नेपालले हासिल गरेका उपलब्धि विश्वकै महिला आन्दोलनको लागि उदाहरणीय : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तिकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्वकै महिला आन्दोलनको लागि उदाहरणीय भएको बताएकी छन् ।
बिहीबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले नेपालको महिला आन्दोलनका उपलब्धि विश्व समुदायमाँझ गर्व गर्न लायक भएको बताइन् ।
उनले महिला सशक्तिकरणकै कारण नेपाली महिलाहरू मुलुककै सर्वोच्च पद राष्ट्रपतिका साथै प्रधानन्यायाधीश, सभामुख जस्ता उच्च पदमा पुग्न सफल भएको बताउनु भयो । महिला अधिकार र कल्याणका विषय राज्यको प्रमुख प्राथमिकता र दायित्वभित्र पर्दै गएको उनको भनाइ छ ।
उनले भने,‘आज नेपाली महिलाहरू मुलुककै सर्वोच्च पद राष्ट्रपतिका साथै प्रधानन्यायाधीश, सभामुख जस्ता उच्च पदमा समेत पुग्न सफल भएका छन् । यसरी, महिला सशक्तिकरण र लैङ्गिक समानताका क्षेत्रमा हामीले हासिल गरेका उपलब्धिहरू विश्व महिला आन्दोलनकै निम्ति समेत उदाहरणीय बनेका छन् । आज महिला अधिकार, सशक्तीकरण र उनीहरूको कल्याणको विषय राज्यको प्रमुख प्राथमिकता र दायित्वभित्र पर्दै गएको छ भन्न सकिन्छ । म राष्ट्रपति रहेका बखत नेपाल सरकारले थालनी गरेका राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका साथै राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत यातायातका साधन नपुगेका दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारका लागि सञ्चालित हेलिकप्टर सेवा मातृ तथा शिशुको जीवन रक्षाको लागि एउटा राम्रो उदाहरणको रूपमा लिन सकिन्छ ।’
पूर्वराष्ट्रपति भण्डारीले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नुपर्ने बताइन् । उनले लैङ्गिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएकाले दुवै पक्षको समान र सक्रिय भुमिका आवश्यक हुने दाबी गरिन् ।
उनले भनिन्,‘लैङ्गिक समानताको अभिप्राय समान अधिकारका साथै परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु पनि हो । लैङ्गिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले यसका निम्ति दुवैको समान र सक्रिय भुमिका आवश्यक हुन्छ ।’
पूर्वराष्ट्रपति भण्डारीले समाजका सिमान्तकृत समुदायको हित र कल्याणका लागि सामाजिक सुरक्षाको क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी बढाउनुपर्ने बताइन् । उनले युवा जनशक्तिको परिचालनमार्फत स्वदेशी उत्पादन र उत्पादकत्व बढाएर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिइन् ।








