श्रीमान्-श्रीमतीको योजनामा प्रेमी अन्सारीको यसरी गरियो हत्या

धनुषा । यहाँको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनिे ३३ वर्षीय शहीद अन्सारीको शव भेटियो । अनुसन्धानमा अन्सारीलाई उनकी प्रेमिका २६ वर्षीया अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर हत्या गरेको खुलेको छ ।
अनिताले श्रीमती बिरामी रहेको बहाना बनाई अन्सारीलाई नेपाल बोलाएकी थिइन् । तर,शहिदकी श्रीमती अजिमा खातुनले आफ्नो श्रीमान् नेपाल आएको पत्तो नै पाइनन् ।
शहिदले आफूमाथि षड्यन्त्र भएको कुरा अनिताको घर पुगेपछि मात्रै थाहा पाए। उनीहरूले कोठाभित्रै शहिदलाई बाँधे र अनिताका श्रीमान् राजकिशोरले कुट्न सुरू गरे । आफ्नो श्रीमतीसँग प्रेम गरेकाले श्रीमती लैजान अन्सारीलाई राजकिशोरले आग्रह गरेपनि त्यो आग्रह भने अन्सारीले स्वीकार गरेनन् ।
२७ गते बिहानीपखसम्म राजकिशोरले शहिदलाई बञ्चरो प्रहार गरेको अनिताले प्रहरीलासमक्ष बयान दिएकी छन् । २०८१ मंसिर २७ गते अनिता र उनका श्रीमानले अन्सारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए ।
हत्या पछि शव जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो । शव पहिचान गर्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो । माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो ।
घटना भएको करिब दुई महिनापछिअनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ भने उनका श्रीमान् राजकिशोर यादव हत्या पछि साउदी अरब फरार रहेको उपरीक्षक तिवारीले बताए । उनलाई नेपाल फर्काउन कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न रहेको भन्दै बिहीबा प्रहरीले अनितालाई सार्वजनिक गरेको छ । राजकिशोर ३ वर्षअघि साउदी गएका थिए। त्यसपछि अनिता र शहिद नजिकिएका थिए।
उनीहरू सामाजिक सञ्जालमा कुराकानी गर्ने क्रममा नजिकिएका थिए। त्यसपछि भेटघाट बाक्लिएको थियो। त्यही क्रममा कहिलेकाहीँ शहिद अनिताको घरमै पनि आउने गरेको अनुसन्धानबाट खुलेको एसपी तिवारीले जानकारी दिए।








