घर भित्रै पूजाकोठामा महिलाको शव गाडिएको अवस्थामा फेला, श्रीमान् र छोरी बेपत्ता

काठमाडौँ । धनुषामा एक महिलाको शव घर भित्रै गाडेको अवस्थामा फेला परेको छ ।
शनिवार दिउँसो प्रहरीले शव घरकै पूजाकोठामा गाडेको अवस्थामा उत्खनन गरी निकालेको हो ।
उक्त शव धनुषाको लक्ष्मीनिया गाउँपालिका –बनिनियाकी २० वर्षीया अञ्जली यादवको रहेको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहका अनुसार उनको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
स्थानीयले एकाएक अञ्जली हराएको तथा उनका श्रीमान् बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
त्यसक्रममा शनिवार दिउँसो १ बजे कोठाभित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको हो ।
प्रहरी प्रवक्ता सिंहले अञ्जलीका श्रीमान् हरिराम यादव फरार रहेको बताए । उनैले अञ्जलीको हत्या गरेर शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ । रामहरिसँगै उनीहरूका १० महिनाकी छोरीको पनि पत्तो लागेको छैन ।
गत शनिवार रामहरि र अञ्जलिबिच विवाद भएको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार भोलिपल्टै रामहरिले श्रीमती बेपत्ता भएको भनेर छरछिमेकमा सुनाएका थिए । तर मङ्गलवारदेखि भने रामहरि आफै बेपत्ता भए ।
घरका एकाएक सबै हराएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले अञ्जलीको शव प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको छ ।








