका छौं । त्यसमा केही भयो भने केपी ओलीले मान्छे घुसायो भन्नुहुन्छ, त्यो जुलुस नै मैले गराइदेको हो, भयो । हामी आफ्नै कुरामा छौं । यस्ता फाल्तु, असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धति विरोधी, प्रणाली विरोधी कुरामा हामी लाग्नु हुँदैन । दरबार हत्याकाण्ड हामीले सम्झेका छौं । यो बीभत्सतामा आएका संस्थाहरूका समर्थकका क्रियाकलापहरू यस्तै हुन्छन् । यसमा धेरै नजाऊँ, छोडिदिऊँ ।’

आफूहरू देश बनाउने आफ्नै अभियानमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =