सार्वजनिक संस्थानहरूको अवस्था सुधार्न निजीकरण अध्यादेश ल्याइएको हो : अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको लगानी भएका सार्वजनिक संस्थानहरूको अवस्था सुधार्न निजीकरण अध्यादेश ल्याएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा निजीकरण अध्यादेशलाई अस्वीकृत गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले निजीकरण ऐन भन्ने शब्दको उच्चारणको सट्टामा सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी लगानी व्यवस्थापन भन्ने पदावलीको प्रयोग कुनैपनि मानेमा अनुचित नरहेको जिकिर गरे । उनले सरकारी प्रतिष्ठानहरू घाटामा चलिरहेकोले सरकारले टुलुटुलु हेरेर नसबस्ने बताए ।

उनले केही सरकारी प्रतिष्ठानहरू घाटामा रहेको र केहीले मुनाफा आर्जन गर्न नसकेका कारण निजीकरण अध्यादेश ल्याइएको बताए । उनले प्रतिपक्षी दलहरूलाई विरोधका लागिमा विरोध नभई सिर्जनात्मक आलोचना गर्न सुझाए ।

उनले भने ‘विरोधका लागि विरोधभन्दा रचनात्मक आलोचनाको बाटोमा हिँडौँ न हामी कम्तीमा । त्यसो गर्दा सरकारलाई मात्र होइन सरकारलाई सहयोग पुग्दछ । आँखा चिम्म गर्यो विरोध गर्यो । यो कुनै उपयुक्त तरिका हो जस्तो मलाई लाग्दैन । त्यसकारण निजीकरण ऐन भन्ने शब्दको उच्चारणको सट्टामा सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी लगानी व्यवस्थापन भन्ने पदावलीको प्रयोग कुनैपनि मानेमा अनुचित छैन । त्यसले ऐनको मर्मलाई पनि प्रतिनिधित्व गर्छ । सरकारको लगानी भएका प्रतिष्ठानहरूको जुन हालत छ अहिले यो अवस्था सरकारले टुलुटुलु हेरेर बस्ने हो ? तमासा हेर्ने हो सरकारले ? लगानी भएको छ । तर त्यसले जुन प्रतिफल दिनुपर्ने हो त्यो प्रतिफल दिन सकेको छैन । उदयपुर सिमेन्ट हेरौँ, हेटौडा सिमेन्टे हेरौँ, दुग्ध विकास संस्थान हेरौँ । केही प्रतिष्ठानहरू घाटामा छैनन् भनिएको छ । तिनले पनि गर्नसक्ने मुनाफा गर्न सकेको छैन । यो त सत्य हो । यसको लागि हामी कानुनी प्रबन्ध गर्न लागेका हौँ ।’

सार्वजनिक प्रतिष्ठानहरूको प्रभावकारी व्यवस्थापन आजको आवश्यकता भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =