खबर दिनभर : राजतन्त्र ब्युँताउने कुरा स्वीकार्य नहुने, भूमी बाहेकका अध्यादेश पारित, राजावादी सडकमा

राजतन्त्र ब्युँताउने कुरा स्वीकार्य छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ब्युँताउने कुरा स्वीकार्य नभएको बताएका छन् ।

मानवअधिकार रक्षकहरूको पाचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ९मानव अधिकार एलायन्स० को छैटौँ राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

पञ्चायती शासनविरुद्धको आन्दोलनका क्रममा जेल सार्ने बहानामा २०२९ सालको आजकै दिन झापाको सुखानी जङ्गलमा लगेर हत्या गरिएका सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठ तथा अन्य कालखण्डका सहिदहरूलाई सम्झँदै प्रधानमन्त्री ओलीले जनताको अधिकारका लागि लागेकालाई मृत्युदण्ड दिने त्यस्ता शासकका पक्षधरहरूले राजतन्त्र ब्युँताउने कुरा गर्नु स्वीकार्य नभएको बताए ।

उनले मानवअधिकारका लागि आन्दोलन गर्ने दुई ठूला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानवअधिकारको उल्लङ्घन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्त्व दिने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका सहिदहरूको त्याग र बलिदानबाट आज मुलुकमा मानवअधिकार सुनिश्चित भएको उल्लेख गरे ।

दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

दार्चुलाको महाकाली नगरपालिका–२ मैखोलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र–००१–ज–०००५ नम्बरको जिप बुधबार ४ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

दुर्घटनामा जिप चालक महाकाली नगरपालिका–२ का २७ वर्षीय महेश भुलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिपमा सवार सुशान्त भुल र सागर भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिनिधि सभा बैठकबाट पाँच वटा अध्यादेश पारित

बुधबारको प्रतिनिधि सभा बैठकबाट पाँच वटा अध्यादेश पारित भएका छन् । सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश बाहेक पाँच वटा अध्यादेश प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने स्वीकृत भएका भएका छन् ।

सँगै सदनमा प्रस्तुत भएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ‘होल्ड’ मा राखिएको छ ।

अभियानले दक्षिण नेपालमा नयाँ भरोसा जगाउँदैछ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले अघि बढाएको तराई–मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौँं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताएका छन् ।

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानको क्रममा आज महोत्तरीको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले झापाबाट सुरू गरेर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषाहुँदै महोत्तरीसम्म आउँदा लाखौँ जनतामा उत्साह सिर्जना गरेको दाबी गर्नुभयो । उहाँले कञ्चनपुरसम्म पुग्दा दशौँ लाख जनतामा नयाँ विश्वास र भरोसा जागृत हुने विश्वास व्यक्त गरे ।

लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारू गरेपछि योजना अघि बढेको दाबी गरे ।

उनले नेपालमा तीन सय वर्षअघि संस्थागतरूपमा शिक्षाको सुरू भएको र महत्त्वपूर्ण मठ मन्दिर रहेको महोत्तरीको मटिहानी महत्त्वपूर्ण रहेको बताए ।

सरकारले जिरो अंक दिएको विषयमा के भने कुलमानले ?

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई जतिसुकै नम्बर दिए पनि त्यसले फरक नपार्ने बताएका छन्।

प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गतका वितरण केनद्रको कार्यक्षेत्रमा रहेका सडकबत्तीको महसुल भुक्तानी गर्ने पालिकालाई प्रशंसापत्र प्रदान गर्ने कार्यक्रममा बुधबार बोल्दै घिसिङले यस्तो बताएका हुन्। नले आफ्नो कामको मूल्यांकन जनताले गरिरहेको समेत बताए ।

“आज हो कि भोलि हो भन्ने हल्ला तपाईंले सुन्नुभएको होला तर भए पनि अन्तिम समयसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो,मैले ५र६ वटा स्पष्टीकरण दिएँ होला त्यसले माने राख्दैन। मलाई जिरो दिए पनि वा सय दिए पनि त्यसले पनि माने राख्दैन। तपाईंहरूले मेरो कामको मूल्याङ्कन गर्नुभएकै छ, ”उनले भने ।

सरकारले हटाउन खोजेको भन्दै कुलमानको पक्षमा जनतामा सडकमा समेत ओर्लिएका छन् ।

अमेरिकाबाट फर्काइएकालाई आवश्यक सोधपुछपछि परिवारको जिम्मा

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका ९डिपोर्ट भएका० नौ जनालाई आवश्यक सोधपुछ र जानकारी लिएर परिवारको जिम्मा लगाएको छ ।

ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मानव बेचबिखनमा परेर उनीहरु अमेरिका पुगेका हुन् या अन्य कारण छन् भन्ने विषयमा जानकारी लिएर परिवारको जिम्मामा पठाइएको जानकारी दिए ।

प्रहरीका अनुसार पीडितका रुपमा बेचिएर अमेरिका पुगेको भए त्यसरी पठाउने व्यक्तिमाथि बेचखिनमा मुद्दा चलाउनुपर्ने भएकाले ब्यूरोमा ल्याएर सोधपुछ गरिएको हो ।

आवश्यक पर्दा पुनःबोलाएर अनुसन्धान समेत गर्ने प्रहरीले जनाएको छ । आज अमेरिकाले चार्टर विमानमार्फत आठ जना र व्यावसायिक उडानमार्फत एक जना गरी नौ जनालाई नेपाल फर्काएको थियो ।

अमेरिकी अधिकारीहरुले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । त्यसपछि आजै अध्यागमन विभागले प्रहरीको मानव बेचबिखन ब्यूरोमा पठाएको हो ।

कुमारी सहकारी हिनामिना  : जिसस प्रमुखसहित पाँच जना पुर्पक्षका लागि थुनामा

बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

ल्लिा अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आज भएको थुनछेक बहसपछि जिसस प्रमुखसमेत रहेका कुमारी सहकारीका पूर्वसञ्चालक थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रूद्र गुरूङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकबहादुर पुन (लोकेश) लाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

यसैगरी प्रहरी हिरासतमा रहेर बिरामी अस्पतालमा अपचाररत उक्त सहकारीका पूर्वअध्यक्ष थमबहादुर गर्बुजालाई निको भएपछि अदालतमा हाजिर गराउन आदेश भएको जिल्ला अदालत म्याग्दीका स्रेष्तेदार भोलाराज रेग्मीले जानकारी दिए ।

फरार १९ जना जनालाई पक्राउ पुुर्जी जारी गर्ने आदेश भएको छ । मुद्दाका वादी जिल्ला सरकारी वकिल कार्यालयको मागदाबीबमोजिम सहकारी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरेर सहकारीलाई १५ दिनभित्र सञ्चालन गरी अदालतमा जानकारी गराउन पनि आदेश भएको अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले जानकारी दिए ।

सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते रू एक अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दर्ता गरेको थियो ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूविरूद्ध सङ्गठित रूपमा सहकारीमा निक्षेप रहेको शेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋणबापतको रकम, नेपाल सरकारको राजस्वसमेत हानिनोक्सानी पु¥याई सहकारी ऐन, २०७४ को नियमावली २०७५ र संस्थाको विनियमविपरीत कार्य गरेको अभियोगमा मुद्दा चलाइएको हो ।

सहकारीका वर्तमान र पूर्वसञ्चालक समितिका पदाधीकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यलाई विपक्षी बनाइएको छ । वि।सं। २०८१ माघ २० गते पक्राउ परेका पाँच र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरीको हिरासतमा थिए भने र १९ जना फरार छन् ।

छ हजार बचतकर्ता रहेको विसं २०६५ मा खुलेको कुमारी सहकारीको सहकारीको पैसाबाट सञ्चालकहरूले ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानविन र जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

शून्य समयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक, पुल, तटबन्ध, विमानस्थल निर्माण तथा विस्तारदेखि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा पाएका अङ्कका विषयमा सदनमा आवाज उठाएका छन् ।

सभाको बैठकको शून्य समयमा सांसद बिना लामाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राप्त गरेका अङ्कप्रति असन्तुष्टि व्यक्त गरे । ‘घिसिङले बुझाएको कार्यसम्पादन प्रतिवेदन नबुझी आफैँले अङ्क प्रदान गरेकालाई कारबाही गर्नुपर्छ’, उनले भने, ‘यसमा संलग्न कोको छन्, यसको जवाफ चाहियो ।’

सांसद शिशिर खनालले सदन सरकारको छायाँ बन्न नहुने धारणा राखे । उनले भने, ‘संसद् सत्ताको छायाँ बन्न हुँदैन ।’ सांसद श्यामकुमार घिमिरेले बजेट निर्माण गर्न सुरु भइसकेकाले पुराना योजनालाई समेत सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्न सुझाव दिए । सांसद शान्ति विकले काठमाडौँ जोड्ने मझिङटार शक्ति खोर सुरुङ मार्गलाई राष्ट्रिय गौरवको योजनामा राख्न माग गरे ।

सांसद शान्ति श्रेष्ठले डढेलो नियन्त्रणका लागि भएका प्रयास र सम्बन्धित निकायहरूको पूर्वतयारका बारेमा सदनलाई जानकारी गराउन माग गरिन् । सांसद शेरबहादुर कुँवरले उदयपुर सिमेन्ट उद्योग बन्द भएपछि त्यसमा आश्रित श्रमिकको विचल्ली भएको भन्दै उनीहरूले पाउन बाँकी सुविधा उपलब्ध गराउन माग गरे । सांसद शोभा ज्ञवालीले बर्दिया अस्पतालको भवन निर्माणका लागि सङ्घ र प्रदेशबाट आवश्यक बजेट उपलब्ध गराउन माग गरिन् ।

सांसद सन्तोष चालिसेले काठमाडौँ उपत्यकामा बागमतीसँगै बग्ने विभिन्न नदीहरूको सरसफाइ गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । उनले नदीमा ढल नमिसाउन र यसको प्रभाकारी व्यवस्थापन गर्न सुझाव दिए ।

सांसद सरिता भुसालले बर्दघाट औद्योगिक ग्रामको निर्माणका लागि बजेट उपलब्ध गराउन माग गरिन् । सांसद स्वर्णिम वाग्लेले तनहुँको मुग्लिङ नारायणगढ सडकसँग जोडिने घुमाउने दमौली सडकको काम आठ वर्षसम्म गति लिन नसकेको भन्दै ध्यानाकर्षण गराए ।

सांसद शान्ति चौधरीले बर्दिया अस्पतालको पूर्वाधार संरचना निर्माण भइसक्दा पनि आकस्मिक उपचार सेवा सुरु हुन नसकेको बताइन् ।

सांसद सिताकुमारी रानाले दैलेखको पञ्चकोशी तीर्थस्थलमा विकास निर्माणअघि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न ध्यानाकर्षण गराइन् । सांसद सीता मिजारले सडक दुर्घटना न्यूनीकरणका लागि ध्यानाकर्षण गराइन् ।

सांसद सुनिता बरालले सरकारले प्रतिनिधिसभामा प्रस्तुत हुने अध्यादेशलाई समर्थन गर्न आग्रह गरिन् । सांसद सुमना श्रेष्ठले एक तिहाइ पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू नभएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

‘सरकारले एक हप्ताभित्र पदपूर्ति गर्छु भन्ने प्रतिबद्धता गर्नुभएको थियो, त्यो कहाँसम्म पुग्यो’, उनले प्रश्न गर्दै सदनमा जानकारीका लागि सम्बन्धित मन्त्रालयको जवाफ माग गरिन् ।

सांसद सुशीला सिर्पाली ठकुरीले अर्घा भगवती विमानस्थल नौ वर्षसम्म सम्पन्न हुन नसकेको बताइन् । सांसद सुशीला श्रेष्ठले महिलालाई समाजमा स्रोत साधनमाथिको पहुँच र घरमा गरिने कामलाई अर्थतन्त्रमा जोडन आग्रह गरिन् ।

सांसद सुहाङ्ग नेम्वाङले इलामको चियालाई विश्व प्रख्यात चिया फोरममा सहभागिता गराउनुपर्ने सुझाव दिए ।

सांसद सूर्यप्रसाद ढकालले खल्ला, झगडिया, चुकेनाला तटबन्धको वर्षायामअघि नै व्यवस्थापन नभएका झण्डै ६० हजार नागरिक विस्थापित हुने भन्दै पूर्वतयारका लागि सचेत गराए ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले कुसुन्डा समुदायसँगै उनीहरुकोे भाषा संरक्षण गर्न माग गर्दै एकीकृत बस्ती विकासको काम थाल्न आग्रह गरे ।

सांसद सञ्जयकुमार गौतमले जब्दीघाटको पुल निर्माणका लागि बजेट छुट्याए पनि ठेक्का प्रक्रिया रोकिएकोतर्फ ध्यानाकर्षण गराए ।

सांसद हर्कमाया विश्वकर्माले सदनमा सांसदहरूले प्रयोग गर्ने शब्द र शैलीप्रति सचेत हुनुपर्ने भनाइ राखे । सांसद हितराज पाण्डेले ऐन बनिसक्दा पनि सत्य निरुपरण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग नबेकोतर्फ ध्यानाकर्षण गराए । उनले भने, ‘द्वन्द्वपीडितको घाउमा मलम लगाउन र बेपत्ता परिवारको आँसु पुग्छन यो आयोग अति आवश्यक छ ।’

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मानव र वन्यजनतुबीचको द्वन्द्व नियन्त्रणका लागि ध्यानाकर्षण गराउँदै पीडितलाई उपलब्ध गराउँदै आएको राहतस्वरुपको रकम बढाउन माग गरे । ‘जङ्गली हात्तीको आक्रमणबाट मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रदान गर्ने रकम १० लाखलाई २० लाख बनाइयोस् । सामान्य घाइतेलाई एक लाख र गम्भीर घाइतेलाई पाँच लाखको व्यवस्था गर्नुपर्छ’, उनले भने ।

शून्य समयमा सांसदहरूले झापा विद्रोहका पाँच सहिदका सम्झनामा श्रद्धाञ्जली समेत व्यक्त गरेका थिए ।

रिंकु मृत्यु प्रकरण : मुख्य आरोपी मण्डल पक्राउ

सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका सिरहाका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले बताए ।

माघ ३० गते रिंकु आफ्नो घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । २७ गते राति शौच जानु अगाडि रिंकुमाथि तीन जना छिमेकीहरूले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए । उक्त घटना पछि, गाउँमा पञ्चायत बसेर मिलापत्र गर्ने प्रयास गरिएको थियो ।

पञ्चायतले पीडकलाई एक लाख ४० हजार रुपैयाँ जरिवाना भराउन र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो ।

लागुऔषध कारोबारमा गाउँपालिका अध्यक्ष गुप्ता दोषी ठहर, २९ गते सजाय तोकिने

यहाँको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) लाई लागुऔषध कारोबारमा अदालतले दोषी ठहर गरेको छ ।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित दुई जनालाई दोषी ठहर गरेको हो ।

गुप्तासहित दोषी ठहर हुनेमा नगर प्रहरी रघुनाथप्रसाद धोबी पनि रहेका छन् । उनी भने २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अदालतले रामा गुप्ता र जितेन्द्र पासवानलाई भने सफाइ दिएको छ ।

अध्यक्ष गुप्तासहित धोबी दोषी ठहरिए पनि सजाय निर्धारणको लागि फागुन २९ गते पेशी तोकिएको छ ।

राजसंस्था पुनः स्थापनाको माग गर्दै राप्रपाको र्‍याली

राजसंस्था पुनः स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले मोटरसाइकल र्‍याली निकालेको छ । अध्यक्ष राजेन्द्र लिङदेनसमेत सहभागी भएर काठमाडौँमा राप्रपाले र्याली निकालेको हो ।

राप्रपाले राजसंस्था पुनःस्थापना, प्रदेश खारेजी, हिन्दु राज्य र भ्रष्टाचार अन्त्यको माग गर्दै र्याली गरेको छ । बबरमहलबाट निस्किएको र्याली दरबारमार्ग पुगेको छ । नारायणहिटी दरबारको दक्षिण गेट अगाडि पुगेको थियो ।

राप्रपा सांसद शाहीको चेतावनी :  कुलमानलाई हटाए सडक र सदनमा आन्दोलन गर्छौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट नहटाउन सरकारलाई चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शाहीले कार्यकारी निर्देशक घिसिङलाई हटाए सरकारविरुद्ध सकड र सदनबाट विरोध गर्ने चेतावनी दिएका हुन् ।

उनले सरकारले कुलमानलाई हटएर मुलुकलाई अन्धकारतिर धकेलिरहेको बताए ।

उनले भने ‘कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदै छ, मन्त्रीपरिषद्को निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुवै ठाउँबाट आवाज उठ्छ ।’

उनले दशरथ रंगशाला केपी ओली कपको समापन समारोहमा दर्शक कुट्ने आयोजकलाई कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीको आलोचना गर्दैमा मान्छे कुट्न नपाइने उनको भनाइ छ ।

घिसिङलाई हटाउन सरकारले चलखेल गरेको छैन : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् ।

तनहुँको डुम्रेमा आजदेखि सुरु हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए ।

उनले भने, “एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ ।” मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्‍याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरे ।

नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याङ्कनमा शुन्य अङ्क किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा मन्त्री खड्काले भने, “विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अङ्क प्राप्त गर्न नसक्नुभएको हो ।”

पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न महासंघको आग्रह

प्रश्न सोधेको आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री ओलीमाथि अमर्यादित शब्द प्रयोग गरेको भन्दै दुई पत्रकारको पास निलम्बन गरिएको छ ।

गत फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको हो ।

पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए(नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको भएको महासंघले बताएको छ ।

काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष पत्रकार महासंघले आग्रह समेत गरेको छ ।

साथै, महासंघले पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पत्रकार तथा सञ्चारमाध्यमको ध्यानाकर्षण समेत गराएको छ ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन दिन भने लगातार दोहोरो अङ्कको गिरावट देखिएको छ ।

बुधबार नेप्से परिसूचक २५ दशमलव १६ अङ्कले घटेर दुई हजार आठ सय २१ दशमलव १३ को विन्दुमा कायम भएको हो । तीन सय आठ कम्पनीको दुई करोड ३३ लाख ४३ हजार दुई सय एक कित्ता शेयर एक लाख एक हजार छ सय तीन पटक खरिदबिक्री हुँदा रु १० अर्ब ९७ करोड २६ लाख ५४ हजार चार सय ७३ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव शून्य चार, विकास बैंक एक दशमलव ३१, वित्त एक दशमलव ५५, होटल तथा पर्यटन एक दशमलव शून्य पाँच, जलविद्युत् शून्य दशमलव ३७ र लगानी समूह एक दशमलव २४ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बिमा एक दशमलव ४५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९४, लघुवित्त शून्य दशमलव ५०, म्युचुअल फण्ड शून्य दशमलव १५, निर्जीवन बिमा एक दशमलव ५१ र अन्य समूह शून्य दशमलव ७६ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ८४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ९६ करोड ७० लाख ९५ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को ११ लाख १३ हजार तीन सय ३५ कित्ता शेयर किनबेच भएको छ ।

९ नौ सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु नौ सय र चाँदीको मूल्य रु १० ले बढेको हो ।

मङ्गलवार प्रतितोला रु एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रु एक हजार नौ सय ५० मा किनबेच हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँसत दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

नेपाली महिला क्रिकेट टोलीको बिदाइ

नेपाल क्रिकेट सङ्घ (क्यान) ले युगाण्डामा हुने चारदेशीय महिला टी–२० शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

क्यानद्वारा बुधबार आयोजित एक कार्यक्रममा नेपाली महिला टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको हो । यही फागुन २४ गतेदेखि हुने उक्त शृङ्खलामा नेपालसहित युगाण्डा, हङ्कङ र नामिबिया सहभागी छन् ।

क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव बटुल्न मद्दत पुग्ने बताउनुभयो । नेपाली टिमकी कप्तान इन्दु वर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले युगाण्डामा गएर राम्रो क्रिकेट खेलेर फर्कने बताइन् ।

त्यसैगरी नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले कमजोरीहरू सुधार गरी सिरिज जितेर फर्कने बताए । नेपालले आफ्नो पहिलो खेल यही फागुन २४ गते नामिबियासँग खेल्नेछ ।

त्यसैगरी फागुन २५ गते युगाण्डासँग र फागुन २६ गते हङ्कङसँग खेल्नेछ । त्यस्तै फागुन २८ गते नामिबियासँग, २९ गते युगाण्डासँग र ३० गते हङ्कङसँग खेल्नेछ । यी सबै खेलहरू सकिएपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित रुविना क्षेत्री, पुजा महतो, अलिशाकुमारी यादव, सना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =