नायिका स्वस्तिमा खड्काले भनिन् – सरकारको बेवास्ताका कारण नेपालले उपाधि गुमायो
२०८१ फागुन १५ गते

काठमाडौं । नायिका स्वस्तिमा खड्काले नेपाललाई जित्ने वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गरेकी छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारलाई सो आग्रह गरेकी हुन् ।
उनले फेसबुकमा लेखेकी छन्,“हिजो हामीले म्यानमारसँग उपाधि गुमायौं, तर यसको कारण खेलाडीको मेहनत होइन, सरकारको बेवास्ता हो ! खेलाडीहरूले आफ्नो सबै शक्ति मैदानमा छोडे, तर सरकार कहिले खेलाडीका लागि अभिभावकत्व लिने ? नेपालको जित केवल मैदानमा होइन, सरकारले आफ्नो नीति, लगानी र पूर्वाधार सुधार गरे मात्र सम्भव छ ! अब खेलाडीको सपना नतोड्नुस्, नेपाललाई जित्ने वातावरण बनाइदिनुस् !”
उनले असफलता खेलाडीको नभई सरकारको भइको समेत बताइन् ।
बुधवार चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल म्यानमारसंग २-० गोलअन्तरले पराजित भएको थियो ।
नायिका खड्काले लेखेको स्टाटस
हिजो नेपाली राष्ट्रिय महिला फुटबल टोलीले म्यानमारसँग फाइनल खेल्यो। आफैं प्रत्यक्षदर्शी भएर उपस्थित थिएँ। १३औं पटक फाइनलको चुनौती प्रस्तुत गर्दा पनि नेपालले उपाधि चुम्न सकेन। तर यो असफलता खेलाडीको होइन, सरकारको हो!!!
• जब हरेक खेलमा हजारौँ नेपाली समर्थक रंगशालामा ‘नेपाल! नेपाल!’ भन्दै गर्जिरहेका हुन्छन्, राष्ट्र नै एकताबद्ध भएका बेला सरकारको मन किन यति कठोर बन्छ?
• हरेक खेलमा पूर्वाधारको अभावले गर्दा दर्शक फर्किनु पर्ने पीडा तपाईंहरूलाई किन दुख्दैन? घण्टौँसम्म उभिएर हेर्नुपर्ने, जोखिम मोलेर रुखमा चढेर खेल हेर्नुपर्ने बाध्यता तपाईंहरूलाई किन महसुस हुँदैन? पूर्वाधारको सीमितता हुँदा-हुँदै लाखौँ नेपालीहरूले भर्चुअल माध्यमबाट खेल हेरेर साथ दिनु खेलप्रतिको अगाध प्रेम हो। तर यो अवस्था नेपाली दर्शकले कहिलेसम्म भोग्नुपर्ने? खेल पूर्वाधारको द्रुत विकास तपाईंहरूको प्राथमिकतामा किन पर्दैन?
• एउटा ७ वर्षको बच्चाले आफ्नो देशलाई हार्दै देखेर आँसु झारिरहँदा, तपाईंहरूको मनचाहिँ किन रुदैँन ?
• हरेक दिन खेलाडीहरू आर्थिक अभावका कारण विदेशिन बाध्य भइरहँदा तपाईंहरूले किन अनदेखा गर्नुभएको?
• विश्वले साबित्रा (साम्बा) भण्डारी, एन्जिला तुम्बाप्पो सुब्बा, पूजा महतो, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, किरण चेम्जोङ जस्ता नेपाली खेलाडीलाई चिन्दा पनि तपाईंहरूले आफ्नै हिराहरूको महत्व किन बुझ्न नसकेको ?
• हरेक हारपछि खेलाडीले आँसु झार्नुपर्छ, समर्थकहरूले निराश बन्नुपर्छ, तर तपाईंहरू कहिलेसम्म जिम्मेवारीबाट पन्छिरहने?
• किन नेपाली खेलाडीहरू आफ्नै देशमा अवसरका लागि संघर्ष गरिरहन बाध्य छन्, जबकि तपाईंहरू खेलको नाममा केवल आश्वासन बाँड्नमै सीमित हुनुहुन्छ?
हिजो हामीले म्यानमारसँग उपाधि गुमायौं, तर यसको कारण खेलाडीको मेहनत होइन, सरकारको बेवास्ता हो! खेलाडीहरूले आफ्नो सबै शक्ति मैदानमा छोडे, तर सरकार कहिले खेलाडीका लागि अभिभावकत्व लिने?
नेपालको जित केवल मैदानमा होइन, सरकारले आफ्नो नीति, लगानी र पूर्वाधार सुधार गरे मात्र सम्भव छ!
अब खेलाडीको सपना नतोड्नुस्, नेपाललाई जित्ने वातावरण बनाइदिनुस्!
२०८१ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








