नवीनतम सेवाहरूको विस्तार गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४०औं वर्षमा

काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड आफ्नो ४० औं वर्षमा प्रवेश गरेको छ । ३९औँ वार्षिकोत्सवको अवसरमा, बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडेले ग्राहक, संस्थापक, शेयरधनी, संचालक समिति, नियामक निकाय, तथा कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दै बैंकको सफल यात्रामा उनीहरूको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले बैंकिङ सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै डिजिटल बैंकिङलाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधिहरू अपनाइएको जानकारी गराए। ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारासहित बैंकले ग्राहक सुविधालाई प्राथमिकता दिँदै नवीनतम सेवा प्रस्तुत गरिरहने प्रतिबद्धता व्यक्त गर्यो ।
बैंकले विगत ७ वर्षदेखि वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चित्र पुस्तकहरू प्रकाशन गर्दै आएको छ । यस अवसरमा पनि बैंकले सातौं संस्करणको ‘डिजिटल बैंकिङको जादु’ नामक चित्र पुस्तक सार्वजनिक गरेको छ, जसको उद्देश्य बालबालिकालाई बैंकिङ प्रणालीबारे सचेत गराउनुका साथै अभिभावकहरूलाई डिजिटल बैंकिङको प्रयोग गर्न प्रेरित गर्नु हो ।
३९औँ वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहकहरूको लागि ‘नव आयाम बचत खाता’ सार्वजनिक गरेको छ, जुन रु. ३९ मौज्दातमा खोल्न सकिन्छ । यस योजनाअन्तर्गत ग्राहकहरूले रु. ३९ मा मोबाइल बैंकिङ, भर्चुअल प्रिपेड कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, तथा लकर सुविधामा ३९% छुट पाउनेछन् ।
हाल बैंकले २८३ शाखा, २६६ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, तथा ६६ शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ । ‘बैंक अफ दि एयर’ अवार्ड ७ पटक जित्न सफल बैंकले ‘बेस्ट बैंक २०१८’, ‘बेस्ट बैंक २०२१’, तथा ‘बेस्ट बैंक २०२३’ का लागि युरोमनी अवार्डहरू समेत प्राप्त गरिसकेको छ ।








