खबर दिनभर : अराजकता स्वीकार्य नहुने,कुलमानको पक्ष लिँदै सडकमा जनता,खानेपानी संस्थान कोमामा

राष्ट्रपति पौडेलले गरे ग्याल्पो लोसारको शुभारम्भ

राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ वर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा फेमार ९शेर्पा परिकार० काटेर राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसारको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास लिएको बताए ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको तथा यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताए ।

राष्ट्रपति पौडेलले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा शेर्पा समुदायको आफ्नै र विशिष्ट पहिचान रहेको उल्लेख गर्दै शेर्पा तथा हिमाली आदिवासीले नेपालको हिमाली क्षेत्रको भाषा, धर्म, कला, संस्कृति र परम्पराको निरन्तरता, संरक्षण, सम्वर्धन तथा विकासमा आफ्नो पहिचान कायम राख्दै पर्यटन तथा आफ्नो व्यवसायमार्फत मुलुकलाई आर्थिक रूपमा सबल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।

सो अवसरमा खेम्पो लामा आचार्यले ल्होसारका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा ल्होसारसम्बन्धी गित तथा स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो ।

सामाजिक सञ्जालको अराजकता स्वीकार्य छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुनेगरी सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन् ।

बिहीवार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्नेकुरा भने स्वीकार्य नहुने बताएका हुन् ।

उनले सांस्कृतिक कुराहरु ध्वस्त बनाउने कुराहरु गरेर घृणाको राजनीति गर्नेकुर स्वीकार्य हुन नसक्ने बताए ।

कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बद्नाम गरिदिने, अविश्वास फैल्याइदिने, भ्रम छरिदिने कुराहरु नियन्त्रण गरेरै छोड्ने प्रतिवद्धता जनाए ।

उनले भने– ‘सरकारले अहिले सामाजिक सञ्जालको सम्बन्धमा सोसल मिडियाको अधिकार एक इन्च त के, एक सेन्टिमिटर वा त्यो भन्दा पनि एक मिलिमिटर पनि केही नहुने गरी सोसल मिडियाको अधिकारलाई सम्पूर्ण रुपमा रक्षा गर्दै तर छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, हाम्रो सभ्यता, संस्कृति, हाम्रा गौरवपूर्ण परम्परा, यि कुराहरुलाई होच्याउन, अपमान गर्न र यि कुराहरु ध्वस्त बनाउने खालका क्रियाकलाप र सामाजिक मर्यादाहरु सबै भत्काएर घृणाको राजनीति, घृणाको क्रियाकलाप, कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बद्नाम गरिदिने, अविश्वास फैल्याइदिने, भ्रम छरिदिने यस प्रकारका कामहरु छन्, ति नियन्त्रण हुनुपर्छ । यस्ता कुराहरु छोड्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले बलात्कार जस्ता अपराधहरु स्वीकार्य नहुने भन्दै यस्ता कुरा नियन्त्रण हुनुपर्छ भनेर लाग्दा बिरोध गर्नु आफैँमा स्तरहिन तर्क रहेको बताए ।

असामाजिक कुराहरु रोक्नुपर्ने बताए । मानिसहरुले अपराध कर्ममा सफल हुनुलाई सफलता ठान्ने गरेको बताए ।

प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले शुक्रवार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने बताइएको छ ।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।

सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेशमा राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपालले समर्थन नगर्ने बताएपछि अगाडि बढ्न सकेका छैनन् ।

जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्छौं : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताएका छन् ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा बिहीबार सुनसरीको गढी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईका जनताको समस्या समाधान र एकता कायम गर्न हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले जनताले कृषि क्षेत्रमा भोग्दै आएका समस्या समाधान र बजारीकरणलाई सम्बोधन गर्ने सङ्कल्पसहित यो अभियान सञ्चालन गरिएको प्रष्ट पारे ।

उनले भने,“कृषि पेन्सन, कृषि बिमा, शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने छ । यसका लागि हामो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध सङ्घर्षको झण्डा उठाउन अभियान थालिएको उनको भनाइ थियो ।

उत्पीडित क्षेत्र र समुदायको योगदानको स्मरण गर्दै यी क्षेत्र र समुदायको आर्थिक अवस्था रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा गम्भीर रहेको अध्यक्ष दाहालले बताए ।

गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय

ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ । गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति आशावादी देखिन्छन् ।

समुद्र सतहबाट तीन हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल आसपासका क्षेत्रमा गुराँस फुलेर वनजङ्गल राताम्य देखिन्छन् । यसले प्रकृति प्रेमीलाई लोभ्याउँछ, बरु पर्यटन उद्योगसमेतमा सकारात्मक प्रभाव पार्छ । गुराँस फुल्ने मौसममा व्यापार बढ्ने स्थानीयको भनाइ छ ।

गुराँस हेर्नका लागि मानिस टाढा–टाढाबाट आउँछन् । यहाँ आउनेहरू गुराँससँग रमाउने मात्र नभई सोही कारणले व्यवसायलाई पनि टेवा पुगेको छ । गतवर्ष भन्दा यस वर्ष केही समय छिटो गुराँस फुलेको फुङ्लिङ नगरपालिका–७ का एलबी राईले बताए ।

गुराँस फुल्न थालेपछि सामाजिक सञ्जाल पनि रङ्गीन बन्न थालेका छन् । मानिसले गुराँससँग खिचिएका तस्बिर सामाजिक सञ्जालमा चर्चित बन्दै गएका छन् ।

कतिपय पर्यटक यहाँ गुराँस हेर्न मात्र होइन, प्राकृतिक सौन्दर्यसँग रमाउन पदयात्रा गर्न रुचाउँछन् । यस्ता गतिविधिले पाथीभरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको स्थानीय बताउँछन् ।

गुराँस सुन्दरता प्रदर्शनका लागि मात्र सीमित छैन । यसका औषधीय गुण पनि छन् । गुराँसका पात, बोक्रा र फूललाई विभिन्न औषधिमा प्रयोग गरिन्छ । स्थानीयस्तरमा गुराँसको अचार, सर्वत, रक्सी उत्पादन गरेर आर्थिक गतिविधि बढाउने पहल भइरहेको छ । ताप्लेजुङमा विगतका तुलनामा अलिक छिटै गुराँस फुल्नथालेका फुङ्लिङ–९ का स्थानीय लेकाली कान्छा मुक्कुमले बताए ।

गुराँसलाई अझ व्यवस्थित ढङ्गले संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न सकिने मुक्कुमले बताए । सरकार तथा सरोकार भएका निकायले गुराँस उद्यान स्थापना गरी यसको व्यावसायिक उपयोगमा जोड दिनुपर्नेमा उहाँले जोड दिए ।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये ताप्लेजुङ, तेह्रथुम र सङ्खरसभा जिल्लाको सङ्गमस्थल तीनजुरे मिल्के २८ प्रजातिका पाइन्छन् । ताप्लेजुङको पाथीभरा क्षेत्रमा २६ प्रजातिको गुराँस पाइने तथ्याङ्क रहेको संरक्षण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका हिमाली संरक्षण मञ्च संस्थाका कार्यक्रम संयोजक रमेश राईले बताए ।

“पाथीभरा क्षेत्र गुराँससँगै पर्यटनका लागि उत्कृष्ट सम्भावना बोकेको गन्तव्य बन्न सक्छ । यहाँको प्राकृतिक सौन्दर्य, विशेष गरी वसन्त ऋतुमा फुल्ने गुराँसका विभिन्न प्रजाति, पर्यटकलाई लोभ्याउने प्रमुख तत्व हुन सक्छन्”, उनले भने ।

स्थानीय निकाय, पर्यटन व्यवसायी, तथा सरकारको सहकार्यमा प्रभावकारी प्रचारप्रसार, पूर्वाधार विकास र दिगो पर्यटन रणनीति लागू गर्न सकियो भने यो क्षेत्र गुराँस पार्कको रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न सकिने उनको भनाइ छ ।

मुस्लिम समुदायलाई संवैधानिक अधिकार सुनिश्चित गर्ने काम माओवादीले गर्‍यो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्न माओवादी गम्भीर रहेको बताएका छन् ।

सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित घुस्कीमा आज मुस्लिम अगुवासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक अधिकार सुनिश्चित गर्ने काम माओवादीले गरेको दाबी गरे ।

उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको उनको भनाइ थियो ।

हरिनगर–६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाले पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालसमक्ष ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन र बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने माग गरेको स्थानीय दिल मोहमत मियाँले बताए ।

‘तराई मधेस जागरण अभियान’ सुरु गरेको आज चौथौ दिन नेकपा (माओवादी केन्द्र) ले सुनसरीको विभिन्न स्थानमा कार्यक्रम गरेको छ । कार्यक्रममा अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, नेत्री पम्फा भुसाललगायतका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छु : खानेपानीमन्त्री

खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामूलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गरेका छन् ।

बिहीबार काठमाडौँ नेपाल खानेपानी संस्थानको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने बताए ।

घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भन्नेबारेमा मन्त्रालय बसेर भएपनि नाफामा ल्याएरै छोड्ने प्रतिबद्धता जनाए । उनले जायज कामहरूका लागि कोमाबाट निकाल्नका लागि मन्त्रालय अघि बढ्नैपर्ने बताए । पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरू आम नागरिकले गर्ने गरेको भएपनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिए ।

कल सेन्टरको स्थापना गरेर भएपनि जनताका समस्या समयमै समाधान गर्न निर्देशन दिए । उनले सरकारले बनाएका पानी ट्याङ्कीमा नेपाल सरकार खानेपानी मन्त्रालय नलेखिएको भन्दै अबदेखि सबै खानेपानी ट्याङ्कीमा नेपाल सरकार, खानेपानी मन्त्रालय लेख्न निर्देशन दिए । खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रमहरू ल्याउनुपर्ने बताए ।

मन्त्री यादवले भने ‘खानेपानी संस्थान कसरी अघि बढ्छ भन्ने चिन्ता छ । घाटामा रहेको संस्थान नाफामा कसरी आउँछ रु धेरै जसो शाखाहरू घाटामा नै छ । यो सेवाको भावनाले चलेको संस्थान भएको हुनाले र खानेपानी यस्तो महत्त्वपूर्ण कुरा हो । घाटामा रहेर पनि सञ्चालनमा राख्नुपर्छ । यसलाई मुनाफामा कसरी ल्याउने त्यसमा विचार गर्नुपर्छ । नागरिकबाट मासिक सेवा सुविधा त लिइराख्नुभएको छ । तर कसरी संस्था नोक्सानमा गयो । कसको कारणले गयो रु त्यसकारणले गर्दा संस्थाप्रति इमानदार भइदिन आग्रह गर्दछु । संस्था रहे मात्रै तपाईँ हाम्रो भविष्य छ । धेरै ठाउँमा पाइप फुटेको, फोहोर पानी गएको गुनासो आइरहेको छ । कसरी निगरानी, जनताको गुनासो कसरी सुन्ने, कल सेन्टर राखेर अघि बढ्नुपर्छ तर त्यो देखिरहेको छैन । जानकारी गराउँदा पनि एक महिनासम्म कर्मचारी पुग्दैनन् । यसमा ध्यान जाओस् । नेपाल खानेपानी संस्थान ३६ औँ वार्षिकोत्सव मनाउँदाको मितिमा संस्था कोमामा छ । कोमाबाट कसरी निकाल्ने, यसमा हामी सबैको ध्यान जान जरुरी छ । १० महिनादेखि निमित्त जिएममा चलेको थियो, आज पूर्णता दिइसकेका छौँ ।’

खानेपानी महसुलमा पुनः विचार गर्नुपर्नेछ : मन्त्री यादव

मन्त्री यादवले खानेपानी सेवा महसुल दरमा पुनः विचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महसुल समयानुसार समयानुकूल गर्ने अहिलेको आवश्यकता रहेको बताए ।

मन्त्री यादवले भने ‘नेपाल खानेपानी संस्थान करिब ११ वर्ष पहिला निर्धारण भएको खानेपानी सेवा महसुल दरमै चलिरहेको छ । बिजुली त पक्कै फ्रि छैन होला । फ्रि छैन भने महसुलमा पनि हामीले विचार गर्नुपर्छ । अब नियमावली पनि आइसकेको छ । त्यसले तपाईँहरूको लागि धेरै चिज बाधाहरू हटेको छ । महसुलमा पनि पुनः विचार गर्नुपर्छ । त्यसको लागि हामीले छलफल चाँडै गर्नेछौँ । पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महसुल समयानुसार समयानुकूल गर्ने अहिलेको आवश्यकता पनि हो । यसलाई हामीले आपसमा छलफल गरेर अघि बढ्नुपर्ने छ ।’

मन्त्री यादवले मुलुक बचाउन सबै मिल्नुपर्ने बताए । उनले वैशाखभित्रमा झुम्सा खोलाको पानी बुटवलमा ल्याइसक्ने प्रतिबद्धता जनाए ।

ठूला राजनीतिक दलका योजना निरर्थक, नेकपाका कार्यकर्ता यसरी लिँदैछन् आम्दानी

उत्पादनसँग जोडिने ठूला राजनीतिक दलका योजना निरर्थक बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले भने त्यसलाई चरितार्थ तुल्याएका छन् ।

देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्पादनसँग जोडिएको नेकपाले हालै काठमाडौँमा ‘सी व्यापार केन्द्र’समेत सञ्चालनमा ल्याएको छ । उक्त व्यापार केन्द्रबाट कृषिजन्य वस्तुको उत्पादन तथा वितरण हुँदै आएको छ ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफै कृषिकर्ममा जोडिएर आफ्ना नेता–कार्यकर्ता र सर्वसाधारण किसानलाई व्यावसायिक उत्पादनतिर प्रेरित गरिरहेका छन् ।

उत्पादनसँग जोडिने पार्टी नीतिलाई लागू गरेका कास्कीका नेकपा नेता–कार्यकर्ता पनि व्यावसायिक कृषि खेती गरेर उदाहरणीय बनेका छन् ।

गत असारदेखि पोखरा महानगरपालिका–१४ छिनेडाँडामा १४ रोपनी जग्गा भाडामा लिएर कृषि उत्पादन सुरु गरिएको नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण क्षेत्रीले जानकारी दिए।

छिनेडाँडामा रहेको परम्परागत घरसमेत भाडामा लिई त्यसैमा कार्यालय पार्टी कार्यालय सञ्चालन हुँदै आएको उनको भनाइ छ । कार्यालय सचिव क्षेत्रीका अनुसार यो हिउँदमा ६५ क्विन्टल आलु उत्पादन भएको छ ।

“झण्डै रु तीन लाख बराबरको आलु फल्यो, ३० क्विन्टल आलु चिप्स उत्पादनका लागि बाहिर पठाइएको छ, बाँकी पोखरामै बिक्री गर्छौँ”, उनले भने,“अब चैतेधान र मकै रोप्ने तयारी भइरहेको छ, काँक्रालगायत तरकारीका लागि टनेलखेती गरिरहेका छौँ ।”

पार्टी केन्द्रले काठमाडौँमा सञ्चालन गरेको ‘सी व्यापार केन्द्र’मा पोखरामा उत्पादन भएको तीन क्विन्टल जेठोबुढोको धान पठाइएको उनले बताए । नेकपा गण्डकी प्रदेश इञ्चार्ज उमा भुजेलले कृषि उत्पादनमा प्रत्यक्ष रुपमा नेता–कार्यकर्ता खट्ने गरेको सुनाए ।

“कृषि उत्पादनमा दैनिक रुपमा जोडिने साथीहरु सात/आठ जना हुनुहुन्छ”, उनले भने,“आवश्यक पर्दा काममा सघाउन बाहिरबाट पनि आउनुहुन्छ ।”

इञ्जार्च भुजेलका अनुसार तनहुँको बन्दीपुर, नवलपुर, म्याग्दी, बागलुङ, लमजुङलगायतका जिल्लामा पनि नेकपाका नेता–कार्यकर्ता कृषि उत्पादन जोडिएका छन् ।

व्यावसायिक कृषिमा नेपालको भविष्य जोडिएकाले त्यसतर्फ समाजलाई अभिप्रेरित गर्न पार्टीलाई उत्पादन कार्यमा संलग्न गराइएको केन्द्रीय सदस्य क्षेत्रीले बताए ।

“कृषि उत्पादन क्षेत्र विस्तार गर्दै जाने र किसानलाई जोड्ने पार्टीको योजना छ, पार्टी नेतृत्वले गरेको कृषि क्रान्तिको उद्घोषलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नु हामी नेता–कार्यकर्ताहरुको दायित्व हो”, उनले भने, “यसले जनस्तरमा पनि कृषिप्रतिको आकर्षण बढाउँछ भन्ने हाम्रो विश्वास छ, राजनीतिक दलहरुप्रतिको दृष्टिकोण पनि बदलिन्छ ।”

ऊर्जा मन्त्रीलाई कुलमानको जवाफ– मलाई कारबाही गर्ने अधिकार तपाईँसँग छैन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई २४ घण्टे स्पष्टीकरण बुझाएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फागुन १३ गते कार्यकारी निर्देशक कुलमानलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । उक्त स्पष्टीकरणको जवाफ दिँदै कुलमानले आफूलाई कारबाही गर्ने अधिकार ऊर्जा मन्त्रीसँग नभएको बताएका छन् ।

उनले उर्जामन्त्री र ऊर्जा सचिवसँग आफूलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको बताएका हुन् ।

कार्यकारी निर्देशक घिसिङले आफूलाई मन्त्रीपरिषद्ले कार्यकारी निर्देशकमा नियुक्ति गरेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोध्न नमिल्ने बताएका हुन् ।

उनले नेपाल सरकार कार्य सञ्चालन नियमावली र प्राधिकरणको विनियमावली अनुसार उर्जामन्त्री र सचिवसँग त्यो अधिकार नभएको जवाफ दिएका हुन् ।

‘म नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरण ऐन, २०४९ को दफा १७ (१) बमोजिम ४ वर्षको लागि नियुक्त भएको हुँ । निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयसँग छैन,’ उनले जवाफमा भनेका छन् ।

कार्यकारी निर्देशक घिसिङले आफूले यसअघि पुस २८ गते बुझाएको स्पष्टीकरण के कारणले चित्तबुझ्दो भइन भनेर उर्जामन्त्री खड्कासँग उल्टै प्रतिप्रश्न गरेका छन् । उनले आफलाइ के आधारमा कारबाही गर्न लागेको हो भनेर मन्त्री खड्कासँग प्रश्न गरेका हुन् ।

‘मेरो पूर्व स्पष्टीकरण के कारणले चित्तबुझ्दो भएन ? स्पष्टीकरणमा आधार कारण खुलेको छैन । आधार र कारणको अभावमा थप पुस्ट्याइँ पेस गर्ने अवस्था भएन । आधार र कारणको अभावमा उचित प्रतिवादको मौका रहेन’ कुलमानले भनेका छन् ।

कार्यकारी निर्देशक घिसिङले कसुर यकिन नगरी गोश्वारा आरोपमा कारबाही गर्न नमिल्ने जवाफमा उल्लेख गरेका छन् ।

नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन देउवाको आग्रह

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्वसमुदायलाई आग्रह गरेकी छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहेकी उनले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिलाई नेपालको पक्षमा मतदान गर्न आग्रह गरेकी हुन् ।

जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ मन्त्री डा।देउवाको सम्मानमा तथा विभिन्न देशका स्थायी नियोग र अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रमुखका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवद्र्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर मत दिन आग्रह गरिन् ।

सो समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसङ्घीय स्थायी नियोगका प्रमुख तथा राजदूत र विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि उपस्थित थिए । समारोहलाई सम्बोधन गर्दै मन्त्री देउवाले भनिन्,“नेपाल सरकार शान्ति, प्रजातन्त्र र मानअधिकारको पक्षमा कार्यरत छ । मानवअधिकारको रक्षा र प्रवर्द्धनमा हामीले विगत लामो समयदेखि काम गरिरेहका छौँ । यही प्रतिबद्धताका साथ नेपालले यस परिषद्को आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रलाई म नेपाललाई सहयोग गर्न आग्रह गर्दछु ।”

मन्त्री डा।देउवाले भनिन्,“नेपालको वर्तमान संविधानले नागरिकको स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत अधिकारलाई मौलिक हकका रूपमा समेटेको छ । नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहिआएको छ ।”

उनले नेपालले शान्ति प्रक्रियाका क्रममा पनि विश्वकै उदाहरणीय भएर काम गरेको दृष्टान्त पेस गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई पनि यथाशीघ्र टुङ्ग्याउने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराए ।

मन्त्री डा।देउवाले पछिल्लो समयमा नेपालले बाल, महिला तथा अल्पसङ्ख्यकको अधिकारका साथै समावेशताका क्षेत्रमा उपलब्धि हासिल गरेको जानकारी गराउँदै नेपालको वर्तमान सरकार सदैव राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रताका पक्षमा रहिआएको पनि स्पष्ट गरे ।

यसअघि मन्त्री डा।देउवाले गत मङ्गलबार राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुभएको थियो । जेनेभामा जारी सो सत्रमा राष्ट्रसङ्घका सदस्य राष्ट्रका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिको सहभागिता छ ।

मन्त्री डा।देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन् । उनी शुक्रबार बिहान स्वदेश फर्किने कार्यक्रम छ ।

सरकारले हटाउन खोजेपछि कुलमानको पक्षमा प्रदर्शन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन खोजेपछि प्रदर्शन गरिएको छ । बिहीबार माइतीघर मण्डलामा कुलमान घिसिङको पक्षमा बोल्दै सरकारलाई खबरदारी स्वरुप प्रदर्शन गरिएको हो ।

कुलमान हाम्रा सारा हुन् उज्यालोका तारा हुन् भन्दै जनता सडकमा ओर्लिएका हुन् । घिसिङलाई पदबाट हटाउने सरकारको योजना भने सफल हुन सकिरहेको छैन ।

आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन समिति गठन, बजेट महाशाखा प्रमुखमा नेपाल

आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल रहेका छन् ।

सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन् ।

बजेट लेखन समितिको बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरु कार्यक्रमहरुको प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेश गर्ने कार्य जिम्मेवारी रहेको संयोजक नेपालले जानकारी दिए ।

यसैबीच अर्थ मन्त्रालयले राष्ट्रिय योजनाबाट स्रोत समितिको निर्णय बमोजिम प्राप्त भएको बजेटको सीमाभित्र रहेर चालु, पूँजीगत, वित्तीय व्यवस्था तथा अन्तर सरकारी वित्त हस्तान्तरणको मन्त्रालयगत सीमा तथा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा उपलब्ध गराएको छ ।

आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनमा फागुन १५ गते सम्ममा आगामी आर्थिक वर्षको बजेटको सीमा तथा बजेट तर्जुमा सम्बन्धी मार्ग दर्शन पठाउने व्यवस्था छ ।

त्यसैगरी अर्थ मन्त्रालयले समानीकरण अनुदानको सीमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई उपलब्ध गराएको छ । समपुरक र विशेष अनुदानको सीमा राष्ट्रिय योजना आयोग र सशर्त अनुदानको सीमा सम्बन्धित विषयगत मन्त्रालयहरुलाई उपलब्ध गराएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरु र मुख्य मुख्य आयोजनाहरुका लागि बजेट एयरमार्क गरी पठाइएको छ । बजेट मार्ग दर्शनमा बजेटको सीमाभित्र रही गुणस्तरीय आयोजना तथा क्रियाकलापमा बजेट प्रस्ताव गर्न, नयाँ आयोजना प्रस्ताव गर्दा चालु आयोजनाहरुलाई प्राथमिकीकरण गर्ने तयारी पूरा भएका एवं लगानी ढाँचा सुनिश्चित भएका आयोजनामात्र प्रस्ताव गर्ने लगायतका विषय समावेश छन् ।

त्यसैगरी आयोजनाहरु दोहोरो नपर्ने गरी आयोजना बैंकमा समावेश भएका प्रस्ताव मात्र समावेश गर्न पनि अनुरोध गरिएको छ ।

सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित नहुने बताएका छन् ।

बिहीबार आयोजित प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित तुल्याउने कुनै व्यवस्था अस्वीकार्य हुने धारणा व्यक्त गरे ।

“नेताहरुको आलोचना भयो, नेताहरुलाई व्यङ्ग्य गरियो भन्दैमा कसैले पनि जेल जाने अवस्था आउनुहुँदैन,” महामन्त्री शर्माले भने, “सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुँदैन । यसलाई संशोधन गर्न सरकार तयार हुनुपर्छ ।”

उनले मिडियामा नकारात्मक र भ्रामक विषयवस्तु धेरै आउने गरेको हुँदा पत्रकारहरुले तथ्य र सकारात्मक सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । मिथ्या र भ्रामक सूचनाको प्रभावबाट सर्वसाधारणलाई जोगाउन सत्य तथ्य बताउने जिम्मेवारी मिडियाको भएको उनले बताए ।

महामन्त्री शर्माले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको असामयिक निधन भएको प्रसङ्गमा उक्त घटनापछि घर फर्किएका नेपाली विद्यार्थीहरुमा अझै त्रास व्याप्त रहेको बताए ।

“घटनापछि प्रधानमन्त्रीसहित सरकारले लिएको चासो र चालेको कदमका कारण कलेजले माफी मागेको छ र नेपाली विद्यार्थीलाई पढाइमा फर्किन आह्वान गरेको छ”, उनले भने, “तर, दोषीमाथि कारबाही हुनुपर्‍यो भनेर प्रहरीमा उजुरी दिएका विद्यार्थी अझै त्रासमा छन् । उनीहरुले आफूहरु असुरक्षित भएको बताइरहेका छन् ।”

उनले प्रकृति लम्सालको जस्तो घटना दोहोरिन नदिन सरकारले हटलाइन सम्पर्क गर्नसक्ने संयन्त्र बनाउन सरकारलाई सुझाव दिए ।

घाँट काट्न गएका वृद्धलाई हात्तीले मार्‍यो

जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका(४ का ७६ बर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न गएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्रमुख राईले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल, भद्रपुर पठाइएको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सुनको मूल्यमा फेरि गिरावट

नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

दसौं राष्ट्रिय खेलकुदको मिति फेरी सर्‍यो, अब कहिले ?

कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको मिति तेस्रो पटक सरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेसंगै दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता मिति तेस्रो पटक सरेको हो ।

यसअघि राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो। त्यसअघि प्रतियोगिता मंसिरमा गर्ने भनिएको थियो।

साथै नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल सङ्घलाई निलम्बन गर्ने निर्णय गरिएको छ । निलम्बनमा परेका राष्ट्रिय खेल सङ्घमा नेपाल ब्याडमिन्टन सङ्घ, नेपाल टेनिस सङ्घ, नेपाल साइक्लिङ सङ्घ, नेपाल एथलेटिक्स सङ्घ, नेपाल जिम्न्याष्टिक सङ्घ र नेपाल भारोत्तोलन सङ्घ रहेका छन् ।

राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल सङ्घलाई कारबाही स्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो ।

चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण

चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईवटा भू–उपग्रहलाई अन्तरिक्षमा पुर्‍याएको छ ।

लङ मार्च–२सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो । यसलाई चाङ्ग झेङ्ग २सी ९सीजेड–२सी० पी पनि भनिन्छ । दिउँसो ३ः०८ मा रकेट प्रक्षेपण गरिएको थियो ।

उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सिवेई गाओजिङ–१ ०३ र सिवेई गाओजिङ–१ ०४ नामक उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा प्रक्षेपण गरियो ।

यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५६१औँ उडान अभियान थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =