नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग

काठमाडौँ । नेपाल वन प्राविधिक संघले नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग गरेको छ ।

संघको स्वर्ण जयन्तीको अवसरमा आयोजित नीति संवाद कार्यक्रममा नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले नेपाल वन प्राविधिक परिषद् गठन गरेर जनसँग सम्बन्धित समस्याहरूको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।

उनले वनका कामहरु गर्नका लागि वनका प्राविधिकहरूको आधिकारिकता दिन नेपाल वन प्राविधिक परिषद् आवश्यक हुने बताए । परिषद् गठन भएको खण्डमा आधिकारिक रुपमा काम गर्न पाइने बताए । वन व्यवस्थापनमा प्राविधिकहरूको कमी रहेको उल्लेख गरे ।

परिषद् भएको खण्डमा वनसँग जोडिएका कामहरु पनि छिटो छरितो हुने बताए । साथै सामुदायिक वनहरूको नवीकरणमा पनि सहयोग पुग्ने बताए । उनले ४६ प्रतिशत वन क्षेत्रलाई अवहेलना नगर्न चेतावनी दिए । परिषद् गठन गरेर वनसँग सम्बन्धित कामहरु गरेको खण्डमा स्वदेशमै वन प्राविधिकहरूले रोजगारी पाउने र वनसँग सम्बन्धित क्षेत्रमा अन्य रोजगारीको सिर्जना हुने उल्लेख गरे । विज्ञानमा आधारित वन व्यवस्थापन अहिलेको आवश्यकता भएको बताए ।

उनले भने ‘मानव—वन्यजन्तु द्वन्द्वको व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा एउटा छलफल गरिरहेका छौँ भने अर्को वन डढेलोको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को छलफल भइरहेको छ । फागुन २० गते उपराष्ट्रपतिको प्रमुख आतिथ्यमा ५० वर्षभर गरेका कामहरूको स्मारिका विमोचनको साथै सुरुवात गरिएको नेपाल वन प्राविधिक संघको शुरुवातताका समितिहरूलाई सम्मान गर्ने कार्यक्रम छ । वन व्यवस्थापनको कुरा प्रमुख छ । नेपालमा ४६ प्रतिशत वन हुँदाहुँदै पनि विदेशबाट काठ आयातित भइरहेको छ । यहाँका श्रम शक्तिहरु बाहिर रोजगारीका लागि गइरहेका छन् । वन संवर्द्धनमा आधारित वन व्यवस्थापन वा विज्ञानमा आधारित वन व्यवस्थापन हुनुपर्छ । सरकार यसमा गम्भीर हुनुपर्छ । वन विकाससँग जोडिन नेपाल वन प्राविधिक परिषद् गठन तत्काल हुनुपर्छ । त्यसले वन प्राविधिकलाई वन र वन विकास गर्नका लागि सहज हुन्छ ।’

उनले वन क्षेत्र राज्यको प्राथमिकतामा नहुँदा वन प्राविधिक र उपभोक्ताहरू समस्यामा परेको बताए । संघले फागुन २० गते उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमा स्वर्ण जयन्ती मनाउँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =